१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

मूल्य पाउँदा केरा किसान दंग

बारीमा केरा व्यवस्थापन गर्दै किसान। तस्बिर: वसन्त/नागरिक

चितवनको खैरहनी नगरपालिका–१० का बुद्धिराम चौधरीले केरा खेती गर्न थालेको आठ वर्ष भयो। आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उनी प्रत्येक वर्षजस्तै आन्दोलित हुन्थे। यसपालि भने उनी दंग छन्। २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका चौधरी यसपालि अहिलेसम्मकै उच्च मूल्य पाएकाले दंग परेका हुन्। ‘गत वर्ष मूल्य नै नपाएर कोसको एक रूपैयाँले बेचियो। कति त्यत्तिकै खेर गयो,’ चौधरीले भने, ‘यतिखेर ७ रूपैयाँ कोसा केरा लिन व्यापारी बगानमै आइरहेका छन्।’

उनको बगानबाट आजभोलि दैनिक एक गाडी केरा बिक्री भइरहेको छ। एउटा गाडीमा २५ हजार कोसा केरा अट्ने उनले बताए। उनले मालभोग र हरियो जातको (जिनाइन) केरा लगाएका छन्। यसपालि केराको उत्पादन पनि राम्रो भएको उनको भनाइ छ। ‘यसपटक रोग लागेन। हुरीले पनि ढालेन,’ उनले भने, ‘अहिले कोसा पनि ठुल्ठुला छन्, मूल्य पनि राम्रो छ।’ खैरहनी–१० र ७ मा उनका केरा बगान छन्।

चितवनको खैरहनी नगरपालिका–१० का बुद्धिराम चौधरीले केरा खेती गर्न थालेको आठ वर्ष भयो। आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उनी प्रत्येक वर्षजस्तै आन्दोलित हुन्थे। यसपालि भने उनी दंग छन्।

खैरहनी–३ का इन्द्रप्रसाद सुवेदीले पनि २० बिघामा केरा खेती गरेका छन्। ६ वर्षदेखि केरा खेती गर्दै आएका उनले यतिखेर आठ बिघा क्षेत्रफलमा लगाएको केरा बेचिरहेका छन्। ‘अघिल्लो वर्ष केरा नबिकेर आन्दोलन नै गर्नुपर्‍यो। अहिले कोसाको साढे ७ रूपैयाँसम्ममा बिक्री भएको छ,’ खुसी हुँदै सुवेदीले भने, ‘सधैं यही मूल्यमा बिक्री भयो भने किसान डुब्ने थिएनन्।’

चार रूपैयाँसम्म मूल्य पाए आफूहरूलाई घाटा नहुने उनले बताए। उनको सातामा दुई गाडी केरा बिक्री भइरहेको छ। उनले काठमाडौं, पोखरा र नारायणगढका व्यापारीलाई केरा बिक्री गरिरहेका छन्।

चैत, वैशाख, जेठ, असार र साउन केराले राम्रो बजार पाउने समय हो। तर अघिल्ला वर्षको यो अवधिमा कोसाको चार रूपैयाँभन्दा माथि नपुगेको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए।

खैरहनी-३ का इन्द्रप्रसाद सुवेदीले पनि २० बिघामा केरा खेती गरेका छन्। ६ वर्षदेखि केरा खेती गर्दै आएका उनले यतिखेर आठ बिघा क्षेत्रफलमा लगाएको केरा बेचिरहेका छन्।

पन्तका अनुसार चितवनका केरा किसानले अहिलेसम्मकै बढी मूल्य पाएका छन्। ‘मालभोग जातको केरा ६ देखि साढे ७ रूपैयाँ कोसामा बिक्री भएको छ। जिनाइन केरा प्रतिकोसा साढे तीनदेखि साढे चार रूपैयाँमा कारोबार भएको छ,’ पन्तले भने, ‘पछिल्लो १० वर्षको यो मूल्य अहिलेसम्मकै बढी हो।’ उनका अनुसार यसपालि किसानले प्रतिबिघा साढे ३ लाख रूपैयाँ नाफा गरेका छन्।

साउनबाट केराको मूल्य घट्दै जान्छ। साउनपछिको समयमा चिसो पनि बढ्ने र उत्पादन पनि बढी हुने हुँदा बिक्री हुन समस्या हुने पन्तले बताए। ‘गर्मी सिजनमा उत्पादन गर्न सकियो भने मूल्य राम्रो हुन्छ। अघिपछि भारतीय केरासँग प्रतिस्पर्धा गर्न सकिँदैन,’ उनले भने, ‘सरकारले केराको मूल्य निर्धारण गर्नुपर्छ।’

उनका अनुसार प्रतिकोसा ४ रूपैयाँ निर्धारण भयो भने किसानलाई घाटा हुँदैन। ‘किसानको चाहना ७ रूपैयाँमा बेच्न नपरोस्। तीन रूपैयाँमा पनि बेच्न नपरोस् भन्ने हो,’ उनले भने, ‘उत्पादन बढी हुने समयमा किसानहरूले कमिसनमा बेच्नुपर्छ। यसलाई हटाउने गरी सरकारले मूल्य तोक्नुपर्छ।’

अहिले किसानले प्रतिदर्जन ७० देखि ८४ रूपैयाँमा बिक्री गरिरहेको छन्। तर बजारमा १५० देखि १८० रूपैयाँमा बिक्री भइरहेको छ। मालभोग जातको केरामा दुईतीन वर्षमा रोग लाग्छ। जिनाइनले भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए।

मालभोग केरालाई मल कम भए पनि हुन्छ तर जिनाइनलाई बढी चाहिन्छ। त्यसैले जिनाइनको उत्पादन गर्न लागत बढी लाग्ने उनको भनाइ छ। यहाँबाट प्रायः उच्च गुणस्तरको केरा काठमाडौं र पोखरा जाने गर्छ। मध्यम खालको केरा भैरहवा, बुटवल तथा पहाडी जिल्लामा जाने गर्छ।

अहिले किसानले प्रतिदर्जन ७० देखि ८४ रूपैयाँमा बिक्री गरिरहेको छन्। तर बजारमा १५० देखि १८० रूपैयाँमा बिक्री भइरहेको छ। मालभोग जातको केरामा दुईतीन वर्षमा रोग लाग्छ। जिनाइनले भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए।

चितवनमा केरा जोनसमेत छ। आर्थिक वर्ष २०७५/७६ सालमा स्थापना भएको जोनले ५० प्रतिशत अनुदानमा हालसम्म साढे २ लाख बिरुवा वितरण गरेको छ। यसले आफूहरूलाई थप उत्साह मिलेको उनले बताए।

परियोजनाअन्तर्गत जिल्लामा १ हजार १२५ हेक्टरमा केरा खेती भएको छ। त्यसमध्ये ४५० हेक्टर जमिनमा जिनाइन लगाइएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए।

मालभोग जातको केरामा रोग देखिपछि विकल्पका रूपमा हरियो केरा लगाउन थालिएको उनले बताए। उनका अनुसार परियोजनाले पनि हरियो केराको बिरुवा नै वितरण गरिरहेको छ। ९०० हेक्टर क्षेत्रफलबाट परियोजना सुरु भएका थियो। अहिले विस्तार गरेर १ हजार १२५ हेक्टरमा पुगेको उनले बताए।

चितवनमा केरा जोनसमेत छ। आर्थिक वर्ष २०७५/७६ सालमा स्थापना भएको जोनले ५० प्रतिशत अनुदानमा हालसम्म साढे २ लाख बिरुवा वितरण गरेको छ। यसले आफूहरूलाई थप उत्साह मिलेको उनले बताए।

केराको उत्पादकत्व समेत बढ्दै गएको कृषि अधिकृत ढुंगानाले बताए। ‘जिल्लामा प्रतिहेक्टर २८ मेट्रिक टन उत्पादन हुन्छ। यसको उत्पादकत्व अहिले १० प्रतिशतले बढेको छ,’ उनले भने, ‘किसानहरू खेती गर्ने प्रविधिबारे जानकार भइसकेकाले जिनाइनको उत्पादकत्व बढी भएको हो।’

नेपालको उत्पादन ३ लाख ८ हजार ३८८ मेट्रिक टन छ। यो कुल मागको ६० प्रतिशत रहेको ढुंगानाले जानकारी दिए। उनका अनुसार ४० प्रतिशत केरा भारतबाट निर्यात हुँदै आएको छ। देशभर केराको कुल माग ५ लाख १४ हजार ५० मेट्रिक टन छ। यहाँ २१ हजार ६३३ हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ।

‘गत वर्ष मूल्य नै नपाएर एक रूपैयाँ कोसा बेचियो। कति त्यत्तिकै खेर गयो,’ २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका बुद्धिराम चौधरीले भने, ‘यतिखेर ७ रूपैयाँ कोसा केरा लिन व्यापारी बगानमै आइरहेका छन्। केरामा अहिलेसम्मकै उच्च मूल्य पाएपछि खुसी लागेको छ।’

यसमध्ये चितवनमा २ हजार ७६ हेक्टर क्षेत्रमा केरा खेती हुन्छ। त्यसमा ४३ हजार १९३ मेट्रिक टन केरा उत्पादन चितवनमै हुन्छ। नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ। चितवनका अलावा कैलाली, कञ्चनपुर, परासी, झापा, बारा, मोरङ, सुनसरी, रौतहट, बाँके, बर्दियामा केराको राम्रो उत्पादन हुँदै आएको छ।

प्रकाशित: २३ असार २०८० ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App