७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सकिँदैछ धान फल्ने खेत

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले गत वर्ष प्रदेशभरिमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेको थियो। तर, जम्मा १ लाख ४ हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा मात्र धान खेती भयो। अनुमान गरे भन्दा कम क्षेत्रफलमा धान खेती हुँदा उत्पादनमा पनि असर पर्‍यो।

गण्डकी प्रदेशमा वर्षमा करिब साढे ३ लाख टन धान खेती हुने अनुमान भए पनि खेती हुने जग्गा घट्दै जान थालेपछि उत्पादनमा पनि असर पर्न थालेको छ। 

जग्गा बाँझो रहने, रोपाइँको बेला पानी र मलको अभाव हुने, जनशक्ति नपाइने, सिँचाइको समस्या, सहरी क्षेत्रको खेतीयोग्य जग्गा प्लटिङ हुने लगायतले गर्दा पोहोर धान खेती हुने क्षेत्रफल अनुमान गरेभन्दा कम भएको थियो।

यो पटक निर्देशनालयले जम्मा ९७ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेको छ। तर, अनुमानित मध्ये कति क्षेत्रफलमा धान खेती हुने भन्ने अझै यकिन भइसकेको छैन। अहिलेसम्म प्रदेशमा जम्मा ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्र धान रोपिसकिएको छ। धान रोप्ने समय बाँकी नै रहेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए।

‘रोपाइँ भर्खर सुरु भएको छ। अहिलेसम्म ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ। त्यसैले हामीले अनुमान गरे अनुसार सबै क्षेत्रफलमा धान रोपाइँ हुन्छ वा हुँदैन भन्न सकिन्न,’ उनले भने, ‘मनसुनको सुरुवाती चरण भएकोले यो वेला धान रोप्न पानी अभाव छैन। तर, खास चटारो हुने बेलामा पानी कत्तिको पर्छ भन्ने यकिन छैन। वर्षा निरन्तर भइरहने हो भने खेती गर्न सहज हुनेछ।’ अनुमान गरे अनुसारको क्षेत्रफलमा धान रोपाइँ भएमा यो वर्ष करिब ३ लाख टन धान फल्ने अनुमान रहेको उनले बताए।

‘धान खेती गर्ने क्षेत्रफल घटेको छ। तर, उत्पादकत्व भने बढिरहेको छ। धेरैतिर हाइब्रिड धानको खेती गर्न थालेकोले उत्पादकत्वमा भने वृद्धि भएको छ,’ उनले भने। धान फल्न मुख्य खेतमा अहिले धमाधम प्लटिङ हुनु र घर ठडिनु, खेती गर्न छाड्नु, बसाई सराई, जनशक्ति अभाव, सिँचाइ र मल बिउको समस्या लगायतले हरेक वर्ष धान उत्पादनमा गिरावट आइरहेको उनले बताए।

‘यो वर्ष पनि धान रोप्ने सिजनको सुरुवाती चरण त राम्रो छ। तर, पछि यही गति नहुन सक्छ, पानी पर्‍यो भने खासै समस्या हुँदैन, नत्र भने खेतीमा असर पार्छ,’ उनले भने। रेग्मीका अनुसार अहिले त धान फल्ने यकिन क्षेत्रफल पनि पहिचान गर्न पनि सकिने अवस्था छैन। किनभने हरेक वर्ष धान फल्ने फाँट खण्डीकरण भएको छ। प्लटिङ र नयाँ बस्ती विकासले उत्पादन घटाउन सघाएको उनले बताए। 

प्रकाशित: १४ असार २०८० १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App