माछापालन गर्ने किसानलाई खुसीको खबर–अब माछासँगै मोती उत्पादन गर्ने सिपिको पनि खेती गर्न सकिने भएको छ। मोती एक प्राकृतिक मणि (रत्न) हो, जुन जिवित प्राणी सिपिले उत्पादन गर्छ। अब सिपिको व्यावसायिक खेती गर्न सकिने यसका अनुसन्धानकर्ताले बताएका छन्। मोती सजावट र गहनाको रुपमा प्रयोग गरिन्छ। विभिन्न रोग निको पार्ने औषधिको रुपमा पनि मोती प्रयोग गर्ने हुँदा यो महंगो पर्ने विज्ञहरुको भनाई छ।
मत्स्य अनुसन्धान केन्द्र पोखराले गरेको अध्ययनले अब सिपि खेती गरेर आम्दानी बढाउन सकिने पुष्टि भएको छ। केन्द्रका प्रमुख डा. मोहम्बद इकबाल हुसेनका अनुसार सिपि एकप्रकारको पानीमा पाइने जीव हो। जसले मोती उत्पादन गर्छ। ‘सिपिको खेती गर्न समुन्द्र नै हुनुपर्ने भन्ने रहेन, सानो खोलाखोल्सी, जलाशयमा पनि पाल्न सकिने रहेछ भन्ने हाम्रो अध्ययनले देखाएको छ,’ हुसेनले भने, ‘माछासँगै पाल्न सकिने भएकोले किसानले दोहोरो लाभ पाउन सक्नेछन्। यसले किसानको आयआर्जन बढाउन पनि सघाउनेछ।’
अहिलेसम्म मोती समुन्द्रबाट संकलन गर्ने गरिएकोमा अब खेती पनि गर्न सकिने उनले बताए। ‘सिपि माछाकै प्रजाती त होइन, तर, माछासँगै एउटै पोखरीमा पाल्न भने सकिन्छ,’ उनले भने, ‘मोती उत्पादन गर्न सकिने गरि सिपि पालन माछापालनमा नयाँ आयाम हो।’ उनका अनुसार मत्स्य अनुसन्धान केन्द्रले २०१७ देखि पोखराको बेगनासतालमा सिपि खेती बारे अध्ययन गरिरहेको थियो।
कृषि प्रणालीको नाफा बढाउन र नयाँ जलकृषि क्षेत्रको विस्तारको लागि एक्वाकल्चर उत्पादनको विविधीकरण गर्ने क्रममा सफा जलाशयमा मोती उत्पादन गर्ने सिपि पालन सम्भव रहेको पुष्टि भएको उनले बताए। नेपाल जलश्रोतमा धनी छ, जसलाई मोतीपालनको लागि उपयोग गर्न सकिन्छ। नेपालका विभिन्न जलश्रोतमा सजिलै उपलब्ध सिपीका प्रजातिलाई जलीय मोती खेती गर्न प्रयोग गर्न सकिने उनले बताए। ‘माछापालनको फराकिलो क्षेत्र भएको ठाउँमा माछसँगै मोतीपालन पनि एकीकृत गर्न सकिन्छ। माछापालनको आम्दानीको साथै मोति उत्पादन गर्ने सिपि पालनबाट थप आम्दानी गर्न पाउँदा किसानको आर्थिक अवस्थामा सुधार हुनेछ,’ उनले भने।
नेपालमा मोती खेती गर्ने प्रविधिको अभाव भए पनि यसको अनुसन्धानको पहल भने भई नै रहेको थियो। त्यही अनुसन्धान गर्ने क्रममा सफा जलाशयमा मोतीपालनको सम्भावनाको खोजको लागी मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक हुसेनले नेतृत्वमा २०१७ देखि अध्ययन भईरहेको थियो। अध्ययन अनुसार स्थानीय सिपि मोतीपालनको लागि उपयुक्त ठहर भएको उनले बताए। सिपिको बाहिरी आवरणबाट इमेज विड(भगवानको मुर्ति छायाँ) र गोलाकार विड (गोलो मोति) तयार गर्न सकिएको उनले बताए।
उनका अनुसार सिपि खोलानाला, पोखरीमा पाइन्छ। यसको बाहिरी फ्याकेर मासु खान पनि सकिन्छ भने मोती उत्पादनमा पनि प्रयोग गर्न सकिन्छ । एक हेक्टर क्षेत्रफलमा २० हजार सिपिको खेती गर्न सकिने उनले बताए। हुसेनका अनुसार पोखरीमा पालिएको सिपिका लागि धानको मसिनो ढुटो र पिना खुलाउन सकिन्छ। पोखरीमा माछा पाल्ने क्रममा हालिएको आहाराले पनि सिपिलाई खानेकुरा उत्पादन हुन्छ। सिपि पालन गर्ने पोखरीमा यूरिया, कम्पोष्ट मल हालेपछि सिपिका लागि आहारा उत्पादन हुन्छ।
उनका अनुसार सिपिबाट मोती उत्पादनका लागि सिपिको आवरणभित्र इमेजको स्वरुप राखिदिनुपर्छ, त्यही स्वरुपमा सिपिले मोती भर्ने काम गर्छ। ‘जस्तो स्वरुपको मोती चाहिएको हो, त्यही अनुसारको स्वरुप सिपिको आवरणभित्र राखिदिनुपर्छ। त्यसपछि एकदेखि ढेडवर्षको अवधिमा सिपिले त्यहाँ मोती भर्ने काम गर्छ,’ उनले भने, ‘माहुरिले घारमा मह भरेजस्तै सिपिले पनि स्वरुप अनुसार मोती भरिदिने काम गर्छ।’
यो अनुसन्धानको क्रममा सिपिको ‘मेन्टल केविटि’ मा सर्जरीको मध्यमले इमेज आकार राखिएको थियो। ती सिपिलाई सानो थैलीमा डोरीको सहायताले एकवर्ष सम्म बेगनासको पोखरी, ट्यांक, रुपाताल र फेवातालमा पालनको लागि राखेकोमा ‘इमेज पर्ल’ र ‘हाफ गोलाकार पर्ल’ पाइएको हुसेनले बताए।
सिपिमा मोतिपालनको अनुसन्धानको यस सफलताले सरकार र निजी क्षेत्रका लागि लगानी र विकासको लागि बाटो खुलेको उनले बताए। ‘नेपालको तराईदेखि मध्य पहाडी क्षेत्रसम्मका पोखरी, ताल, खोला, जलाशय, आदिमा सिपिमा मोती पालन गर्न सकिने पुष्टि भएको छ,’ उनले भने, ‘यसले अतिरिक्त आम्दानीका साथ माछा उत्पादक किसानको जीवनस्तरमा सुधार गर्नेछ। पालनमा सजिलो विधि र कम मेहनतले पनि खेती गर्न सकिने भएकोले यो काम महिलाले पनि गर्न सक्छ।’ उनका अनुसार खेती गरिएको सबै सिपिबाट मोति निस्कन्छ नै भन्न सकिन्न, तर,धेरैले मोतीको उत्पादन दिन्छ।
‘विदेशबाट गहनाको रुपमा आउने मोतीलाई अब स्वदेशमै खेती गर्न सकिने भएकोले यसको लाभ धेरै छ,’ उनले भने, ‘रैथाने सिपि नै पाल्न सकिने भएकोले समस्या छैन। विकसित मुलुकमा सिपि खेती गर्ने चलन भएपनि नेपालमा थिएन। अब मोती उत्पादनका लागि सिपि पाल्न सकिने देखिएको छ।’
प्रकाशित: ९ श्रावण २०८० १०:५३ मंगलबार