२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

भक्तपुरका चारै वटा नगरपालिकाको बजेट: कसको कति ?

आफ्नो नगरपालिकाको बजेट प्रस्तुत गर्दै भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशी।

भक्तपुर जिल्लाका चारै वटा नगरपालिकाहरुले निर्धारित समयमै आ-आफ्ना नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटसमेत प्रस्तुत गरेका छन्। २०८०/८१ का लागि आ-आफ्नो महत्त्वाकाङ्क्षी योजना र कार्यक्रमहरूसहित बजेट प्रस्तुत गरेका हुन्।

जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिकाले २ अर्ब ९९ करोड ४ लाख २९ हजार २ सयको बजेट प्रस्तुत गरेको छ।

मध्यपुर थिमि नगरपालिकाले गुणस्तरीय सामाजिक, भौतिक पूर्वाधार, व्यावसायिकीकरण साथमा समृद्ध मध्यपुर निर्माणको आधार नारालाई आत्मसाथ गर्दै उपप्रमुख विजयकृष्ण श्रेष्ठले आइतबार बजेट प्रस्तुत गरे।

जिल्लाका चारमध्ये सबैभन्दा कम चाँगुनारायण नगरपालिकाको रह्यो। चाँगुनारायणले २०८२/८३ मा नगरकोट भ्रमण वर्ष गर्ने तयारीका साथ उपप्रमुख रमेश बुढाथोकीले १ अर्ब ७१ करोड ६ लाख १ हजार बरावरको विनियोजित बजेट प्रस्तुत गरे।

भक्तपुर नगरपालिकाले आव २०८०/८१ का लागि भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र उत्कृष्ट शैक्षिक गन्तव्य स्थल बनाउने उद्देश्यका साथ बजेट २ अर्ब २६ करोड ८५ लाख, ९४ हजारको बजेट प्रस्तुत गरेको छ। 

नगर उपप्रमुख रजनी जोशीले प्रस्तुत गरेको यो बजेट जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये दोस्रो धेरै प्रस्तुत भएको बजेट हो।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले आव २०८०/८१ का लागि कुल २ अर्ब १० करोड ५० लाखको बजेट प्रस्तुत गर्दै आइतबार बसेको १४ औं नगर सभाबाट सो बजेट पारित समेत गरिसकेको छ।

बजेटमा प्रदेश सरकारले विभेद गरिएको भक्तपुर नगरपालिकाको ठम्याई

भक्तपुर नगरपालिकाको बजेट प्रस्तुत गर्दै उपप्रमुख रजनी जोशीले बागमती प्रदेशबाट सो नगरपालिकालाई समपूरक र विशेष अनुदान प्राप्त नभएको भन्दै भक्तपुर नगरपालिकालाई विभेद गरिएको बताइन्।

‘संघीय सरकारबाट विशेष अनुदानतर्फ २ करोड ५० लाख र समपूरक अनुदानतर्फ ५० लाख प्राप्त हुने अनुमान छ। आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारबाट समपूरक र विशेष अनुदानमा रकम प्राप्त नभएकोमा हाम्रो विशेष ध्यानाकर्षण भएको छ। बागमती प्रदेश सरकारबाट भक्तपुर नगरपालिकालाई विभेद गरिएको हाम्रो ठम्याइ छ,’ प्रस्तुत बजेटमा उल्लेख छ।

केन्द्रीय सरकारको आलोचना गरिरहने भक्तपुर नगरपालिकामा मेयर, उपमेयरदेखि वडा अध्यक्ष तथा सम्पूर्ण वडा सदस्यहरुसमेत क्लिन स्विप हुने गरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले विजय हासिल गर्दै आएका छन्।

नारै नाराको बजेट

यता मध्यपुर थिमि नगरपालिकाले प्रस्तुत बजेटमा भने नारैनारा समेटिएका छन्। स्वच्छ मासु स्वच्छ जीवन, एक वडा एक विषयगत सहकारीको अभियान, खेलकुदयुक्त पूर्वाधार, स्वस्थ जीवनको आधार, मेरो स्वास्थ्य मेरो सम्पत्ति, बालश्रममुक्त नगरपालिका, स्वच्छ, सफा, हराभरा नगर बनाउने हाम्रो अभिभारा नारासहितको १४ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

प्रकाशित: १० असार २०८० १६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App