१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुस्तायो पर्यटन क्षेत्र, अकुपेन्सी २० प्रतिशत मुनि

सकसपूर्ण सडक यात्राले आन्तरिक पर्यटक पनि अन्यत्र मोडिएः व्यावसायी

पर्यटकीय सहर पोखरा। पर्यटक आगमनमा कमी हुँदा पर्यटन क्षेत्र सुनसान बनेको व्यावसायीको गुनासो छ। तस्बिरः नागरिक

व्यावसायीका अनुसार पर्यटन क्षेत्रमा यो ‘अफसिजन’ को बेला हो। कोभिड संक्रमण सुरु हुनुअघि अफसिजनकै समयमा पनि यो बेला पोखराको होटलको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा हुने गरेको थियो। तर, अहिले यो बेलाको पाहुना आगमन निकै नै कमजोर रहेको व्यावसायीको गुनासो छ। पछिल्लो समय पोखरा र आसपासका क्षेत्र पर्यटनमा निकै नै कमजोर बनेको व्यावसायीले बताएका छन्।

व्यावसायीका अनुसार अहिले पोखराका केही ठुला होटलको अकुपेन्सी करिब २० प्रतिशत रहेपनि साना र मध्यम आकारका होटलको अकुपेन्सी भने निकै नै कम रहेको छ। ‘अहिले पोखराका चल्तीका र सिमित ठुला होटलको अकुपेन्सी २० प्रतिशत हाराहारीमा छ। तर, साना र मध्यम आकारका होटलको अकुपेन्सी भने १० देखि १५ प्रतिशत रहेको अनुमान छ,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘अहिले पर्यटन क्षेत्र निकै नै कमजोर अवस्थामा छ। हुन त यो बेला अफसिजन हो। तर, पनि अहिले बढी कमजोर बनेको छ।’

पराजुलीका अनुसार यही समयमा पोहोरसम्म पोखराका होटलको अकुपेन्सी अनुपात ३० प्रतिशत थियो। तर, यो पटक भने निकै नै खस्केको उनले बताए। ‘विदेशीको त कुरै छाडौं, आन्तरिक र भारतीय पाहुना पनि यो बेला आएका छैनन। पर्यटन क्षेत्र सबैभन्दा कमजोर अवस्थामा गुज्रेको छ,’ पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष समेत रहेका पराजुली भन्छन, ‘आन्तरिकको आगमन पनि नहुँदा व्यावसाय थेग्न समस्या छ।’  

उनका अनुसार पाहुना आउन नसक्नुमा सडक पहुँचको समस्या सबैभन्दा बढि रहेको छ। अहिले पृथ्वी राजमार्गको पोखरा–आँबुखैरेनी (८१ किमि) खण्ड बिस्तार भईरहेको छ। पूर्वि र पश्चिम गरि दुई खण्डमा बाँडेर सडक बिस्तार भईरहेको छ। अहिलेसम्म पूर्वि खण्ड ३२ र पश्चिम खण्डको ९ प्रतिशत मात्र काम भएको छ। राजमार्ग बिस्तारको काममा ढिला हुँदा अहिले पोखरा आउने पाहुना पनि अन्यत्र जाने गरेको पराजुलीले बताए।  

‘पोखरा आउने आन्तरिक पाहुना पनि अन्यत्र डाईभर्ट भएका छन,’ पराजुलीले भने, ‘यतिबेला पोखरासम्मको आउजाउ निकै नै झन्झटपूर्ण छ। पाहुना चाहेर पनि पोखरा आउन सकेका छैनन।’ अहिले बिस्तार भईरहेको सडकको दूरी (पोखरा–आँबुखैरेनी) ८१ किलोमिटर छ। पोखरा–मुग्लिन ९० किलोमिटर दूरीको सडक भएपनि बिस्तार थाल्नु अघि ३ घण्टामा पुरा हुने गरेकोमा अहिले यो दूरी पार गर्न कम्तिमा ६ घण्टा लाग्छ। घाम लाग्दा धुलो र पानी पर्दा हिलोले सडकमा यात्रा सकसपूर्ण हुने गरेको छ। दिउँसोको यात्रा त झनै गाह्रो हुने गरेको उनले बताए।  

‘राजमार्ग बिस्तार हुनु विकास र पूर्वाधारका हिसाबले सुखद् पक्ष हो, यो आवश्यकता पनि हो। तर, बिस्तारको काम निकै नै ढिला गरि चलिरहेको छ। राजमार्गको झन्झटिलो यात्राले एकपटक पोखरा आएका पर्यटक दोहो¥याएर आउन चाहेनन, दुइपांग्रे सवारीमा त झनै आउने नै भएनन,’ उनले भने, ‘जसोतसो आएर फर्केका पाहुना पनि खुसी छैनन। राजमार्गको सकसले पाहुना खुसी हुन सकेनन, दोहो¥याएर आउन चाहेनन।’  

राजमार्ग बिस्तारको ढिलासुस्तीले पर्यटन व्यवसायलाई असर परेको उनले बताए। ‘सरकारले पनि सडक निर्माणमा गति दिनेगरि पहल गरेको छैन। पाहुना नआउँदा गण्डकी प्रदेशको पर्यटन क्षेत्रको ठुलो लगानी जोखिममा पर्दै गएको उनले बताए। ‘अबको एकवर्षभित्र सडक तयारी हुनुपर्ने हो, तर, काम भएकै छैन। यसमा प्रदेश र संघीय सरकारले चाँसो दिनुपर्छ,’ उनले भने, ‘सिजनको सुरुवाती चरणको अवस्थामा अहिले पर्यटनको समय गुज्रेको भएपनि यो बेला पाहुनाको आगमन कम हुँदा पर्यटन क्षेत्र निराश छ।’

पोखरासँगको पर्यटन पहुँच अहिले निकै नै कमजोर बनेको उनले बताए। ‘स्थलमार्ग झन्झटिलो भयो, कहाँ कतिखेर रोकिनुपर्ने भनने यकिन हुँदैन। हवाई मार्ग पनि वर्षायामका कारण बेलाबेला अनिश्चित बन्ने गरेको छ,’ पराजुलीले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल भएपनि अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। वर्षाका बेला आन्तरिक हवाई सेवा पनि अवरुद्ध हुने गरेको छ।’ बाटोले गर्दा पछिल्लो ३–४ महिनादेखि पर्यटक अन्यत्र मोडिएको उनले बताए।  

‘२० प्रतिशत अकुपेन्सी निकै नै कम हो। भारतीय पाहुना पनि यो बेला आएका छैनन् । नेपालका सबै सहरलाई हवाई माध्यममार्फत जोड्ने योजना पनि अपुरो भएको छ,’ उनले भने, ‘सिंगो गण्डकीको पर्यटन क्षेत्रलाई अन्यत्र क्षेत्रसँगको सम्पर्कमा जोडिनै कठिन बनेको छ।’ पोहोरको यो बेलाको जत्तिको पनि पाहुनाको आगमन हुन नसकेको उनले बताए। पोहोरदेखि सडक बिस्तार सुरु भएसँगै स्थलमार्ग झन्झटपूर्ण बन्दै गएको थियो। त्यसले अहिलेको आगमनलाई बढी प्रभाव पा¥यो,’ उनले भने।  

होटल क्विन्सपार्कका म्यानेजर तुलसी लामिछाने पनि अहिले पर्यटन क्षेत्रमा सुख्खा लागेको बताउँछन। ‘यो बेला भारतीय पर्यटकको सिजन होईन। चिनियाँ पाहुना पनि सोचेजति आएनन। आन्तरिक पाहुना हिडडुलै गर्न रुचाएका छैनन,’ लामिछाने भन्छन, ‘कोभिड अघि यो बेला चिनियाँ पाहुना आउने हुँदा पर्यटन क्षेत्रमा केही चहलपहल हुने गरेको थियो। अहिले न त भारतीय, न चिनियाँ न आन्तरिक कोही पनि पाहुना छैनन।’  

कोभिड अघिको समयमा केही आन्तरिक र चिनियाँको आगमन हुँदा त्यो बेला अफसिजनको पर्यटन क्षेत्र पनि चलायमान हुने गरेकोमा अहिले सुनसान बनेको उनले बताए। लामिछानेले पनि अहिले होटलको अकुपेन्सी १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको बताए। उनका अनुसार फेब्रुअरी, मार्च, अप्रिलसम्म ८० प्रतिशत हाराहारीमा रहेको होटलको अकुपेन्सी मे र जुनमा ५० प्रतिशतमा झरेको थियो। त्यसपछि ओरालो लाग्दै जाँदा अहिले १५ प्रतिशतमा झरेको उनले बताए।  

‘भारतीय आउन छाडेपछि पाहुनाको खडेरी लागेको हो। अहिले व्यवसाय सुस्ताएको छ,’ उनले भने। उनका अनुसार राजमार्ग बिस्तारको सकस यतिसम्म छ की नेपालमा सकेसम्म स्थलमार्गबाट यात्रा गर्न रुचाउने  पर्यटक पनि अहिले पोखरा–काठमाडौं गाडिमा यात्रा गर्न चाहँदैनन। ‘नेपालमा हत्तपत्ति जहाज नचढ्ने पर्यटक पनि अहिले हवाईजहाजबाट यात्रा गर्न थालेका छन्। विदेशी पनि अहिले गाडीमा यात्रा गर्न रुचाएनन,’ उनले भने, ‘बाटोको हालत खराब छ । यात्रा नै अनिश्चित छ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि राजमार्ग बिस्तारले गति नलिँदा छोटो दुरीको यात्राका लागि लामो समय खर्चनुपर्ने, दिक्कलाग्दो र कष्टपूर्ण यात्रा गर्नुपर्ने, बिरामी र अशक्त यात्रुका लागि थप जोखिम तथा हैरानीको अवस्था सिर्जना भएको बताए। ‘नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रले समेत सुस्त र अव्यवस्थित निर्माण कार्यबाट प्रत्यक्ष प्रभावित हुनु परेको छ,’ उनले भने। उनका अनुसार काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले आँबुखैरेनी–पोखराको दूरी छिचोल्न सिंगो दिन नै खर्चनुपर्ने अवस्था आएको छ।

‘काठमाडौं–पोखरा ६ घण्टा लामो बसयात्रा अहिले सडककै कारण लम्बिएर १२ घण्टासम्म लाग्ने गरेको छ । यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको छ,’ उनले भने। भूकम्प र नाकाबन्दीपछि कोभिड–१९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रका लागि पहुँच मार्गको यो अप्ठ्यारो साहै्र सकसपूर्ण बनेको उनले बताए। ‘खर्बौ रुपैयाँको लगानी रहेको पोखरा क्षेत्रको पर्यटनका लागि राजमार्ग बिस्तार सुखद् हुन सकेन। राजमार्गकै सकसका कारण पर्यटक पोखरा आउन चाहेनन्। बेलैमा राजमार्ग बिस्तार सकिएको भए पर्यटनका लागि सुखद हुने थियो,’ उनले भने।  

प्रकाशित: ३ भाद्र २०८० १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App