२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किसानलाई घाँसका बिरुवा वितरण

पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ। नगरपालिकाभित्र करिब एक हजार एक सय जनालाई समूहमार्फत बिरुवा उपलब्ध गराएको हो।

नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत गठन भएका स्वावलम्बन समूह र युवा समूह गरी ५१ समूहलाई घाँसका बिरुवा वितरण गरेको हो। गुल्मीको इस्माबाट बिरुवा खरिद गरी नेपियर (रातो र सेतो), राई खनियु, बडहर, किम्बु जातका घाँस समूहका सदस्यलाई उपलब्ध गराइएको छ।

ढुवानीसहित करिब छ लाख रुपैयाँको बिरुवा खरिद गरेर समूहको माग अनुसार वितरण गरिएको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संयोजक सञ्जु परियार बताउँछिन्।

पशुपालनलाई व्यवस्थित र व्यवसायी बनाएर आत्मनिर्भरतर्फ किसानलाई अगाडि बढाउन नगर सरकारले उन्नत जातका घाँसका बीउ वितरण कार्यक्रम गरेको हो। निःशुल्क घाँसको बीउ पाएपछि किसान खुसी भएका छन्। स्थानीय सुशीला अर्याल बजारमा बिरुवा खरिद गरेर घाँस लगाउन महँगो पर्ने भएकाले नगरपालिकाले निःशुल्क बिरुवा दिएपछि राहत मिलेको बताउँछिन्।

बिरुवा खरिदमा खर्च गर्नु नपरेपछि आर्थिक भार किसानले व्यहोर्नुपरेको छैन। रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा नगरलाई मासुमा आत्मनिर्भर बनाउन विशेष योजनाका साथ अगाडि बढेको भन्दै पशु व्यावसायिक रूपमा पालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको बताउँछिन्।

‘पशुपालनका लागि उपयुक्त रहेको रामपुर पछिल्लो समय किसानले परम्परागत पशुपालन छाडेर आधुनिक प्रविधिबाट उन्नत जाततर्फ आकर्षित भइरहेका छन्’, उनले भनिन्, ‘नगर सरकारले पशुपालनमा विभिन्न अनुदान, सीपमूलक तालिम, प्रविधि सहयोग गरिएपछि व्यावसायिक रूपमा किसान अग्रसर छन्।’

समूहमा आबद्ध सदस्यलाई उन्नत जातका माउ बाख्रा तथा बोका वितरण, विभिन्न तालिम, प्रविधि दिइएको छ। नगरपालिकाको सहयोगमा माउ बाख्रा पाएपछि समूहका सदस्य पशुपालनमा उत्साहित भएर लागेका छन्।  

प्रकाशित: २० असार २०८० ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App