२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कृषिमा फर्कंदै भूकम्प प्रभावित

सिन्धुपाल्चोक- भूकम्पपछि अस्तव्यस्त बनेको कृषि क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ। भूकम्पबाट विस्थापित भएका कृषकहरु पुनः कृषिमा फर्कन थालेसँगै अवस्था सामान्य बन्दै गएको हो।

भूकम्प प्रभावित कृषकलाई सरकार र विभिन्न संघ–संस्थाले सहयोग गर्दै आएको जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले जानकारी दिए। 'भूकम्पले यस जिल्लाका शतप्रतिशत कृषकहरु विचलित भएको अवस्था थियो। कृषिका पूर्वाधारहरु, कृषि सडक, सिँचाइका संरचना, बीउ भण्डारण गृह, संकलन केन्द्रलगायत पशुगोठ र घर समेत कृषकहरुले गुमाए,' कार्यालय प्रमुख श्रेष्ठले भने, 'नेपाल सरकारको राहत कार्यक्रम तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहयोगमा विभिन्न कार्यक्रममार्फत कृषकलाई सहयोग गरिरहेका छौं।'

जिल्लामा भूकम्पबाट पशुपालन र कृषिमा करिब ६ अर्ब रुपैयाँ बराबर क्षति पुगेको श्रेष्ठले बताए। उनले भने, 'भूकम्पबाट सिँचाइ कुलोहरुमा बढी क्षति पुगेको छ। कुलोको संरचना, पानीको पाइपलगायत क्षतिग्रस्त भएका थिए। भण्डारण गरिएका सबै अन्न र कृषि औजारसमेत पुरिए।' भूकम्पपछि तत्काल राहतको कार्यक्रम अन्तर्गत सिँचाइका पूर्वाधार विकासमा विशेष जोड दिइएको श्रेष्ठले बताए। त्यस्तै, अन्न भण्डारण केन्द्र, कृषकलाई कृषि औजार वितरण लगायतमा पनि सहयोग गर्दै आएको छ। 'राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशन अनुसार अहिले सहकारी र समूहमा कृषि सामग्री प्रदान गरेका छौं,' उनले भने, 'हालसम्म विभिन्न क्षेत्रका कृषकलाई एक सयवटा मिनी ट्याक्टर, ७०–८० वटा मकै छोडाउने मेसिन, कोदो चुट्ने मेसिन लगायत वितरण गरिसकेका छौं।'  

जिल्लाका पाँच स्थानमा बीउ उत्पादन तथा कृषि संकलन केन्द्रका भवन निर्माण भइरहेको श्रेष्ठले जानकारी दिए। इर्खु, फुल्पिङकोट, इचोक, किउल र भोटेचौरमा भवन निर्माण भइरहेको उनले बताए। बीउ उत्पादन गर्न जिल्ला कृषिले विभिन्न स्थानमा पकेट क्षेत्र तोकेको छ। ती स्थानबाट मकै, धान, गहुँ, आलु लगायतको बीउ उत्पादन भइरहेको श्रेष्ठले बताए। 'ती केन्द्रमा उत्पादन भएका बीउ जिल्ला कृषिले खरिद गरी जिल्लाका कृषकलाई वितरण गर्दै आएको छ। पाँचवटा केन्द्रबाट कम्तीमा पाँच हजार कृषक लाभान्वित हुन्छन्,' श्रेष्ठले भने।

श्रेष्ठका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले चौतारास्थित जिल्ला कृषि विकास कार्यालयकोे भवन, इर्खुमा बीउ संकलन केन्द्र र भोटेचौरमा कृषि संकलन केन्द्रको भवन बनाउन सहयोग गरिरहेको छ। तीनै स्थानमा भूकम्पप्रतिरोधी भवन निर्माणका लागि जाइकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो। भवन निर्माणमा जापानी प्राविधिकसँगै जिल्ला कृषिको जनशक्तिलाई समेत परिचालन गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए। 

इर्खुमा बीउ संकलन केन्द्र बन्दै

जिल्ला कृषिसँगको सहकार्यमा चौतारा–साँगाचोकगढी, इर्खुका कृषकले मकैको बीउ उत्पादन गर्दै आएका छन्। २०६९ सालमा सुरु भएको महिला जागरण कृषक समूहले बीउ संकलन गर्दै आएको समूहका कोषाध्यक्ष शेरबहादुर ठकुरीले बताए।

'भूकम्पअघि वार्षिक ५१–५२ सय किलो बीउ उत्पादन हुन्थ्यो। अहिले उत्पादन घटेको छ,' उनले भने, 'भूकम्पपछि पानीको सातवटा मूल नै सुक्यो। राख्ने ठाउँ नभएर चिसो परेर  धेरै बीउ बिग्रिएकाले भवन निर्माणका लागि माग गरेका थियौं।'

जाइकाकोे आर्थिक तथा प्राविधिक सहयोगमा अहिले बीउ संकलन केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। जाइकाका जीविकोपार्जन तथा पुनर्स्थापना कार्यक्रमका सल्लाहकार वातानाबे नाओहितोले भूकम्प पुनर्निर्माणसँगै पीडितको जीविकोपार्जनमा प्रत्यक्ष सहयोग पुर्‍याउने कार्यक्रम अन्तर्गत भवन निर्माणमा सहयोग गरेको बताए। उनले भने, 'बीउ भण्डारण खाद्य सुरक्षासँग पनि सम्बन्धित छ। त्यसैले यहाँका कृषकको जीविकोपार्जन र खाद्य सुरक्षा वृद्धिमा सहयोग पुर्‍याउने हाम्रो उदेश्य हो। जिल्लामा तोकेको पकेट क्षेत्रमध्ये एक यो उत्पादन केन्द्र निर्माणका लागि जिल्ला कृषिकै अनुरोधमा हामीले सहयोग गरेका हौं।'

आगामी मेसम्म निर्माण सम्पन्न हुने उनले बताए। भवन निर्माणपछि बीउको उत्पादन र गुणस्तरमा वृद्धि हुने नाओहितोको भनाइ छ। 'भवन निर्माणसँगै स्थानीयलाई बीउ उत्पादनको तालिमसमेत प्रदान गरिरहेका छौं,' उनले भने। यसबाट प्रत्यक्ष रुपमा ४८ परिवार र अप्रत्यक्ष रुपमा एक हजार कृषक लाभान्वित हुने उनले बताए।

भोटेचौरमा कृषि संकलन केन्द्र बन्दै

जाइकाकै सहयोगमा भोटेचौरमा कृषि संकलन केन्द्रको भवन निर्माण भइरहेको छ। काठमाडौंको शंखरापुर नगरपालिकासँग जोडिएको भोटेचौरमा विशेषगरी तरकारी उत्पादन हुने साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक सञ्जन सापकोटाले बताए।

'यहाँ उत्पादन हुने तरकारी संकलन गरेर काठमाडौंमा बिक्री वितरण गर्दै आएका छौं। जोरपाटीबाट करिब २० किलोमिटर मात्र टाढा रहेकोले यहाँको तरकारीको बजार विस्तारको सम्भावना धेरै छ,' उनले भने।

२२ सय सदस्य रहेको सहकारीले कृषकहरुलाई तालिम तथा सहुलियत ऋण प्रदान गर्दै आएको उनले बताए। कृषि भवन बनेपछि तरकारी संकलन र कृषकलाई तालिम सञ्चालनको लागि सुविधा पुग्ने उनले बताए। भूकम्पबाट क्षतिग्रस्त बनेपछि यहाँका धेरै कृषक अन्यत्र गएकाले उत्पादन घटेको उनले बताए। प्रबन्धक सापकोटाले भने, 'भूकम्पपछि धेरैले कृषि पेसा नै छाडे। तर पछिल्लो समय स्थानीय कृषिमा फर्कन थालेका छन्।' जाइकाको सहयोगमा संकलन केन्द्र बन्ने भएपछि कृषकहरुमा उत्साह थपिएको उनले बताए।

प्रकाशित: १२ वैशाख २०७४ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App