२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

नियमले बाँधिए सुरक्षित बन्छ साहसिक पर्यटन

अन्नपूर्ण आधारशिविर क्षेत्रको पदयात्रामा पर्यटक। फाइल तस्बिर: नागरिक

पर्यटन बोर्डले गत अप्रिल १ देखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरायो। यो व्यवस्थासँगै नेपालमा विदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्य रूपमा ट्रेकिङ कम्पनीमार्फत पथप्रदर्शक (गाइड) लिएर जानुपर्ने बाध्यकारी अवस्था सिर्जना भयो। गाइडको साथ लागेर जाँदा पदयात्रा सुरक्षित हुने अपेक्षा अनुसार गाइड अनिवार्य गरिएको थियो।

पदयात्रामा गाइड अनिवार्य नहुँदा पर्यटक समस्यामा पर्ने गरेको पर्यटन व्यावसायीले बेलाबेला सुनाउँदै आएका थिए। अनकन्टार पदयात्रामा एक्लाएक्लै हिँड्दा विभिन्न झन्झट र जोखिम हुन सक्ने भन्दै व्यवसायीले पदयात्रामा गाइड अनिवार्य गर्न आवाज उठाउँदै आएका थिए। एक्लाएक्लै पदयात्रामा जाँदा बेलाबेला पर्यटक हराउने र कतिपयले त ज्यानै फाल्नेसम्मका घटना भएको व्यवसायीले बताउने गरेका छन्।

‘अन्नपूर्णक्षेत्रको पदयात्रामा वर्षमा १०–१२ वटा घटना हुने गरेका थिए। ती घटना एक्लै पदयात्रामा जाने पर्यटकसँग बढी सम्बन्धित हुन्थे,’ पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी च्याप्टरका अध्यक्ष धर्मराज पन्थी भन्छन्, ‘एक्लै पदयात्रामा गएका पर्यटकको कहिलेकाहीं ज्यानै गएको घटनासमेत छन्। यसबाहेक हराउने, बिरामी हुने, लुटपाटमा पर्नेजस्ता समस्या पनि आउने गरेका थिए।’

यस्तै समस्या झेल्न नपरोस् भनेर व्यवसायीले पदयात्रामा गाइड अनिवार्य गरौं भनेर सुझाएको उनले बताए।

पदयात्रामा गाइड अनिवार्य नहुँदा पर्यटक समस्यामा पर्ने गरेको पर्यटन व्यावसायीले बेलाबेला सुनाउँदै आएका थिए।

‘अप्रिलदेखि मात्र गाइड अनिवार्य गरिएको छ। नियम लागुभएपछि पदयात्राको मुख्य सिजन त परेको छैन तर यो अवधिमा कतै पनि नराम्रो खबर सुन्नुपरेन,’ उनले भने, ‘गाइडको साथ लगाएर पर्यटक पठाउँदा हामी पर्यटन व्यवसायीलाई पनि ढुक्क भएको छ। गाइडलाई रोजगारी पनि हुने र पदयात्रा पनि सुरक्षित भएको महसुस गरेका छौं।’

पदयात्रामा गाइडको साथ लागेर गएको वा एक्लै भन्ने थाहा पाउन अन्नपूर्ण क्षेत्रको तातोपानी, जोमसोम, बिरेठाँटी, पोथाना र मनाङको धारापानीमा चेकपोष्ट बनाएरै कडाइ गर्ने उनले बताए। उनले अबको पदयात्रा एकल नहुने बताए।

‘अबको पदयात्रा समूहमा मात्र हुन्छ। त्यो समूह २ जना (पर्यटक र गाइड) को पनि हुन सक्छ, त्यति भए पनि सबैलाई ढुक्क हुन्छ,’ पन्थीले भने, ‘एक्लै पदयात्रामा हिँड्नुु भनेको जोखिम मोल्नु हो। कुनै पनि बेला समस्या आउन सक्छ, त्यसैले यो व्यवस्थाले पदयात्रालाई व्यवस्थित बनाउने अपेक्षा छ। नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा कोभिड–१९ संक्रमण सुरु हुनुभन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ जना पर्यटक ‘फ्रि इन्डिभिजुअल ट्रेकर ’ आएको तथ्यांक छ।

पदयात्रामा मात्र नभई नेपालको हवाई खेलकुद क्षेत्रलाई पनि नियमले बाँधेपछि दुर्घटनामा कमी आएको छ। नियमभित्र बाधिँदा घटना कम हुन थालेको स्वयं व्यावसायी स्वीकार गर्छन्। पोखरामा कुनै बेला पाराग्लाइडिङमा हप्तैपिच्छे घटना हुने गरेका थिए। कतिपय घटनामा मानवीय क्षति नै हुने गरेको थियो भने बेलाबेला व्यक्ति घाइते हुने गरेका थिए।

नेपालमा सन् १९९६ देखि पाराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको थियो। अढाइ दशक उडान अवधिमा पाराग्लाइडिङ उडान दुर्घटनामा पर्दा अहिलेसम्म १७ जनाले ज्यान गुमाइसकेका छन्।

सन् २०१० सम्म पोखराको पाराग्लाइडिङ सुरक्षित नै मानिएको थियो। त्यसपछि भने एकल (सोलो) उडान दुर्घटनामा पर्न थालेका थिए। सन् २०१० मा पोखराको आकाशमा पहिलोपटक पाराग्लाइडिङ दुर्घटनामा परेर मानवीय क्षति भएको थियो।

मानवीय क्षति हुने गरी भएको अन्तिम दुर्घटना गत असोज ३० गतेको थियो। पोखरामा नवौं राष्ट्रिय खेलकुद चलिरहँदा त्रिभुवन आर्मीमा अनुबन्धित खेलाडी निसिम थापाले पाराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका थिए। थापाको ज्यान गएपछि नेपालको हवाईक्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तत्कालै अनिश्चितकालका लागि पाराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसपछि पोखरामा पाराग्लाइडिङ व्यावसायिक उडान (टेण्डम) खुलाए पनि एकल उडान अझै खुलिसकेको छैन।

पदयात्रामा मात्र नभई नेपालको हवाई खेलकुद क्षेत्रलाई पनि नियमले बाँधेपछि दुर्घटनामा कमी आएको छ। नियमभित्र बाधिँदा घटना कम हुन थालेको स्वयं व्यावसायी स्वीकार गर्छन्।

प्राधिकरणले पाराग्लाइडिङ उडानमा गरेको कडाइ यो मात्र थिएन, त्यसअघि २०७७ मंसिर दोश्रो साता पोखरामा पाराग्लाइडिङ दुर्घटना हुँदा ३८ वर्षका पाइलट राजु गैरेको ज्यान गएको थियो। गैरेको भन्दा आगाडि पनि पोखराको आकाशमा बेलाबेला पाराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए तर ती सबैजसो दुर्घटना सोलो (एकल) वा प्रशिक्षार्थीका थिए। राजुको भने टेण्डम (यात्रुसहित) उडानका क्रममा दुर्घटना भएको थियो। टेण्डम उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको त्यो नै पहिलो घटना थियो।

गैरेको दुर्घटनापछि पोखराको आकाशमा हुने गरेको पाराग्लाइडिङ उडानमा निकै नै प्रश्न उब्जिएका थिए। त्यो बेला पाइलटले आफूसँगै उडेका यात्रुलाई खुसी पार्न, मनोरन्जन दिलाउन र साहसिक अनुभव दिन उड्दाउड्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गरेको भन्दै आलोचना पनि भएको थियो। त्यसपछि बल्ल प्राधिकरणले त्यहीबेला पाराग्लाइडिङ उडानमा अस्वाभाविक गतिविधि गर्ने पाइलटलाई कारबाही समेत गरेको थियो।

टेण्डम उडानको दुर्घटनापछि पाराग्लाइडिङ उडानमा केही कडाइ गर्न थालिएको थियो। पाराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए)का का पूर्व अध्यक्ष राजेश बमजन भन्छन्, ‘बल्ल अहिले पाराग्लाइडिङ उडानमा कडाइ गरिएको अनुभव भएको छ। यतिबेला अप्रिय घटना पनि सुनिएका छैनन्। मानवीय र भौतिक क्षति भएको छैन।’

 उनका अनुसार अहिले उडान गर्दा पहिलेजस्तो जथाभाबी गर्न पाइँदैन। प्रविधिको प्रयोगमा पनि उत्तिकै ध्यान दिनुपर्छ।

बमजनका अनुसार पाराग्लाइडिङ पाइलटले अहिले उड्ने बेलामा जिपिएस ट्र्याकर अनिवार्य बोक्नुपर्छ। त्यसको अनुगमन पनि संस्थाले गरिरहेको हुन्छ। त्यस्तै उड्ने पाइलटसँग सञ्चारका लागि रेडियो सेट पनि अनिवार्य हुनैपर्छ। ‘प्रविधिको प्रयोग अनिवार्य छ। त्यसले उडानलाई थप सुरक्षित बनाएको छ। जिपिएस ट्र्याक र सञ्चारका लागि रेडियो सेट बोक्नुपर्ने बाध्यताले को–पाइलट कहाँ र कसरी उड्यो भन्ने अनुगमन गर्न सकिन्छ,’ उनले भने, ‘मनलाग्दी उड्न पाइँदैन। कोही त्यसरी उडेको थाहा पाएमा कारबाही गर्न पनि सहज हुन्छ।’

साहसिक गतिविधिलाई सुरक्षित बनाउन नियम, कानुन र प्रविधि सँगसँगै हुनुपर्ने उनले बताए। प्रविधिलाई ख्याल नगर्दा पोखराक्षेत्रका साहसिक गतिविधिमा बेलाबेला समस्या आउने गरेको  उनले बताए।

गैरेको दुर्घटनापछि पोखराको आकाशमा हुने गरेको पाराग्लाइडिङ उडानमा निकै नै प्रश्न उब्जिएका थिए।

हवाइक्षेत्रको नियमनकारी निकाय प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला पनि नियमले बाधिँदा कुनै पनि साहसिक गतिविधि सुरक्षित हुने बताउँछन्। ‘नियममा कडाइ नहुँदा जे गर्दा पनि हुन्छ भने झैं गरिन्छ। जब पाराग्लाइडिङ उडानमा कडाइ भयो, त्यसपछि अप्रिय घटना पनि कम भए,’ निरौला भन्छन्, ‘नियम पालना गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि कहिलेकाँही हेलचेक्रयाँइ गर्दा घटना हुने गर्छन्। पोखराको पाराग्लाइडिङ उडानलाई प्राधिकरणले हस्तक्षेप गर्न चाहेको थिएन तर नियम अटेर भएपछि अन्तिम अवस्थामा बाध्य भयौं।’

उडानमा गरिएको निगरानी, पाइलटका गतिविधि, स्वास्थ्य परीक्षण, उडानमा प्रयोग गरिएका सामग्रीको अवस्था, प्रविधिको प्रयोगमा कडाइ गर्दा उडान सुरक्षित भएको उनले बताए। ‘पाराग्लाइडिङ पाइलट यी सबै पक्षबारे जानकार थिए तर पालना नगर्दा पनि हुन्छ भनेर बेवास्ता गरेकाले अप्रिय घटना हुन सघाएको थियो,’ उनले भने, ‘तर, नियमले बाँधेपछि अहिले केही सुरक्षित भएको छ।’

प्रकाशित: २८ श्रावण २०८० ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App