८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

अलपत्र त्रियुगा पुल निर्माण गर्न मन्त्रीको ध्यानाकर्षण

अलपत्र अवस्थामा रहेको त्रियुगा पुल निर्माण सम्पन्न गर्न उदयपुरका जनप्रतिनिधिले माग गरेका छन्। 

उदयपुरको चौदण्डी गढी नगरपालिका वडा नम्बर–५ सिवाई–बेल्हा जोड्ने त्रियुगा पुल निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग गरेका हुन्। वि.स. २०६६ सालमा निर्माण सुरु भई आर्थिक वर्ष २०७७/०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो। निर्माणाधीन भएको अवस्थामा पुलका दुई वटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ।

प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का, प्रदेश सभा सदस्य राजन किराँती, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा समाजवादी, चौदण्डी नगरपालिकाका सबै वडाध्यक्ष सहित स्थानीयले मन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन्।

बाढीले क्षति पुगेको पुलमा २५/२५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ। पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ। पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो।

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई–मधेससँग जोड्ने गर्दछ। उदयपुरकै चौदण्डी गढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसङ्ख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आऊ–जाउ गर्न समस्या भएको छ।

भौतिक मन्त्रालयका  निमित्त सचिव ई. अर्जुन जङ थापाले पुल सम्पन्न गर्ने गरी प्रक्रिया सुरु भइसकेको बताए। यता, चौचण्डीगढी–५ का वडाध्यक्ष तुलसी ढकालले अब पनि पुन निर्माणमा ढिलाइ भए माइतीघरमा आन्दोलन गर्ने चेतावनी दिए।  ‘पुल नहुँदा  त्रियुगाको बाढीले बेल्टार बजार जान पाउँदैनन्,’ उनले भने, ’दैनिक जीवन नै असहज हुने तरिकाले भइरहेको छ। अब पनि नबने हामी काठमाडौँमै अनशन बस्ने गरी आएका छौँ।’

मन्त्री ज्वालाले ज्ञापन पत्र बुझ्दै चौदण्डी गढी नगरपालिका वडा नम्बर–५ मा सिवाई– बेल्हा जोड्ने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आश्वासन दिए। पुलको प्रक्रियामा लैजान केही समय लाग्ने र पुलको भेरिएशन मन्त्रिपरिषदबाट पास गराएर कामलाई अगाडि बढाउने मन्त्री ज्वालाले प्रतिवद्धता जनाए। सडक विभाग विभागका निर्देशक सुशील बाबु ढकालले पुलको फिल्ड भिजिट गरेर समस्या पहिचान गरेको बताए। मन्त्रिपरिषदबाट भेरिएशन पास गराएपछि काम सुरु हुने बताए।

प्रकाशित: १६ श्रावण २०८० १४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App