१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

'मिडिया र विज्ञापन एजेन्सी दुवै सुध्रिर्नुपर्छ'

सोमप्रसाद धिताल अध्यक्ष, नेपाल विज्ञापन संघ

नेपालको विज्ञापन बजारले अहिले धेरै खालका समस्या भोग्दै आइरहेको छ। विगतको भन्दा अहिले विज्ञापन बजारमा धेरै खालका विकृति र विसंगति देखिएका छन्। यी र यस्तै खालका विज्ञापनका विकृति भित्र्याउन मिडिया सञ्चालक, विज्ञापन एजेन्सी र विज्ञापनदाताको भूमिका पनि कहीं न कहीं पक्कै छ। त्यसैले विज्ञापन बजारमा देखिएका समस्या समाधानको लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प छैन।  

समस्या नेपालका विज्ञापनदातासँगभन्दा पनि हामीसँगै धेरै रहेको छ। हामीले नै विज्ञापनदातालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा घुस दिएर वा अन्य कुनै स्वार्थ देखाएर नै बिगारेका हौं। विगतमा भएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बेला भएको छ। पत्रपत्रिकाको प्रति सिसि १४/१५ सय रेटको विज्ञापनलाई प्रति सिसि एक सय रूपैयाँमा ल्याउन मिडियाले कति रोल खेले र विज्ञापन एजेन्सीले कति खेले भनेर समीक्षा गर्ने बेला भइसकेको छ। यो खालको विकृति ल्याउन सबैको भूमिका उत्तिकै छ। विगतमा कुनै कम्पनीले ४०/५० लाख रूपैयाँको विज्ञापन गर्ने गर्थे। अहिले विज्ञापन घटेर ४०/५० हजारमा मात्रै सीमित भइरहेको छ। 

यस्तो अवस्थाबाट कसरी नेपालको विज्ञापन अघि बढ्छ भन्ने मुख्य प्रश्न उब्जिएको छ। यहाँ कसैको धेरै र कसैको थोरै गल्ती होला तर यो समस्या हामीले नै उब्जाएकाले हाम्रो आफ्नो प्रयासबाटै यो समस्याको समाधान गर्नुपर्ने बेला भइसकेको छ। नेपाल रिपब्लिक मिडिया पब्लिक कम्पनीमा ग¥यो। यो पक्कै पनि सराहनीय कुरा हो। विज्ञापन र सञ्चारक्षेत्रलाई चलायमान गराउन आवश्यक छ। विज्ञापन बोर्डको नेतृत्वले मुटु दह्रो बनाएर विज्ञापन बजारलाई व्यवस्थित गराउनुपर्ने बेला भइसकेको छ। त्यसका लागि आवश्यक सहजीकरण गर्न अनुरोध गर्दछौं। बोर्डले पनि विज्ञापन बजारलाई व्यवस्थित गराउनेतर्फ पनि पहलकदमी गरोस् भन्ने चाहना राख्छौं।

(नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रममा व्यक्त विचार)

प्रकाशित: १ भाद्र २०८० ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App