६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

व्यापार नीतिमा महिलाको पहुँच बढाउन पहल

व्यापार नीतिहरूमा लैङ्गिक मूल प्रवाहलाई प्राथमिकता दिन नीति निर्माता एवं अन्य सरोकारवालासँग परामर्श थालिएको छ। व्यापार तथा यससम्बन्धी नीतिमा महिलाहरूलाई व्यापारमा प्रोत्साहित गर्ने र लैङ्गिक सोचलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरमा सोमबारदेखि कार्यशाला सुरु भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियन (इयु) को नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी) को सी ट्रेड इनिसिएटिभ्स्को संयुक्त आयोजनामा उक्त कार्यशाला आयोजना भएको हो।

कार्यशालाको पहिलो दिन व्यापार र लैङ्गिक, अन्तर्राष्ट्रिय सम्मेलनहरू, व्यापारमा महिला सहभागिता, विकल्प, नीति मार्फत महिला सशक्तिकरणका कदमहरू, र लैङ्गिक मूलप्रवाह सम्बन्धमा अन्य देशहरूमा राम्रो अभ्यासहरू प्रवद्र्धन गर्ने उपकरणहरू सम्बन्धी प्रमुख मुद्दाहरूबारे प्रस्तुति रहेका थिए।  

साढे दुई दिने उक्त कार्यशालाले महिला व्यावसायिक संघहरूलाई यस सम्बन्धी नीतिगत प्रस्तावहरू तयार गर्न आवश्यक परामर्श गर्दैछ। उक्त अवसरमा आइटिसीद्वारा तयार पारिएको सि–ट्रेड आउटलुकले औंल्याएका विषयहरूबारे सम्बद्ध विज्ञ र सरकारी निकाय, महिला संगठन र विकास साझेदार निकायका प्रतिनिधिहरूसँग छलफल गरिँदैछ।  

यस कार्यशालामा सार्वजनिक र निजीक्षेत्रका सरोकारवालाहरूका लागि आफ्ना अनुभव र सिकेका पाठहरू आदान प्रदान गरिनुका साथै महिलाहरूको सहभागितालाई व्यापार व्यवसायमा प्रोत्साहित गर्ने उपायहरू खोजिने छन्। यस अवसरमा महिला व्यवसायीहरू व्यापारमा उनीहरूको सहभागिता प्रवद्र्धन गर्ने नीतिगत प्राथमिकताहरूमा छलफल गर्ने छन्। महिला उद्यमीहरूलाई व्यापारको मूलप्रवाहमा ल्याउन कार्यशालामा महिलाहरूद्वारा नै तयार पारिने नीति दस्तावेजलाई नीति निर्माताहरू समक्ष पेश गरी कार्यान्वयनको लागि पहल गरिने छ।  

कार्यशालाले व्यापारमा महिलाहरूको सहभागिता बढाउन अनुकूल वातावरण सिर्जना गर्ने र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारहरूमा महिलाहरूको बढी पहुँचको लागि अवसर वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। उक्त अवसरमा आईटीसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीति नबनाइ व्यापारमा महिलाको सहभागिता बढाउन नसकिने बताइन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक र निजीक्षेत्रमा महिला सहभागिता अभिवृद्धिमा नेपालले सन्तोषजनक प्रगति गरेको बताउँदै राष्ट्रिय अर्थतन्त्रमा महिलामैत्री पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाबीचको समन्वय आवश्यक रहेको बताए।

नेपालका लागि इयु डेलिगेसनकी सहयोग उपप्रमुख इलोइसा अस्टुडिलो फर्नान्डेजले धेरै अन्तर्राष्ट्रिय महासन्धि र उपकरणहरूले महिलाहरूलाई व्यापारमा उनीहरूको भूमिकालाई प्रोत्साहन गर्न समावेशी र लैङ्गिक उत्तरदायी अवसरहरूको परिकल्पना गरेको बताइन्। उनले महिलाहरूलाई व्यापारको मूल प्रवाहमा ल्याउन नीतिगत सुधारका लागि प्रमुख सरोकारवाला निकायहरूबीच सामूहिक प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। उनले समावेशी व्यापार नीति तर्जुमा र कार्यान्वयनले नेपालको अतिकम विकसित मुलुकको स्तरबाट दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: ३० श्रावण २०८० ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App