६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मेहनत गरे १० लाख विदेशी पर्यटक

पोखराको रत्नमन्दिर परिसरमा घुम्न पुगेका विदेशी पाहुना।तस्बिर: उमेश/नागरिक

आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै सरकारले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याउने लक्ष्य सार्वजनिक गर्‍यो। अर्थमन्त्री डा. प्रकाशशरण महतले सन् २०२३–२०३२ लाई ‘पर्यटन दशक’का रूपमा मनाइने बताउँदै २०२३ मा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य सुनाए।

कोरोना भाइरस संक्रमणका कारण नेपालको पर्यटन बजार निकै कमजोर बनेको व्यवसायीले बताइरहेका छन्। संक्रमण कमजोर भइसक्दा पनि विदेशी पर्यटकको आगमनले सोचेजति गति लिन नसकेको व्यावसायीको भनाइ छ। सरकारले भने २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ। सरकारले राखेको लक्ष्य अनुसार पर्यटक आए भने राहत पुग्ने व्यवसायीले बताएका छन्।

सरकारी तथ्यांक अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। यो नै नेपालमा भित्रिएका विदेशी पर्यटकको अहिलेसम्मको अधिक संख्या हो। त्यसपछि कोरोना संक्रमण सुरु हुँदा आगमन खस्केर नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ जना विदेशी पाहुना आएका थिए। सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी मात्र नेपाल भित्रिएका थिए। त्यो संख्या कोरोना संक्रमण कमजोर बनेसँगै बढेर २०२२ मा ६ लाख १४ हजार १ सय ४८ जनामा उक्लिएको थियो।  

पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्रिनेमा कुनै आशंका गर्नु नपर्ने बताउँछन्। किनभने सन् २०२३ को जनवरी–अप्रिलसम्म नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ३ लाख २६ हजार ५ सय २८ पुगिसकेको छ। मे महिनाको समेत आगमन थपिँदा पाँच महिने अवधिमा करिब चारलाख विदेशी पाहुना नेपाल भित्रिने छन्। ती सबै पाहुना हवाई माध्यमबाट भित्रिएका हुन्।  

‘पाँच महिनामा नेपाल भित्रिने विदेशीको संख्या करिब चार लाख पुग्ने आँकलन छ। त्यो आधारमा पनि यो वर्ष १० लाख विदेशी पाहुना भित्रिने हाम्रो अनुमान हो,’ लामिछानेले भने, ‘सिजनको आगमनको समय अझै बाँकी रहेको र आगमन बढ्ने विभिन्न आधार बाँकी रहेकाले सरकारी लक्ष्य प्राप्त हुनेछ। बोर्डले पनि त्यही आकारको अनुमान गरेको हो।’

लामिछानेका अनुसार विदेशी पर्यटक आगमन बढ्ने अरू पनि आधार छन्। भाइरस संक्रमण कमजोर भएसँगै पछिल्लो समय अन्तर्राष्ट्रिय हवाई कम्पनीले नेपालमा उडान संख्या बढाएका छन्। हवाई कम्पनीको अहिले नेपालसम्मको हवाई सञ्जाल विस्तारले गति लिएको छ। हवाई सञ्जाल बिस्तार मात्र नभई ती उडानमार्फत आउने विदेशी यात्रुको संख्या पनि बढिरहेको छ। पछिल्लो समय हवाई कम्पनीको अकुपेन्सी बढिरहेकाले पनि पर्यटकको आगमन अझै बढ्ने अपेक्षा गर्न सकिने उनले बताए।

त्यसबाहेक चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ। कोरोना संक्रमण सुरु भए पछि चीनले आफ्ना नागरिकमाथि लगाएको भ्रमण प्रतिबन्ध खुलाएसँगै नेपाल भित्रिने चिनियाँ पाहुनाको आगमन बढिरहेको छ। पछिल्लो समय त चिनियाँ पर्यटक जहाज नै चार्टर गरेर नेपाल आउन थालेका छन्। नेपालमा बढी विदेशी पाहुना भित्रिने दश मुलुकमध्ये अहिले चीन चौथो नम्बरमा परेको छ। ‘चिनियाँ पाहुनाका लागि बाटो खुलेसँगै आगमन पनि बढेको छ। यसले आगामी दिनमा अझै बढी पाहुना भित्र्याउने आधार देखाउँछ,’ उनले भने। त्यस्तै विदेशी विदेशी पाहुना बढ्ने अर्काे आधार भनेको पर्यटन बोर्डले हाल बंगलादेशमा पर्यटन प्रवद्र्धनार्थ कार्यक्रम आयोजना गरेको छ। पछिल्लो समय नेपाल बंगलादेशी पर्यटकका लागि पनि गतिलो गन्तव्य बनिरहेको छ। प्रवद्र्धनात्मक कार्यक्रम गरेकाले आगामि दिनमा पाहुना बढ्ने अपेक्षा रहेको उनले बताए।  

पोखरामा मंगलबारदेखि ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र एड्भेन्चर ट्राभल मार्ट सुरु भएको छ। नेपालमा पहिलो पटक यो सम्मेलन आयोजना भएको हो। चारदिनसम्म पोखरामा हुने यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई उकास्न सघाउने अपेक्षा व्यवसायीको छ।  

सम्मेलनले कोरोना भाइरस संक्रमणले थलिएको पर्यटनक्षेत्र उकास्न सघाउने पर्यटन व्यावसायीको अपेक्षा छ। पाटाका सचिव सुमन पाण्डेका अनुसार नेपालले यो सम्मेलन आयोजना गर्न पाउनु आफैंमा महत्वपूर्ण अवसर हो। ‘कोरोना संक्रमणले थलिएर सुस्ताएको पर्यटनक्षेत्र उठाउन यो सम्मेलनको ठूलो भूमिका निर्वाह गर्ने छ। किनभने सम्मेलनमा आउने विभिन्न मुलुकका पर्यटन विज्ञ र व्यावसायीले नेपाल र पोखरालाई पर्यटकीय दृष्टिले बुुझ्न पाउनेछन्,’ उनले भने। विभिन्न २२ मुलुकका पर्यटन आवद्ध उच्च पदस्थ पदाधिकारी सम्मेलनमा सहभागि हँुदैछन्।  

पर्यटन बोर्डका अनुसार १६० जना जति पाहुना यो सम्मेलन र मार्टमा सहभागी हुनेछन्। ती मध्ये करिब ४० जना अन्तर्राष्ट्रियस्तरका क्रेता र स्वदेशी २५ बिक्रेता रहेका छन्। ‘बजारीकरणका लागि पाटा सम्मेलन निकै गतिलो अवसर हो,’ उनले भने, ‘यसले आगामी दिनमा पाहुना आगमन बढाउन सघाउनेछ।’

त्यस्तै युरोपियन मूलका पर्यटक भित्र्याउने लक्ष्यसहित जर्मनीको बर्लिनमा आयोजित ‘आइटिबी बर्लिन’मा नेपालबारे प्रवद्र्धन गरिएको थियो । जर्मनीको बर्लिनमा आयोजित यो मेलामा नेपालका २४ वटा पर्यटन आवद्ध कम्पनीले सहभागिता जनाएका थिए। गत मार्च ७ देखि ९ सम्म यो फेयर सञ्चालन भएको थियो। ‘आगामी साता काठमाडौंमा हिमालयन ट्राभल मार्ट पनि हुँदैछ, त्यसबाहेक विभिन्न व्यावसायिक संस्थाले पनि अन्तर्राष्ट्रिय प्रवद्र्धनको तयारी गरिरहेका छन्,’ लामिछानेले भने, ‘यी बाहेक सरकार र निजी क्षेत्रले यो वर्ष पर्यटन प्रवद्र्धनका धेरै काम भएका छन्। त्यसैले सरकार र बोर्डको लक्ष्य पूरा हुने अपेक्षा छ।’  

लामिछानेको अनुमानमा अबको सिजन (सेप्टेम्बर–नोभेम्बर) पनि आगमन उत्साहजनक हुने अपेक्षा छ। सेप्टेम्बरमा एकलाख बढी, अक्टोबरमा डेढलाख र नोभेम्बरमा १ लाख २० हजार हाराहारीमा पाहुना आउने अपेक्षा रहेकोले सरकारी लक्ष्य पूरा गर्न कुनै गाह्रो नरहेको उनले बताए। पछिल्लो समय भारतीय पाहुनाको आगमन बढेकाले पनि सरकारी लक्ष्य भेट्न समस्या नरहेको उनले बताए।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी थोरै मात्र मेहनत गर्ने हो भने सरकारी लक्ष्य पूरा गर्न सकस नभएको बताउँछन्। उठ्नै नसक्ने गरी थला परेकाले मात्र अहिले पर्यटक क्षेत्र अत्तालिएको उनी बताउँछन्। ‘एकलाख पाहुना भित्रिने समयमा दुई अंकको आकारमा पाहुना भित्रिएको अवस्था थियो। त्यो आकारको आगमनमा निकै सुधार भएको छ,’ सुवेदीले भने, ‘त्यसैले प्रवद्र्धनमा अलिकति मात्र साथ दियो भने आगमन बढ्नेमा आशंका गर्नुपर्दैन।’  

विश्वव्यापी आर्थिक मन्दीका कारण पाहुना नआउने हुन् कि भन्ने आशंका गर्न सकिने ठाउँ रहे पनि मेहनत गर्ने हो भने १० लाख पर्यटक भित्र्याउन समस्या नभएको उनले बताए। सरकार, पर्यटन बोर्ड र निजीक्षेत्र सबै मिलेर अघि बढ्ने हो भने पाहुना भित्र्याउन अप्ठेरो नरहेको सुवेदीले बताए। ‘कोरोनाले थलिएको पर्यटन क्षेत्र छोटो समयमा सुधार भएको हो। यो बेला लगानी बढेको तर आम्दानी कम हुँदा व्यवसायी आत्तिएका हुन्,’ उनले भने, ‘लगानी गरे अनुसार आम्दानी नहुँदा खर्च धान्न नसकेको हो तर पर्यटक आगमन नभएकै भन्न मिल्दैन।’ 

प्रकाशित: २८ जेष्ठ २०८० ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App