८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पहिले बेच्थ्यौं घिउ अहिले किनेर खान्छौं

फाइल तस्वीर

इच्छाकामना गाउँपालिका ३ कुयलघारीका मानिस पशुपालन र कृषि पेशा गरेर जीवन निर्वाह गर्थे। उनीहरूमा बजारमोह त्यत्ति थिएन। गाउँमा गोठभरि गाईभैंसी, गोरु र बाख्रा हुन्थे। पहिलेपहिले वस्तुभाउको गोबर र स्याउला मिलाएर मल बनाइन्थ्यो र त्यही मल खेतीका लागि प्रयोग गरिन्थ्यो। आजभोलि गाउँका गोठ रित्तै छन्। खानीगाउँ र कुयलघारीका किसानले भैंसी पाल्नै छाडेका छन्।

केही वर्ष अघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीनवटा भैंसी हुन्थे तर अहिले आएर तिनै गाउँमा भैंसी पाइन छाडेको खानीगाउँका ज्ञानबहादुर मगर बताउँछन्। ‘भैंसी पालेर दुध, दही, घिउ नारायणगढ बजार लगेर बेच्दथ्यौं। त्यो पैसाले कपडा, नुन र तेल आदि किनेर आउँथ्यौं,’ ६३ वर्षीय ज्ञानबहादुरले विगत सम्झँदै भने, ‘अहिले नारायणगढको पोखरा बसपार्कबाट घिउ ल्याएर खान्छौं।’

आठ वर्षदेखि भैंसी पाल्न छाडेको उनले बताए। विगतमा उनका गोठमा पाँचवटासम्म भैंसी हुन्थे। भैंसी चराउन रिद्धी खोलासम्म लैजाने गरेको उनले बताए। अहिले पनि दुईटा भैंसी पाल्न सक्ने उनले बताए।

इच्छाकामना गाउँपालिका ३ कुयलघारीका मानिस पशुपालन र कृषि पेशा गरेर जीवन निर्वाह गर्थे। उनीहरूमा बजारमोह त्यत्ति थिएन। गाउँमा गोठभरि गाईभैंसी, गोरु र बाख्रा हुन्थे।

खानीगाउँमा घाँसको दुःख छैन। वरिपरि नै घाँस छ। झुमाकुमारी मगरको गोठमा विगतमा दुई वटा दुहुना भैंसी टुटेन्। अहिले उनको गोठ पनि रित्तै छ। ‘घिउ बेचिन्थ्यो। दही मोही खाइन्थ्यो,’ उनले भनिन् ‘अहिले गाउँमै भैंसी छैन। दुध खान मन लागे बजार नै झर्नुपर्छ।’

वरिपरी नै सात वटासम्म भैंसीलाई पुग्ने घाँस रहेको बताइन्। यहाँदेखि नारायणगढ ३३ किलोमिटर दूरीमा पर्दछ। घिउ नारायणगढ बजारबाटै ल्याउने गरेको उनले बताइन्।

खानीगाउँ र कुयलघारीमा १०८ घरधुरी छन्। यहाँ मगर, गुरुङ, चेपाङ र दलित समुदायको बसोबास छ। भैंसी कसैका गोठमा छैनन्। भैंसी पाल्न कठिन हुने भएकाले पाल्न छाडेको उनले बताइन्। ‘मानिसहरू कोही छोराछोरी पढाउन बजार झरे। कोही विदेश गए। भैंसी पाल्न धैरै दुःख छ,’ उनले भनिन्, ‘यस्तो दुखिया काम गर्न छाडेको १२ वर्ष भयो।’

 खानीगाउँदेखि नारायगणगढ–मुग्लिन राजमार्गबाट पाँच किलोमिटरको दूरीमा पर्दछ। गाउँमा अहिले मोटरबाटो पुगेको छ। विद्युत् र खानेपानीको सुविधा पनि गाउँमै पुग्यो। विकास पुगेसँगै मानिसहरूले पशुपालन र खेतीपाती गर्न छाडेको कुयलघारीका सेतु विक बताउँछन्। ‘यहाँका जमिन बाँझै छन्। मानिसहरू सहर पसे। बसेकाले पनि भैंसी पाल्न छाडे,’ उनले भने, ‘यहाँका मानिसहरू सुख खोज्दै शहर गएका छन्।’

किसानले भैंसी पाल्न छाड्दा खेतबारीमा प्रयोग गरिने मलको अभावमा अन्नबालीमा समेत कमी आउन थालेको उनले बताए।

गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ। गाउँका घर जीर्ण बन्दै गएका छन्। घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सख्या घट्दै गएको कार्यपालिका सदस्य परिमायाँ कामीले बताइन्।

युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन्। यस गाउँमा भैंसी पाल्न छाडेको करिब एक दशक पुग्यो। भैंसीपालन व्यवसायबाटै गुजरा गरिरहेका पनि पछिल्लो समयमा अरू नै पेसा अपनाउन थालेका छन्।

 यहाँका किसानले कुनैबेला परिवारका लागि लुगाफाटो किन्नुपर्दा अथवा चाडपर्व मनाउने सवालमा पनि भैंसीको घिउ बेचेर घर खर्च चलाउने गर्दथे। यो गाउँमा जोत्नका लागि दुई हल गोरु छन्। एक दुई जनाले गाई पालेका छन्। अन्य सबैका घरमा बाख्रा छन्। एक जनाको कम्तिमा २० वटा बाख्रा छन्। यहाँको खेतीले ६ महिना खान पुग्छ।

बाख्रा बेचेर र विदेशबाट पठाएको पैसाले यहाँका मानिसले जीविका निर्वाह गर्ने गरेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। ‘किसानका लागि गाउँपालिकाले गोठ सुधार कार्यक्रम ल्याएका छ तर यसमा सहभागी हुन कोही आउनु हुन्न,’ उनले भने ‘गतवर्ष छुट्याएको ५० लाख बजेट त्यतिकै छ।’

युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन्। यस गाउँमा भैंसी पाल्न छाडेको करिब एक दशक पुग्यो।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको थियो।

गरिब किसानलाई लक्षित गर्दै परिवार सुधार कार्यक्रमसमेत ल्याएको बताए। ‘काम गर्ने मानिसलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कुखुरा पाल्ने, बाख्रा पाल्ने, गोठ सुधार कार्यक्रम ल्याएका छौं,’उनले भने, ‘यस्ता कार्यक्रम अल्छी गरेर बस्नेका लागि भएन। काम गर्नेहरूले पाउँछन्।’

कुयलघारीमा गाउँ समेत रित्तिँदै छ। भूकम्पछि घर छाडेर जानेको संख्या ३५ पुगेको गाउँपालिका सदस्य परिमायाँ कामीले बताइन्। यस ठाउँलाई भूकम्प जोखिमक्षेत्र भनिएको थियो। जिल्ला विपत् व्यवस्थापन समितिले उनीहरूलाई सिमलढापमा लगेर राखेको थियो तर त्यहाँ पनि राम्रो व्यवस्थापन नभएको उनले बताइन्। ‘कबुलियत वनमा लगेर राखिएको छ । त्यहाँ जमिनसम्बन्धी विवाद छ,’ उनले भनिन्, ‘कोही एकैवर्षमा फर्किए।’ परिमायाँ पनि एक वर्ष सिमलढापमै बसेकी थिइन्।

कुयलघारीमा गाउँ समेत रित्तिँदै छ। भूकम्पछि घर छाडेर जानेको संख्या ३५ पुगेको गाउँपालिका सदस्य परिमायाँ कामीले बताइन्।

यहाँका मानिस भरतपुर, सिमलढाप र गैंडाकोटलगायतका क्षेत्रमा गएर बसेका छन्। अधिकांश मान्छेले जमिनसमेत बेचिसकेका छन्। सरकारले जोखिमक्षेत्र भने पनि बजारका व्यापारी गएर सस्तोमा जमिन किन्ने गरेका छन्। उनीहरूले ऐलानी जग्गामा समेत तार जालि लगाएको स्थानीयहरू बताउँछन् ।

प्रकाशित: ४ भाद्र २०८० ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App