७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरामा समयमै घाटको ठेक्का नहुदाँ आन्तरिक राजस्वमा कमी

फाइल तस्बिर

पोखरा महानगरपालिकाले आन्तरिक स्रोतका रुपमा रहेको घाट (नदीजन्य बस्तु) सञ्चालन गर्न नसक्दा लक्ष्य अनुसार आन्तरिक राजस्व उठाउन सकेकाे छैन्।

घाटहरुलाई समयमै ठेक्का लगाउन नसक्दा नदीजन्य बस्तु उत्खननबाट प्राप्त हुने राजस्वमा कमि आएको पोखरा महानगरपालिकाका उपप्रमुख मन्जदेवी गुरुङले जानकारी दिइन्।

‘राजस्व संकलन अपेक्षा अनुसार संकलन हुन सकेन्। जुन अंक प्रक्षेपण गरिएको थियो। त्यो पुरा गर्न सकेका छैनौं’ उपप्रमुख गुरुङले आईतबार पोखरा महानगरपालिकाको १३ औं नगरसभालाई सम्बोधन गर्दै भनिन–‘हामीले करको दायरा बढाउन सकेनौं। दायरा बढाउन नसक्दा समेत लक्ष्य अनुसारको राजस्व संकलन हुनै सकेन्।’ उनले आन्तरिक राजस्व संकलनको लागि निर्वाचित जनप्रतिनिधि, कर्मचारीको समेत सहयोगको आवश्यकता औल्याइन्।

वर्षायाम शुरु भइसकेको छ। वर्षायामसँगै घाटहरुको ठेक्का टेण्डर महानगरपालिकाले लगाउँदै आएको छ। तर गतवर्षदेखि समयमा घाटहरुको ठेक्का टेण्डर हुनै सकेन्। टेण्डर आह्वान भएपनि ठेकेदार कम्पनीले टेण्डर नहालेपछि महानगरपालिका आफैंले घाटहरुबाट नदीजन्य बस्तु उत्खनन गरी विक्री वितरण गर्दै आएको छ। ‘घाटहरु समयमै सञ्चालन गर्न सकेनौं त्यसले पनि महानगरको आन्तरिक आय घटन पुग्यो।’ उपप्रमुख गुरुङको भनाइ थियो। 

महानगरले आन्तरिक आयतर्फ ३ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर केवल १ अर्ब ९० करोड रुपैयाँ (अनुमानित) राजस्व संकलन भएको छ। आधाआधी नै राजस्व घटेपछि महानगरले आन्तरिक राजस्व संकलन गर्न समयमै घाट सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। महानगरले घाटबाट मात्रै २२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर समयमै ठेक्का नलाग्दा घाटबाट आधाजति मात्रै राजस्व संकलन भएको जनाएको छ।

महानगरमा ३३ वटा वडामा ३३ वटै घाट छन्। महागनरपालिकाको तथ्याक अनुसार एक वर्षमा करीव ३ लाख घनमिटर ढुंगा, बालुवा तथा गिटी उत्खनन गर्न सकिने सम्भावना छ। क्षेत्रगत आधारमा सेती नदीले बनाएको सबैभन्दा ठूलो रामघाट हो। गतवर्षको तथ्यांक अनुसार रामघाटबाट वार्षिक ७७ हजार २८० घटमिटर नदीजन्य बस्तु उत्खनन योग्य रहेको महानगरको ठम्याई छ। सबैभन्दा कम उत्खनन गर्न सकिने सेती नदीकै रातोपहिरो घाट हो। रातोपहिरो घाटबाट केवल ६ सय २५ घनमिटर नदीजन्य बस्तु उत्खनन गर्न सकिने तंथ्याक छ।

लेखनाथ क्षेत्रमा मात्रै १२ वटा घाट छन्। पशुपति घाट, पशुपति घुमाउरेघाट, मुसेटुडो सैनिक घाट, शिसौघारी घाट, लामगादी घाट, चमेरे घाट, गढी घाट, तल्लोपुडी घाट, उपल्लोपुडी घाट, रातोपहिरो खोरीघाट छन्। ती घाटहरुबाट ९३ हजार ६ सय ९५ घनमिटर नदीजन्य बस्तु उत्खनन गर्न सकिने गतवर्षको तथ्यांकमा उल्लेख छ। पोखरा १९ र २५ वडाको सीमा ९ वटा घाट छन्। दुवै वडामा सीमा पर्ने ढाव घाट, मर्दीलस्ती दोभान घाट, दशखेत घाट, तुलसीतारा घाट, पुरन्चौर ढोडिनी घाट, रुद्रमहादेव घाट, सहस्रधारा घाट, गोस्ते लामाचौर घाट छन्। ती घाटहरुबाट ९९ हजार ८८७ दशमलव ५ घटमिटर उत्खनन गर्न सकिने तथ्यांक महानगरले देखाएको छ।

त्यस्तै हेमजा २५ र पोखरा–१६ बाटुलेचौर सीमामा तीन वटा घाट छन्। तल्लो गोस्ते घाट, गजरे घाट र याम्दी घाट हुन्। त्यसैगरी पोखरा–१ र १६ वडामा पर्ने एउटा लालटिनबजार घाट छ। पोखरा महानगरपालिका १३ मा विजयपुर खोला घाट, २१ मा द्वार कस्यार घाट र पोखरा २५ हेमजामा सुईखेतघाट छन्। त्यस्तै पोखरा १४ र २१ सीमामा भेडिफाराम घाट पर्छ। पोखरा १३ र १४ मा गाँउखर्क ओखलढुंगा घाट छ। ३ र ११ वडाको सीमा नारायणस्थान घाट र पोखरा ९, १० र ११ को सीमालाई जोड्ने रामघाट छ।  

प्रकाशित: १० असार २०८० १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App