४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इन्धन चुहावट रोक्न ट्यांकरमा ‘बटम लोडिङ प्रणाली’ जडान

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ लोडिङ गर्दा हुने चुहावट रोक्न ट्यांकरमा नयाँ प्रविधि जडान गरेको छ। इन्धन ढुवानीमा प्रयोग हुने ट्यांकरको माथिल्लो भागबाट लोडिङ हुँदै आएकोमा ‘टप लोडिङ’लाई विस्थापित गरेर ‘बटम लोडिङ’ गर्न सुरु गरिएको छ।

इन्डियन आयल कर्पोरेसन(आईओसी)ले प्रयोग गर्दै आएको ‘बटम लोडिङ’प्रणालीलाई नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय थानकोट काठमाडौंबाट सुरु गरिएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सोमबार थानकोट डिपोबाट औपचारिक रूपमा ‘बटम लोडिङ’प्रणालीको शुभारम्भ गरेका हुन्। जया श्री आयल डिष्ट्रिब्युटर्स प्रालिका दुई वटा ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली जडान गरेर सुरु गरिएको छ। बिहीबार आइओसीको मोतिहारी डिपोबाट इन्धन लोड गरेर हिँडेका ट्यांकर निगमको थानकोट डिपोमा आएपछि सोमबार औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

तेल चुहावट रोक्न यो प्रविधि प्रभावकारी हुने विश्वास लिइएको आयल निगमका कार्यकारी निर्देशक थानीले बताए। ‘बटम लोडिङ प्रणालीबाट डिजेल, पेट्रोल लोड गर्दा इन्धन पोखिने सम्भावना निकै कम हुन्छ,’थानीले भने, ‘आइओसीले प्रयोगमा ल्याएको प्रणालीलाई हामीले पनि प्रयोगमा ल्याएका हौं।’

बटम लोडिङ प्रणाली तेल बोक्ने ट्यांकरको तल्लो भागमा जडान गरिएको हुन्छ । निगमले इन्धन ढुवानी गर्दै आएका ट्यांकरमा माथिल्लो भागमा पाइप जडान गरेर तेल लोड -अनलोड हुँदै आएको थियो। नयाँ प्रणाली अनुसार ट्यांकरको तल्लो भागमा पाइप जडान गरेर तेल लोड अनलोड गर्ने भएकाले कम जोखिम हुन्छ।

ट्यांकरमा आधुनिक प्रविधिको न्युमेटिक कन्ट्रोल सिस्टम जडान गरिएको नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालयका प्रमुख शैलेन्द्र भुसालले बताए। ‘यो प्रणालीमा इन्धन लोड-अनलोड प्रक्रिया स्वचालित हुन्छ’भुसालले भने, ‘भ्यापर रिकभरी सिस्टम जडान गरिएकाले वातावरणमैत्री छ।’असावधानीवश ट्यांकरमा आगालागी भएमा स्वीच बन्द गरेर दुर्घटना हुनबाट रोक्न सकिन्छ।

तेल पोखिने, चुहिने सम्भावना निकै कम भएको उनले बताए। टप लोडिङ सिस्टमबाट २० हजार लिटरको ट्यांकरमा तेल लोड, अनलोड गर्दा करिब ४५ मिनेट लाग्ने गरेकोमा यो प्रणालीबाट १५-२० मिनेटमै लोड, अनलोड गर्न सकिने हुन्छ। यो प्रविधिबाट तेल लोड गर्दा छिटो हुने नेपाल आयल निगम मधेश प्रदेश प्रादेशिक कार्यालयका प्रमुख विनितमणि उपाध्यायले बताए। ‘टप लोडिङ सिस्टममा तेल लोड गर्दा प्रतिमिनेट ११ सय लिटर इन्धन लोड हुन्थ्यो,’ उपाध्यायले भने, ‘बटम लोडिङ सिस्टमबाट लोड गर्दा प्रति मिनेट २२ सयदेखि २४ सय लिटर लोड हुन्छ।’ भारतभित्र ढुवानी हुने ट्यांकरमा अनिवार्य रूपमा बटम लोडिङ सिस्टम जडान गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताए। यो प्रणाली प्रयोग गर्न पनि सजिलो रहेको छ।

एक सरकारी अध्यनयले ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली जडान गर्न सुझाव दिएपछि निगमले कार्यान्वयनमा ल्याएको हो। नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रको संयोजकत्वमा गठित कार्यदलले ‘बटम लोडिङ’प्रणाली जडान गर्ने सुझाव दिएको थियो।

प्रकाशित: २३ श्रावण २०८० ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App