२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जलहरी नाप्दा सुन नपुगेको कोषको दाबी

पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा सुन नपुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ। आयोगका अनुसार १०७.७६ किलोग्राम हुनुपर्नेमा जलहरी जोख्दा १०७.४६८७ किलोग्राम मात्र पाइएको हो।  

आयोगको टोली आइतबार साँझ जलहरीको नापजाँच गर्न पशुपति क्षेत्र पुगेको थियो। तर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन कसरी घट्यो भन्ने विषयमा भने आधिकारिक रूपमा केही बोलेको छैन।  

यता पशुपति क्षेत्र विकास कोषले भने १ सय ८८ ग्राम सुन नपुगेको दाबी गरेको छ। यसबारे अनुसन्धान गरिरहेका अख्तियारका अधिकारीले भने सुन के कति कारणले पुगेन भन्ने विषयमा औपचारिक रूपमा प्रतिक्रिया दिन चाहेनन्। यसबारे गोप्य अनुसन्धान भइरहेको आयोगका उच्च अधिकारीको भनाइ छ। अख्तियारको टोलीमा सुनचाँदी व्यावसायी महासंघ, नापतौल तथा गुणस्तर विभाग, खानी तथा भूगर्भ विभागलगायत निकायका प्रतिनिधिलाई पनि बोलाइएको थियो। टोलीले आइतबार साँझ ६ बजे नापजाँच गर्न सुरु गरेको थियो। सोमबार बिहान २ बजे मात्र नापजाँचको काम पूरा भएको स्रोतको भनाइ छ।  

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले टोलीले नापजाँच गरेपछि गर्भगृहमा राखिएको जलहरी, रिङ र पेटीसमेत जोड्दा १ सय ८८ ग्राम सुन मात्र नपुगेको बताए। उनका अनुसार जलहरी, रिङ र पेटीसमेत जोड्दा १ सय ७ केजी ८ सय ७ ग्राम सुनको परिमाण भेटिएको छ। ‘नपुगेको यति थोरै परिमाणको सुन जर्ती जोड्दा पनि निस्कन्छ। जर्ती र धुलो जोड्यौं भने १ सय ८८ ग्राम हुन्छ,’ अधिकारीले भने, ‘गर्भगृहमा जलहरी राखेको डेढ वर्ष पूरा भएको छ। दिनदिनै पूजा भइरहेको छ। यसमा १ सय ८८ ग्राम जर्ती निस्कनु स्वाभाविक हो।’

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले टोलीले नापजाँच गरेपछि गर्भगृहमा राखिएको जलहरी, रिङ र पेटीसमेत जोड्दा १ सय ८८ ग्राम सुन मात्र नपुगेको बताए। 

तर अख्तियारका एक उच्च अधिकारीले भने थोरै परिमाणमा सुन नपुगेको भनी पशुपति क्षेत्र विकास कोषका अधिकारीले दिएको प्रतिक्रियाकै विषयमा गम्भीर आपत्ति जनाए। ‘गोप्य अनुसन्धान भइरहेको विषयमा यति सुन पुगेन, यति पुग्यो भने जसरी कोषका पदाधिकारीहरूले बोलिरहेका छन्। यो आपत्तिजनक छ। अख्तियारबाट गोप्य अनुसन्धान भइरहेको विषयमा कोषका पदाधिकारीहरूलाई बोल्ने अधिकार छैन।’ कोषका पदाधिकारीहरूको यस किसिमको भनाइले अनुसन्धानलाई प्रभाव पार्न खोजेको भन्दै ती पदाधिकारीले आपत्ति जनाएका छन्।  

जलहरीमा चाँदी, तामा र जिंक मिसाइएको छ। चाँदी र जिंक सिमाइएकाले जलहरीमा प्रयोग गरेको सुन २२ क्यारेट भएको प्रवक्ता अधिकारीको भनाइ छ। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग गरी बाँकी गायब बनाएको आरोप कोषका पदाधिकारीमाथि लागेको छ। सुनको जलहरीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले नापजाँच गरेको हो। कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १०८ किलोग्राम सुन प्रयोग भएको दाबी गर्दै आएका छन्।  

अब जलहरी कहिले राखिन्छ ?

गर्भगृहबाट निकालिएको जलहरी पुनः गर्भगृमा कहिले जडान हुन्छ भन्ने विषयमा अझै टुंगो नलागेको प्रवक्ता अधिकारीले बताए। यसअघि मंगलबार जलहरी गर्भगृहमा राख्ने सहमति भएको जनाइएको थियो। तर मंगलबार राख्ने नराख्ने विषयमा सोमबार साँझसम्म टुंगो नभएको अधिकारीको भनाइ छ।  

यसैबीच अख्तियारले पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालले आर्थिक अनियमितता गरेको भन्दै झन्डै साढे ६ करोड अनियमितता गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायार गरेको हो।

प्रकाशित: १२ असार २०८० ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App