१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

भन्सारमा क्वारेन्टाइन नहुँदा व्यवसायी मारमा

कैलालीको सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा व्यवसायीहरुले समस्या भोग्दै आएका छन्। भन्सार विभागले यसअघि काम चलाउ रुपमा गरिदै आएको सेवालाई समेत बन्द गरिदिए पछि व्यवसायीहरु सामान निकासी पैठारीका लागि अन्यत्र जान वाध्य भएका हुन्।

उनीहरु विगत छ महिनादेखी कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी र बाँकेको नेपालगञ्ज भन्सार कार्यालय जान वाध्य छन्। नजिकको भन्सार कार्यालयको सेवासुविधा हटाए पछि व्यवसायीहरुलाई आर्थिक भार समेत थपिएको छ। व्यवसायीहरुले भोगेको आर्थिक भारको चपेटामा उपभोक्ता नै पर्ने गरेका छन्।

भन्सार विभागले छ महिना अघि अनलाईन सिस्टमबाट सत्ती भन्सार कार्यालयको नाम हटाएको छ। अनलाइन सिस्टममा भन्सार कार्यालयको नाम देखिने बेला त्रिनगरस्थित क्वारेन्टाइन कार्यालयले निकासी पैठारीलाई व्यवहारिक रुपमा सहज बनाइदिएको थियो। आयात हुने कार्यालयमा अनलाइन मार्फत सत्ती भन्सारको नाम छानेर व्यवशायीहरुले सहजै सामान आयात गर्थे।

भन्सार कार्यालय प्रमुख तिर्थराज पासवानले माथिबाटै सिस्टममा भएको व्यवस्था हटाइएको प्रतिक्रिया दिए। उनले व्यवसायीहरुले दुःख पाउनुका साथै कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको बताए। उनका अनुसार विगत छ महिना यता कार्यालयको राजश्व संकलन दरमा गिरावट आएको छ।

अनलाइन सिस्टमबाट कार्यालयको नाम हटाउनुमा षडयन्त्र भएको हुनसक्ने टीकापुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष लोकेश साउँदको आशंका छ। उनले भएको सुविधा कटौती गरेर कैलालीको पूर्वी क्षेत्रलाई ओझेलमा पार्ने काम भैरहेको बताए। ‘कतै छोटी भन्सार बनाउने षडयन्त्र त भैरहेको छैन’ उनले भने–‘यदि त्यसो हो भने हामी चुप लागेर बस्दैनौं।’

छ महिना अघि मात्रै पनि यहाँबाट खाद्यवस्तु, तरकारी, फलफूल लगायतका सामान निकासी पैठारी हुन्थे। पछिल्लो समय खाद्यवस्तु निकासी पैठारी ठप्प भएको छ। टीकापुर फुड प्रोडक्टका सञ्चालक मुकेश बमले चामल र दालको कच्चा पदार्थ आयातमा निकै समस्या भोग्नु परेको गुनासो गरे।

‘पहिले व्यवहारिक रुपमा यतैबाट ल्याउने गरिन्थ्यो तर अहिले धनगढी पुग्नुपर्छ’ उनले भने–‘टाढाबाट बोकेर ल्याउनु पर्दा दुःख भयो।’

यहाँबाट खाद्यवस्तु, तरकारी, फलफूल लगायतका सामान वैधानिक बाटोबाट भित्र्याउन नपाए पछि चोरी तस्करी पनि बढेको छ। सिमा क्षेत्रमा हुने बढ्दो चोरी तस्करीले राजश्व घटाउने मात्रै हैन गुणस्तरहिन सामाग्री भित्रिने खतरा समेत त्यत्तिकै हुने गरेको छ।

टीकापुर उद्योग वाणिज्य संघ क्वारेन्टाईन स्थापनाको माग गर्दै आन्दोलित छ। संघले तत्काल छ महिनाको अघिको व्यवस्थाको निरन्तरता र दीर्घकालिन रुपमा क्वारेन्टाईन स्थापनाको माग अघि सारेर आन्दोलन सुरु गरेको वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले जानकारी दिए।

संघले पहिलो चरणमा भन्सार कार्यालयमा धर्ना दिने, तालाबन्दी गर्ने, सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन बुझाउने लगायतका कार्यक्रम गरेको थियो। दोस्रो चरणमा भने संघले यस क्षेत्रका संघीय साँसदहरुलाई दवाव स्वरुप एसएमएस पठाउन आम नागरिकलाई अनुरोध गरेको छ। संघको अनुरोध सँगै आम नागरिकले कैलाली क्षेत्र नं. १, २ र ३ बाट राष्ट्रिय र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सात जना साँसदलाई ‘माननीयज्यू, नमस्कार, ०७५ मै मुल भन्सार भएको सत्ती भन्सारमा क्वारेन्टाइन कहिले स्थापना हुन्छ?’ भनेर एसएमएस गरिरहेका छन्।  

प्रकाशित: ५ असार २०८० ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App