काठमाडौं – मुलुकको अर्थतन्त्र आयातमुखी भइरहँदा कुल गार्हस्थ उत्पादन (जिडिपी) मा उद्योग क्षेत्रको योगदान कमजोर बन्दै गएको छ । राज्यले मुलुकमा औद्योगिकीकरणको वातावरण बनाउन नसक्दा कुल गार्हस्थ उत्पादनमा यसको योगदान घट्दो र आयात बढ्दो क्रममा छ ।
आर्थिक वर्ष ०७३/७४ को आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२/७३ मा कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ५.७२ प्रतिशत छ । यो विगत वर्षमा भन्दा कम हो । मुलुकको कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढ्दै जानुपर्नेमा क्रमशः घट्दै गएको छ ।
आर्थिक वर्ष ०६९/७० मा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान ६.३५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा ५.६७ प्रतिशत हुने अनुमान गरिएको छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष ०६९/७० मा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान ६.३५ प्रतिशत रहेकोमा ०७०/७१ मा ६.२ प्रतिशतमा झरेको थियो । त्यसैगरी ०७१/७२ मा ६.०३ प्रतिशत योगदान रहेकोमा ०७२/७३ मा ५.७२ प्रतिशतमा झरेको छ ।
आर्थिक वर्ष ०७२/७३ मा विनाशकारी भूकम्पको प्रभाव तथा भारतको नाकाबन्दीका कारणले उद्योग क्षेत्र संकुचित हुँदा गार्हस्थ उत्पादनमा योगदान कम भएको हो । चालु आर्थिक वर्षमा इन्धन, विद्युत र कच्चा पदार्थको पर्याप्त आपूर्तिका कारण उत्पादन वृद्धि हुँदै गएकोले ०७२/७३ को तुलनामा उद्योग क्षेत्रमा कुल मूल्य अभिवृद्धि ९.७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
मुलुकमा राजनीतिक, प्राकृतिक र नीतिगत कारणले गर्दा आवश्यक मात्रामा उद्योग स्थापना र सञ्चालन हुन सकेका छैनन् । विगत एक दशकमा सञ्चालनमा लागि स्वीकृति पाएका उद्योगको अवस्था हेर्दा आर्थिक वर्ष ०६३/६४ देखि ०६७/६८ सम्म उद्योगको पुँजी लगानीको अवस्था बढ्दो क्रममा रहेको थियो । आर्थिक वर्ष ०६८/६९ मा दुई सय ७९ उद्योगमा ८४ अर्ब ४२ करोड ७० लाख पुँजी लगानी भएकोमा ०६९/७० मा चार सय ४६ उद्योगमा एक खर्ब १९ अर्ब ६० करोड १० लाख पुँजी लगानी भएको थियो ।
आर्थिक वर्ष ०६९÷७० को तुलनामा ०७०÷७१ मा चार सय ६६ उद्योगमा एक सय ४२ प्रतिशतले पुँजी वृद्धि भएर लगानी दुई खर्ब ८९ अर्ब ३० करोड ८० लाख पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ । त्यसपछिका वर्षमा भने सोही अनुपातमा पुँजी बढ्न सकेको छैन ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनासम्म उद्योग विभागमा ६ हजार आठ सय ३४ उद्योग दर्ता भएका छन् । उद्योगको किसिम अनुसार संख्याको आधारमा उत्पादनमूलक उद्योगको संख्या सबैभन्दा बढी दुई हजार सात सय १३ रहेको छ । जुन ३९.७ प्रतिशत हुन आउँछ । पर्यटन उद्योगको संख्या एक हजार चार सय छ, जुन २०.६ प्रतिशत हो ।
कृषि तथा वनजन्य उद्योगको संख्या चार सय १३ (६.१ प्रतिशत), ऊर्जामूलक उद्योगको संख्या दुई सय ८३ (४.१ प्रतिशत), खनिज उद्योग ६३ (०.९ प्रतिशत) र निर्माण उद्योग ४९ (०.७ प्रतिशत) रहेका छन् ।
आर्थिक वर्ष ०७३/७४ को पहिलो आठ महिनासम्म दर्ता भएका उद्योगको पुँजी लगानीको आधारमा ५२.९ प्रतिशत लगानी ऊर्जामूलक उद्योगमा भएको छ । उत्पादनमूलक उद्योगमा २३.१, सेवा उद्योगमा १०.७, पर्यटन उद्योगमा आठ, निर्माण उद्योगमा ३.४ प्रतिशत लगानी भएको छ । त्यस्तै, कृषि तथा वनजन्य उद्योगमा कुल लगानीको १.६ प्रतिशत र खनिजजन्य उद्योगमा ०.३ प्रतिशत लगानी भएको छ ।
मुलुकमा उद्योग स्थापनाको क्रम सुस्त रहँदा आवश्यक ऐन, कानुन नबन्दा अपेक्षाकृत प्रगति हुन सकेको छैन । दैनिक व्यवसायसँग जोडिएका ऐन, कानुन बन्न र परिमार्जन गर्न पनि वर्षौं लागाउने राजनीतिक अवस्थाले गर्दा औद्योगिक क्षेत्र निराश बनेको छ । पछिल्लो वर्षमा भने केही ऐन, कानुन बनेका छन् । उद्योग क्षेत्रको विकासका लागि औद्योगिक नीति, २०६७, विदेशी लगानी नीति, २०७१, राष्ट्रिय वौद्धिक सम्पत्ति नीति, २०७३ लगायत नीति ल्याइएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ र विशेष आर्थिक क्षेत्र ऐन, २०७३ कार्यान्वयनमा ल्याइएको छ । कम्पनी ऐन, २०६३ मा संशोधन भएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन समसामयिक सुधारको प्रक्रियामा छ ।
स्वदेशमा रोजगारीको सिर्जना हुन नसक्दा युवा जनशक्ति रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता छ । यस्तो अवस्थामा स्वदेशमा उद्योग स्थापना एवं सञ्चालन हुने वातावरण तयार गरी आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न उद्योग क्षेत्रको विकास र विस्तारमा जोड दिन जरुरी छ ।
प्रकाशित: १९ जेष्ठ २०७४ ०५:४४ शुक्रबार