साइकलमा दैनिक साढे पाँच किलोमिटर दूरी पार गर्दै भारतीय बजार रूपैडियाबाट उमेश काँदु कामकै लागि नेपालगञ्ज पुग्छन्। भारतीय श्रम बजारमा काम नपाउँदा नेपालगञ्ज पुग्नुपर्ने बाध्यता उनको मात्र होइन, उनै घर छेउका दर्जनौं श्रमिक नेपालगञ्ज धाउँछन्। ‘उता (भारत) मा काम नै पाइँदैन,’ उनले भने, ‘यता (नेपालगञ्ज) मा सीपअनुसारका काम पाइन्छ। त्यसैले यहाँसम्म आइपुग्छौं।’
उनले नेपालगञ्जको एक प्लाइ उद्योगमा काम गर्न थालेको १० वर्ष भयो तर विदेशी आएर श्रम गर्ने नेपालगञ्जमा स्वदेशी मजदुर भने कामविहीन छन्। उनीहरूलाई दैनिक काम पाउनै हम्मेहम्मे हुन्छ। नेपालगञ्जबाट कामको खोजीमा सयौं नागरिक भारतीय बजारमा श्रम गरिरहेका छन्। यस्तो किन त?, ‘यहाँका उद्योगमा काम गर्ने दक्ष जनशक्ति नहुनु र भएकाले सामान्य काम गर्न हिच्किचाउनु हो।’ बाँकेका धेरै उद्योगमा भारतीय कामदार छन्। मझौला तथा ठूला उद्योगका लागि दक्ष जनशिक्त नहुँदा पनि धेरै कामदार भारतीय बजारबाट ल्याउनुपर्ने बाध्यता भएको यहाँका उद्योगीहरू बताउँछन्।
साइकलमा दैनिक साढे पाँच किलोमिटर दूरी पार गर्दै भारतीय बजार रूपैडियाबाट उमेश काँदु कामकै लागि नेपालगञ्ज पुग्छन्।
नेपाल राष्ट्र बैंकको पछिल्लो एक अध्ययनले समेत भारतसँग सीमा जोडिएको नेपालगञ्जका उद्योगहरूले स्वदेशी कामदारलाई दक्ष बनाएर स्वदेशी उद्योगमै राख्नुपर्नेमा जोड दिएको छ। लुम्बिनी प्रदेशको औद्योगिक वातावरणका चुनौती शीर्षकको अध्ययनमा केन्द्रीय बैंकले भनेको छ, ‘स्वदेशी कामदारको क्षमता अभिवृद्धि गरी उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति निर्माण गर्नू।’
यसले पनि के देखाउँछ भने पश्चिमको औद्योगिकक्षेत्र मानिने नेपालगञ्जमा अझै पनि औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभाव छ। यसको मतलब यहाँका उद्योग अझै पनि भारतीय श्रमिकको भर पर्नुपर्ने अवस्था छ। बाँकेमा बर्सेनि साना र ठूला दर्जनौं उद्योग सञ्चालनमा आउँछन्।
त्यसमा काम गर्ने कामदारमा भारतीयको वर्चस्व हुन्छ। स्वदेशी श्रमिकले काम नपाउने गरेको विषयलाई मजदुर संगठनहरूले विगतदेखि नै जोडदार आवाज उठाउँदै आएको नेपाल टे«ड युनियन महासंघका केन्द्रीय सदस्य पूर्ण केसी बताउँछन्।
नेपाल राष्ट्र बैंकको पछिल्लो एक अध्ययनले समेत भारतसँग सीमा जोडिएको नेपालगञ्जका उद्योगहरूले स्वदेशी कामदारलाई दक्ष बनाएर स्वदेशी उद्योगमै राख्नुपर्नेमा जोड दिएको छ।
बाँकेका दर्जनौं उद्योगमा पहिले कुल कामदारको ६० प्रतिशतसम्म भारतीय नागरिक हुन्थे। अहिले घट्दो भए पनि सन्तोषजनक छैन। ‘विगतको जस्तो यहाँका उद्योगमा भारतीय कामदारको वर्चस्व त छैन,’ उनले भने, ‘तर, घट्दोक्रम पनि सन्तोषजनक होइन।’
यहाँका उद्योगमा कति भारतीय कामदार छन् भन्ने एकीन तथ्यांक पनि छैन। यसको अनुगमन र पुष्ट्याँइ भएको देखिँदैन। सीमावर्ती भारतीय गाउँबाट बिहान दैनिक ठूलो संख्यामा साइकलमा मजदुरी गर्न आउनेको ताँती देख्न सकिने जिफन्टका केन्द्रीय सदस्य केसी बताउँछन्।
सीमावर्ती भारतीय गाउँबाट बिहान आएर दिनभरि काम गरी साँझ घर फर्किने भारतीय नागरिकको संख्या उल्लेख्य छ। नेपालगञ्जमा काम गर्न आउने भारतीय मजदुर सामान्य हेल्परदेखि अप्रेटिङसम्मका काम गर्छन्।
उनीहरूले दैनिक ज्यालादारीदेखि आर्कषक तलबसम्म बुझ्छन्। भारतीय वा विदेशी नागरिकले नेपालमा काम गर्दा श्रम विभागबाट श्रम स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ। नेपालगञ्जका उद्योग तथा अन्य काम गर्ने भारतीयले श्रम स्वीकृत लिए/नलिएको बारेमा सरोकारवाला निकाय पनि अनभिज्ञ छ। श्रम स्वीकृत विभागले दिने र अनुगमनका लागि श्रम कार्यालय नेपालगञ्जलाई कुनै निर्देशन दिएको छैन। श्रम कार्यालय नेपालगञ्जका प्रमुख रुद्रनारायण शाहले अनुगमनका क्रममा सबै कामदारले नेपाली नै भएको बताउने गरेको उल्लेख गरे। सूक्ष्म अनुगमन नहुने भएकाले धेरैले श्रम स्वीकृतिबिना नै काम गरे पनि कारबाही हुन सकेको छैन।
मजदुर नेताहरू भारतीय कामदार राख्दा मजदुर आन्दोलनबाट जोगिने, सामाजिक सुरक्षालगायतका कामको दायित्व लिन नपर्ने भएकाले उद्योगीहरूले भारतीयलाई रोज्ने गरेको आरोप लगाउँछन्।
सीमावर्ती भारतीय गाउँबाट बिहान आएर दिनभरि काम गरी साँझ घर फर्किने भारतीय नागरिकको संख्या उल्लेख्य छ। नेपालगञ्जमा काम गर्न आउने भारतीय मजदुर सामान्य हेल्परदेखि अप्रेटिङसम्मका काम गर्छन्।
नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी ओली भने नेपालगञ्जका उद्योगमा स्वदेशी कामदारहरूको संख्या बढेको बताउँछन्। उनी भन्छन्, ‘उद्योगहरूमा स्वदेशी कामदारको संख्या बढ्दै छ। हरेक उद्योगीले आफ्नै देशका नागरिकलाई काम लगाउने विषयमा सोचेकै हुन्छ।’ महासचिव ओलीले स्वदेशी कामदारलाई दक्ष बनाउन सकिने हो भने धेरै उत्तम हुने बताए।
कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रणका लागि पहिलो बन्दाबन्दी सुरु भयो। भारतमा निर्भर उद्योगहरू प्रायः बन्द रहे। ठीक त्यही समयमा उद्योगले स्वदेशी कामदार खोज्न थाले। नेपालगञ्ज औद्योगिकक्षेत्रका एक उद्योगी भन्छन्, ‘बन्दाबन्दीले कामदार आउन नसकेपछि उद्योग केही दिन बन्द रह्यो।
यसरी काम चल्दैन भनेर यहीका कामदारलाई काम सिकाउँदै उद्योग सुचारु गरेँ। त्यसपछि भारतीय कामदार नहुँदा पनि उद्योग चलिरहेको छ।’
बाँकेका अधिकांश ठूला उद्योगमा भारतीय कामदार छन्। उनीहरू बिना उद्योग चल्न नसक्ने अवस्था भएपछि पछिल्लो समय उद्योगहरूले स्वदेशी कामदारलाई प्राथमिकतामा राख्न थालेका छन्। स्वदेशमा रोजगारी नपाएको भन्दै नेपालीहरू दैनिक सयौं विदेश गइरहेका बेला नेपाली उद्योगमा भने भारतीय कामदारको वर्चस्व देखिथ्यो।
नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी ओली भने नेपालगञ्जका उद्योगमा स्वदेशी कामदारहरूको संख्या बढेको बताउँछन्।
त्यसको कारण खुलाउँदै गणापुरमा रहेको एउटा उद्योगका प्रबन्धक भन्छन्, ‘मेसनरी सामान चलाउन जान्ने दक्ष कामदार नहुँदा भारतीय कामदार राख्नुपर्ने बाध्यता छ। नभइ नहुने अवस्थामा बाहेक अन्यथा नेपाली कामदार नै राख्ने गरिएको छ।’
उनको उद्योगमा झन्डै अढाइ सय कामदार कार्यरत छन्। मुख्य मेसिनरी सामग्री चलाउने भारतीय छन्।
उद्योग आफैंले मेसिनरी सामान चलाउन सिकाउँदै स्वदेशी कामदारलाई प्राथमिकता दिइरहेको उनको भनाइ छ। उद्योगमा स्वदेशी कामदारलाई प्राथमिकता दिइने नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव ओली बताउँछन्। रोजगारी सिर्जनामा उद्योगको भूमिका ठूलो रहेको बताउँदै उनले दक्ष कामदार निर्माणमा उद्योगीलाई सरकारले सहयोग गर्नुपर्ने बताए।
प्रकाशित: २४ असार २०८० ०३:११ आइतबार