८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

चितवनमा सुनको कारोबारमा ७५ प्रतिशत गिरावट, १० प्रतिशत पसल बन्द

फाइल तस्बीर।

चितवनमा सुनचाँदीको कारोबारमा मन्दी आएको व्यवसायीले बताएका छन्। अन्य क्षेत्रमा जस्तै सुनको व्यापार पनि ठप्प भएको व्यवसायीले बताएका हुन्। सामान्य दिनहरूमा दैनिक तीन केजीसम्म सुनको कारोबार हुने गरेकोमा अहिले एक केजी पनि बिक्री नभएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष यमबहादुर विकले बताए। उनका अनुसार जिल्लामा अहिले सुन किन्नेभन्दा बिक्री गर्नेको संख्या बढी छ।

‘अहिले सुन किन्ने उपभोक्ताहरू १० प्रतिशत आउने गरेका छन् भने बिक्रीका लागि ९० प्रतिशत आउने गरेका छन्, उनले भने, ‘आउनेमध्ये अधिकांश बैंकको ऋण तिर्ने प्रयोजनका लागि आउने गर्नुभएको छ।’  

व्यवसायीसँग पैसा नभए पनि ऋण खोजेर खरिद गरेको उनले बताए। अहिले चितवनका व्यवसायीहरूले बैकबाट सुन खरिद गरेका छैनन्। सर्वसाधारणले बेच्न ल्याएको सुन नै पर्याप्त रहेको विकले बताए। ‘विगतमा बैंकबाट सुन ल्याएर बेच्थ्यौं। अहिले ल्याउनु पर्दैन’, उनले भने, ‘सर्वसाधरण तथा व्यापारीले बेच्न ल्याएको सुनले नै पुग्ने गरेको छ।’ असार मसान्तमा व्यवसायी तथा सर्वसाधरणले सुन बेच्न धेरै ल्याएको उनले बताए। उनले अन्य व्यवसाय ठप्प हुँदा सुनचाँदी व्यवसायमा समेत असर परेको बताए।

सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष ज्ञानेन्द्रमान शाक्यले अहिले सुनचाँदी व्यवसायमा ७५ प्रतिशतले गिरावट आएको बताए। उनले कर्मचारीलाई समेत तलब खुवाउन कठिन भएको बताए। ‘अहिले सुनको मूल्य पनि बढेको छ, उनले भने, मानिससँग पैसा पनि छैन, त्यसको असर अहिले सुनमा देखिएको हो।’ २०२१ सालदेखि नारायणगढमा सुनको कारोबार गर्दै आएका छन् उनले अहिले जस्तो मन्दी कहिल्यै नभएको बताए।  

चितवनमा सुनचाँदी व्यवसाय धरापमा पर्दै गएपछि केही पसल बन्द भएका छन्। १६ वर्षदेखि सुनचाँदी व्यवसाय गर्दै आएका सुदिप सुनारले पसल बेचेर विदेश जाने तयारी गरिरहेको बताए। उनले व्यापार नहुँदा बैंकको ब्याज तिर्न नसकेपछि पसल बन्द गरेको जानकारी दिए। उनले बैंकको चर्को ब्याजदर र घरभाडाका कारण व्यवसाय गर्न सक्ने अवस्था नरहेको गुनासो गरे। उनी भन्छन्, कोरोनापछि व्यवसायमा मन्दी लाग्न थालेको हो। त्यसपछि उठ्न नसक्दा व्यापार बन्द गर्नुपरेको हो। अब मसँग विदेश जानुको विकल्प छैन।  

चितवनमा झण्डै छ सय सुनचाँदी व्यवसायी छन्। उनीहरूमध्ये १५ प्रतिशतको हाराहारीमा व्यवसाय बन्द भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ। बिहीबार सुनको कारोबार मूल्य एक लाख १३ हजार पाँच सय रहेको छ। खरिद मूल्य १ लाख ६ हजार ७ सय रूपैयाँ छ। साउन, कात्तिक, पुस, चैत महिनामा सुनको कारोबार कम हुन्छ तर बिहेबारीको समय र भदौ महिनामा सुनको बिक्री बढी हुने गरेको छ। यद्यपि कोरोना महामारीपछि सो समयमा पनि कारोबार घटेको संघले दाबी गरेको छ।

प्रकाशित: १२ श्रावण २०८० ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App