काठमाडौं- भूकम्पले भत्किएको ऐतिहासिक धरहरा पुरानै मौलिकता झल्कने गरी मिश्रित प्रणालीबाट पुनर्निर्माण गरिने भएको छ। धरहराको पुनर्निर्माण गर्ने जिम्मेवारी लिएको नेपाल टेलिकमसहित सरोकारवाला निकायका प्रतिनिधिबीच सोमबार भएको बैठकमा सो सहमति भएको हो।
सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा भएको बैठकमा प्राधिकरण, टेलिकम, पुरातत्व विभाग र 'मेरो धरहरा म आफैं बनाउँछु' अभियानको संयुक्त पहलमा धरहरा पुनर्निर्माण गर्ने सहमति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले बताए। पोखरेलले मुलुककै पहिचानको रुपमा रहेको धरहरा पुनर्निर्माणलाई तीव्रता दिन सरोकारवाला निकायलाई निर्देशन दिएका थिए। अबको तीन वर्षमा सक्ने गरी काम थाल्नुपर्नेमा उनले जोड दिए।
टेलिकमले बनाउने भने पनि निर्माण कार्यविधि लगायत विभिन्न विवादका कारण २७ महिना बित्दा पनि धरहरा पुनर्निर्माण सुरु हुन सकेको छैन। पुरातत्व विभागले टेलिकमलाई धरहराको डिजाइन उपलब्ध गराइसकेको छ। तर, टेलिकमले निर्माण कार्यविधि अझै बनाएको छैन। काठमाडौं महानगरपालिकाले पनि धरहराको पुनर्निर्माण आफैंले गर्ने दाबी गर्दै आएको छ।
प्राधिकरणका कार्यकारी समिति सदस्य हरिराम पराजुलीले विभिन्न निकायबीचको खिचातानीका कारण धरहरा पुनर्निर्माणमा ठोस प्रगति नभएको भन्दै अब यसलाई प्राथमिकताका साथ अघि बढाउन प्राधिकरणले पहल गरेको बताए। 'महानगर, टेलिकम, पुरातत्व विभाग लगायत निकायबीचको खिचातानीले धरहरा पुनर्निर्माणमा अन्योल देखिएपछि प्राधिकरणले पहल थालेको हो,' पराजुलीले भने, 'आगामी आइतबार पुनः बैठक बसी यसबारे थप निर्णय लिने सहमति भएको छ। उक्त बैठकमा टेलिकमले अब बन्ने धरहराको थि्रडी मोडल प्रस्तुत गर्नेछ।' प्राधिकरणका अनुसार सोमबारको बैठकमा टेलिकम, पुरातत्व विभाग, पर्यटन मन्त्रालय र महानरपालिकाका प्रतिनिधि सहभागी थिए।
धरहरा पुनर्निर्माणमा करिब आठ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 'मेरो धरहरा म आफैं बनाउँछु' अभियान सुरु गरेका थिए। उक्त अभियानअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा हालसम्म आठ करोड ३१ लाख रुपैयाँ जम्मा भइसकेको जनाएको छ।
प्रकाशित: १७ श्रावण २०७४ ०७:०६ मंगलबार