४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गोलभेंडाः पोखरामा किलोको १ सय ८०

–रातारात मूल्य बढेको बढ्यैः व्यावसायी

असार पहिलो साता राजधानीमा फ्याकिएको गोलभेंडा। फाइल तस्बिरः नागरिक

उचित मूल्य नपाएको भन्दै असार पहिलो साता किसानले काठमाडौंको सडकमै गोलभेंडा फ्याके। त्यो बेला प्रतिकिलो १० रुपैयाँमा पनि गोलभेंडा बिक्री नभएको भन्दै किसानले राजधानीमा सडकमा गोलभेंडा फ्याकेका थिए। राजधानीमा सडकमा गोलभेंडा फ्याकिरहँदा पोखरामा भने त्यो बेला गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँ पर्दथ्यो।

खुद्रा मूल्यमा उतारचढाव हुँदै आउँदा दुई साता अघिसम्म पनि पोखरामा गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो एकसय रुपैयाँ हाराहारीमा थियो। तर, अहिले भने एकाएक गोलभेंडाको मूल्य अकाशिएको छ। बजारमा अहिले गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँसम्म उक्लेको छ। व्यावसायिक अनुसार एक साता अघिसम्म पनि पोखरामा गोलभेंडाको मूल्य करिब १ सय १० रुपैयाँ हाराहारीमा थियो।

‘एक साताको अवधिमा गोलभेंडाको मूल्य प्रतिकिलो एकाएक बढेर १ सय ८० रुपैयाँ हाराहारी पुगेको छ,’ पोखरा थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेल भन्छन्, ‘एकाएक मूल्य अकाशिएको छ। एक सातामै गोलभेंडाको मूल्य निकै नै बढेको छ। यो मूल्य अझै केही दिन बढ्ने सम्भावना छ।’ उनका अनुसार यो बेला भारतमा गोलभेंडा उत्पादन कम भएको छ। उत्पादन घटेपछि कतिपय नेपाली किसानले यहाँ उत्पादिन गोलभेंडा बढी मूल्य पाउने लोभमा भारत निर्यात गरेका छन्। त्यसले गर्दा स्वदेशमा अभाव भएर अहिले मूल्य बढेको हो।

‘बढी मूल्य पाउने भएपनि किसानले नेपालमा उत्पादित गोलभेंडालाई भारत निर्यात गरेको थाहा पाएका छौ। भारतमा यो बेला गोलभेंडाको मूल्य निकै नै बढी छ। त्यहाँ बाढीले गर्दा उत्पादन हुन पाएको छैन,’ उनले भने, ‘नेपालमै उत्पादित गोलभेंडा भारत निर्यात गरेपछि यहाँ अभाव भएकोले मूल्य बढेको भन्ने हामीले बुझेका छौ। स्थानीय उत्पादन नथपिएसम्म मूल्य अझै बढ्ने सम्भावना छ।’

अध्यक्ष पौडेलका अनुसार अहिले पोखरामा आउने गोलभेंडा सबै काठमाडौं आसपासका क्षेत्रको उत्पादन हो। स्थानीय उत्पादन निकै नै कम रहेको उनले बताए। उनका अनुसार अहिले पोखरामा गोलभेंडाको थोक मूल्य नै प्रतिकिलो १ सय ६० रुपैयाँ हाराहारी रहेको छ। यो मूल्य एक साता अघिसम्म १ सय १० रुपैयाँ हाराहारीमा थियो।

पोखराको सबैभन्दा ठुलो तरकारी बजार पोखरा थोक तरकारी बजारकी व्यवस्थापन रुपा दाहालका अनुसार पोखरामा गोलभेंडाको यो नै अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। ‘गोलभेंडाको मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँ हाराहारीमा पुगेको मलाई जानकारी थिएन। यो पटक अधिक नै मूल्य बढेको छ,’ दाहालले भनिन, ‘गोलभेंडाको मूल्य मात्र यो बेला बढेको छ। अरु तरकारीको मूल्य खासै बढेको छैन। जे जति बढेको छ, त्यो गोलभेंडाको मात्र हो।’ एक साता अवधिमा किलोमा ६०/७० रुपैयाँ बढ्नु अधिक रहेको उनले बताईन।

दाहालका अनुसार अहिले एक क्रेट गोलभेंडाको मूल्य नै ३५ सय रुपैयाँ पुगेको छ। यो भनेको एक किलोको थोक मूल्य नै १ सय ५५ रुपैयाँ हाराहारीमा पुग्नु हो। त्यसमा खुद्रा व्यवसायीले नाफा थपेर बेच्दा उपभोक्ताले प्रतिकिलो १ सय ८० रुपैयाँसम्म तिर्नुपरेको उनले सुनाईन। ‘एक साता अघिसम्म एक क्रेट गोलभेंडाको मूल्य २५ सय हाराहारीमा थियो। त्यो बेला प्रतिकिलो १ सय १० रुपैयाँ आसपासमा थोक मूल्य थियो। त्यसमा खुद्रा व्यवसायीले नाफा जोड्दा प्रतिकिलो १ सय २० रुपैयाँ हाराहारीमा उपभोक्ताले किन्न पाएका थिए। तर, अहिले भने उपभोक्ता मूल्य नै १ सय ८० रुपैयाँसम्म पुगेको उनले बताईन। उनका अनुसार थोक मूल्यका किनेको तरकारीलाई खुद्रा व्यवसायीले उपभोक्तालाई बेच्दा बढीमा २० प्रतिशत नाफा राख्न पाउँछन्। १० देखि २० प्रतिशत नाफा राखेर बिक्री गर्नुपर्नेमा व्यवसायीले त्यो भन्दा बढी मूल्य लिने गरेको उनले बताइन।

उनका अनुसार पछिल्लो साता पोखरामा गोलभेंडाको आपूर्ति पनि कम भएको छ। यो बेला दिनमा एक हजार क्रेट हाराहारीमा मात्र गोलभेंडा पोखरा झरेको दाहालले बताईन। अवस्था सहज हुँदा पोखरामा दिनमा २ हजार क्रेट हाराहारीमा गोलभेंडा आउने गरेको थियो।

‘आपूर्ति नै झन्डै आधामा झरेको छ। त्यसले गर्दा पनि मूल्य बढेको हो,’ दाहालले भनिन, ‘माग भन्दा आपूर्ति कम छ। त्यसले गर्दा मूल्य बढेको हो। यो मूल्य अझै केही दिन बढ्ने अनुमान छ।’ दाहालले पनि कतिपय किसानले नेपालमा उत्पादित गोलभेंडा भारत निर्यात गर्दा स्वदेशमा अपुग भएको हो।

‘भारतमा यो बेला गोलभेंडा उत्पादन घटेको र मूल्य बढेपछि नेपालबाट पनि निर्यात भएको सुनिएको छ। त्यही भएर यता अभाव भएको भन्ने हामीले जानकारी पाएका छौ। तर, वास्तविक हो वा होइन भन्ने यकिन छैन,’ उनले भने, ‘बजार हल्ला भने भारत निर्यात भएकोले भन्ने छ।’ उनले पनि अहिले पोखरामा झरेको गोलभेंडा सबै काठमाडौं आसपासको उत्पादन रहेको बताइन।

अबको दुई सातापछि बल्ल स्थानीय उत्पादन केही बढ्ने अपेक्षा रहेको उनले बताईन। स्थानीय उत्पादन बढ्नसाथ मूल्य घट्न थाल्ने उनले सुनाईन। दाहालका अनुसार अहिले पोखरामा सातामा ४–५ क्रेटमात्र स्थानीय गोलभेंडा आएको उनले बताईन। ‘स्थानीय उत्पादन न्यून छ । त्यही भएर पनि अभाव छ,’ उनले भनिन।  

प्रकाशित: २० श्रावण २०८० ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App