११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिन्छौँ: उपाध्यक्ष श्रेष्ठ

फाइल तस्बिर

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सोह्रौँ योजना कृषि क्षेत्रलाई प्राथमिकता दिने गरी बनाउने बताएका छन् ।आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका हुन। 

त्यसको लागि यस आर्थिक वर्षको बजेटबाट नै तयारी थालिएको उनले जानकारी दिए ।उनले यो आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीका विशेष कार्यक्रम घोषणा भएको उल्लेख गर्दै एउटा पालिकामा दुई वटाका दरले कार्यक्रम अगाडी बढाउने बताए । आगामी वर्षहरूमा देशै भरी कृषि, पशुपंक्षी पालन, जडिबुटी, साना घरेलु, लघु र मझौला उद्योगहरूका कार्यक्रमहरूमा जोड दिइने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए। 

त्यस्तै होटल, एग्रो, रिसोर्टहरु र सूचना प्रविधिमा आधारित सम्पूर्ण उद्योगहरूलाई नेटवर्किङ गरेर ठूल्ठूला कार्यक्रमहरु खोल्ने कार्यक्रमहरु राखिने उनले बताउनु भयो । उनले सामूहिकतालाई जोड दिने गरी अगाडी बढ्नुपर्ने पनि धारणा राखे  । उपाध्यक्ष श्रेष्ठले कृषिको उत्थान भयो भने उद्योगको पनि उत्थान हुने र अर्थतन्त्रमा विकास हुने जानकारी दिए। 

उनले विकास निर्माणका काम गर्न नीतिगत रुपमा पनि समस्याहरू आउने भन्दै त्यसको समाधान गर्नुपर्ने अवस्था आएको बताए । यसका लागि विकास विधेयक तर्जुमा भइराखेको उनले बताउनु भयो ।उनले राष्ट्रिय योजना आयोगले विकास आयोजनाहरूको अनुगमन गरेर दिएको प्रतिवेदन समेत कार्यान्वयन नहुने गरेको बताए।

उनले राष्ट्रिय योजना आयोगले आयोजना वर्गीकरण र आयोजना बैंकको कार्यविधि ड्राफ्ट गरेर मन्त्रिपरिषद्मा पठाएको र मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको धारणा राखे ।सो कार्यविधि पारित भएमा स्थानीय तह, प्रदेश र संघले विकास निर्माणको कुन–कुन काम गर्ने भन्नेमा प्रस्ट हुने बताए।

प्रकाशित: १५ श्रावण २०८० १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App