१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

बागमतीका किसानलाई पौने दुई करोड राहत वितरण

विभिन्न प्राकृतिक विपद्बाट पशु, मत्स्यको क्षति भएका किसानलाई बागमती प्रदेश सरकारले करिब पौने दुई करोड रूपैयाँ राहत प्रदान गरेको छ। आर्थिक वर्ष २०७९/८० मा १ करोड ५७ लाख ७५ हजार रूपैयाँ राहत प्रदान गरिएको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठज्यूको संयोजकत्वमा बनेको राहत व्यवस्थापन तथा निर्देशन समितिको निर्णय बमोजिम ४१ जना किसानलाई राहत प्रदान गरिएको हो।

स्वीकृत भएको राहत रकम किसानकै खातामा जम्मा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी अनुप अधिकारीले बताए।

विभिन्न प्राकृतिक विपद्बाट पशु, मत्स्यको क्षति भएका किसानलाई बागमती प्रदेश सरकारले करिब पौने दुई करोड रूपैयाँ राहत प्रदान गरेको छ।

‘कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि अनुसार रकम वितरण गरेका हौं,’ अधिकारीले भने, ‘क्षति पुगेका किसानलाई राहत पुगेको छ।’

राहत रकम प्राप्त गर्न किसानले निवेदनको साथै विपद्का घटना खुल्ने प्रहरी मुचुल्का, सम्बन्धित स्थानीय तहको सिफारिस, सम्बन्धित कृषि ज्ञान केन्द्र/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा राहत व्यवस्थापन समितिको सिफारिस, बिमा नगरेको प्रमाण, कुनै निकायबाट राहत नलिएको प्रमाणका साथ क्षति देखिने फोटो वा भिडियो अनिवार्य पेश गर्न भनिएको थियो।

किसानको निवेदनलाई अध्ययन तथा निरीक्षण समितिले रकम सिफारिससहित राहत व्यवस्थापन तथा निर्देशन समितिमा पेश भए पश्चात् स्वीकृत भएको हो। राहत वितरण कार्यलाई व्यवस्थित बनाउन मन्त्रालयमा पहिला दर्ता हुने निवेदनलाई पहिलो प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

राहत रकम किसानकै खातामा जम्मा गरिएको छ। कृषिक्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि अनुसार रकम वितरण गरेका हौं। यसले क्षति पुगेका किसानलाई राहत पुगेको छ।

-अनुप अधिकारी, सूचना अधिकारी,

कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती

राहात पाएपछि किसान पनि खुसी छन्। काभ्रेको नोबेल कृषि फर्म, धुलिखेल–३ का किसानले ५ लाख ७० हजार पाएका छन्। त्यसैगरी, टिम भिजन एग्रिकल्चर फार्म, पनौतीले १० लाख, श्रेष्ठ वंगुर फार्मले ९ लाख ६० हजार, उन्नति हाम्रो बंगुर फार्म पनौतीले १० लाख, एस.एस. बंगुर माछा तथा कृषि फार्मले १० लाख रूपैयाँ राहत पाएका छन्।

त्यसैगरी, चितवनको पाथिभरा पशुपालन तथा दाना उत्पादन केन्द्र प्रा.लि., भरतपुरले १० लाख, गोपी पशुपन्छी फर्म, इच्छाकामनाले १० लाख, गौशाला कृषि फर्म, खैरहनीले ८ लाख ७० हजार, न्यु कर्माचार्य एकीकृत फर्म खैरहनीका सञ्चालकले १० लाख रूपैयाँ पाएका छन्। त्यसैगरी, नुवाकोट, भक्तपुर, मकवानपुर, दोलखाका किसानले पनि राहत रकम पाएका छन्।

अन्य किसानलाई पनि राहत दिने मन्त्रालयको योजना छ। सरकारले यो कार्यक्रम आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पनि राखेको छ। वार्षिक स्वीकृत कार्यक्रममा ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ। चालु आवमा राहत वितरण हुन नसकेका निवेदनलाई आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने मन्त्रालयको योजना रहेको छ। 

प्रकाशित: २८ असार २०८० ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App