१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तातोपानी नाका झन् अनिश्चित

सिन्धुपाल्चोक- भूकम्पपछि बन्द रहेको उत्तरी तातोपानी नाका सञ्चालनमा ल्याउन लबिङ गर्दै भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल नेतृत्वको टोली गएको आइतबार राजधानी पुग्यो। स्थानीय जनप्रतिनिधिसहित व्यवसायीको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्मासँग संयुक्त भेट गर्‍यो। पूर्ववर्ती सरकारमा मन्त्री रहँदा नेतात्रयले नाका सञ्चालमा ल्याउन चीनसँग पहल थालिसकेका थिए।

यसको केही साताअघि मात्र नाकाका व्यवसायीको अर्को प्रतिनिधिमण्डल चीन पुगेको थियो। चीनका लागि नेपालका राजदूत लिलामणि पौडेलसँगको भेटपछि नाका सञ्चालनमा ल्याउन चीनको 'ग्रीन सिग्नल’ पाएका व्यवसायीकै अनुरोधमा लबिङ तीव्र बनाउन अध्यक्ष पौडेल नेतृत्वको टोली सरकारका सरोकारवाला मन्त्री र पूर्वप्रधानमन्त्री भेट्न पुगेको थियो।

पूर्वप्रधानमन्त्री दाहाल, उनी नेतृत्वको सरकारका अर्थमन्त्री महरा र ऊर्जामन्त्री शर्माले नाका सञ्चालनमा ल्याउन भइरहेको प्रयासबारे प्रतिनिधिमण्डललाई जानकारी गराउँदै उनीहरुले लबिङ निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाए। नेतात्रयको बचनबाट उत्साही प्रतिनिधिमण्डलको खुसी धेरै घन्टा टिक्न पाएन। ढिलो, चाँडो नाका सञ्चालनमा आउने उनीहरुको विश्वास लार्चा पुलले उडायो।

तातोपानी जोड्ने लार्चा पुल भाँचिएपछि सीमा नाका सञ्चालन अझै अनिश्चित बनेको छ। पूर्वप्रधानमन्त्री र सरकारका सरोकारवाला मन्त्रीलाई भेटेर फर्केकै दिन राति चट्टाने ढिस्को खसेर तत्कालीन फुल्पिङकट्टी र तातोपानी गाविस जोड्ने ९० मिटर लामो मोटरेबल पुल भाँच्चियो। लगातार तीन वर्षदेखि एकपछि अर्को गर्दै तातोपानीमै प्राकृतिक विपत्ति निम्तिएपछि नाका सञ्चालन झन्–झन् अनिश्चित र अनिर्णीत बनेको हो।

'नाका सञ्चालनमा आउला–आउला जस्तो भएपछि लगातारको विपत्ति बाधक बन्दै आएको छ,’ पुल भाँचिएपछि नाका सञ्चालन झन् अनिश्चित बनेको अध्यक्ष पौडेलले बताए। चिनियाँ सामान आयातकर्तासमेत रहेका अध्यक्ष पौडेल भूकम्पपछिदेखि नै नाका सञ्चालनमा ल्याउन सक्रिय छन्। नाका सञ्चालनमा आउने विश्वास बढिरहेका बेला निम्तिएको अर्को विपत्ले व्यवसायी र यस क्षेत्रका स्थानीयलाई निराश बनाएको उनले बताए।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि वर्षिक २० अर्ब रुपैयाँको कारोबारबाट पाँच अर्ब राजस्व संकलन हुने उत्तरतिरको एकमात्र ठूलो तातोपानी नाका बन्द छ। भूकम्पबाट खासै क्षति नपुगे पनि सँगै चट्टाने पहिरो खस्दा तातोपानी बजार क्षेत्रका घर संरचना किचिएका थिए। त्यति क्षति नबेहोरे पनि खासा बजार खाली गराउँदै चीनले 'सिल’ गरेको प्रवेशद्वार अझै बन्द छ।

भूकम्पमा चीनले खासास्थित गोेदाममा रोकिएका नेपाली व्यवसायीका सामग्री दुई महिनासम्म छोडेन। सरकारको कूटनीतिक पहलपछि रोकिएको सामान नेपाल ल्याउन चीनले नाका अस्थायी रुपमा खुलाएपछि उत्साही व्यवसायीले दीर्घकालीन सञ्चालनमा ल्याउन चौतर्फी पहल सुरु गरेका थिए। व्यापारीकै पहलमा चीन भ्रमणमा निस्किएका तत्कालीन केपी शर्मा ओलीले बेइजिङमा नाका सञ्चालनको मुद्दा उठाएका थिए।

चीनले नाका खुलाउन आफू सकारात्मक रहेको सन्देश दिइरहेका बेला भूकम्पको एक वर्षपछि भोटेकोसी बाढीले बिनाशलीला मच्चायो। तिब्बतमा हिमताल फुट्दा अकस्मात आएको बाढीले चीन प्रवेशको ढोका तातोपानीको लिपिङ बजार ध्वस्त बनाउँदै तल्लो तटीय क्षेत्रका सय घरसहित ठाउँ–ठाउँमा अरनिको राजमार्ग बगाएर क्षतविक्षत बनाएको थियो।

आफू सरकारको नेतृत्वमा रहँदा नाका खुलाउन पहलकदमी गरेका माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता हस्तान्तरणपछि पनि अगुवाइ गरेर आफ्ना पार्टीका मन्त्री घच्घचाउन नछाडेपछि निजी क्षेत्र तातोपानी सञ्चालनमा आउनेमा आशावादी नै थियो।

'नाका तत्काल सञ्चालनमा आउने विश्वासमा थियौं,’ नेपाली व्यवसायीको प्रतिनिधिमण्डलसँग बेइजिङस्थित नेपाली दूतावास पुगेर फर्केका नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले भने, 'पुलै भाँचिएपछि चीनलाई अर्को बहाना भएको छ।’ उनका अनुसार राजदूत पौडेलले व्यवसायीलाई नाका सञ्चालनमा ल्याउन चीनले 'ग्रिन सिग्नल’ दिएको जानकारी गराएका थिए। 'व्यवसायीको सबै प्रयास बिफल भएको छ,’ उनले गुनासो गरे।

२७ महिनादेखि बन्द नाका सञ्चालनमा आउन ढिलाइ हुनुको चित्तबु‰दो कारण चीनले अझै दिन सकेको छैन। उसले नाका सञ्चालनमा नआउनुमा तिब्बतको आन्तरिक सुरक्षालाई कारण देखाउँदै आएको छ। यसको अर्थ हो, नेपाली भूमिबाट हुने चीनविरोधी गतिविधि। अर्थात, स्वतन्त्र तिब्बत आन्दोलन। नाकामा काम गरेका कतिपय अधिकारी र केही व्यवसायीको बुझाइमा तिब्बत मामलालाई देखाएर चीन सरकारले नाका सञ्चालनमा नआउनुमा नेपालकै कमजोरी ठानिरहेको छ।

अर्काथरि अधिकारी र व्यापारीका तर्क भिन्नै छ। उनीहरुका अनुसार चीनले तातोपानी छाडेर नयाँ नाका रसुवागढीलाई पहिलो प्राथमिकतामा राखेको छ। 'तातोपानीको कारोबार रसुवागढीतिर सिफ्ट गर्नु चीनको भित्री उद्देश्य हो। किनभने यो नाका खोल्न चीनले ठूलो लगानी गरेको छ र दीर्घकालीन रुपमा ठूलो आर्थिक लाभबारे सोचिरहेको छ,’ उनीहरु भन्छन्, 'आन्तरिक सुरक्षा र प्राकृतिक विपत्ति बहानाबाजी मात्र हुन्।’ ढिला गरी तातोपानी नाका सञ्चालनमा आउनेमा भने उनीहरु विश्वस्त छन्।

प्रकाशित: १३ श्रावण २०७४ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App