विगतमा विदेशी मुद्रा सञ्चितीमा चाप परिरहेको अवस्थामा पछिल्ला महिना क्रमशः सुधार हुँदै गएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा विदेशी मुद्रा सञ्चिती बढेर १४ खर्ब ७० अर्ब ३३ करोड रूपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७९/८० को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ११.२ महिनाको वस्तु आयात धान्न सक्ने रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ११.२ महिनाको वस्तु आयात धान्न सक्ने रहेको छ।
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिती १० महिनामा २०.९ प्रतिशतले वृद्धि भई वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड रूपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिती गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा यो वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोडकायम भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार भुक्तानी सन्तुलनमा निकै सुधार आएको छ। मुलुकबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम २३ महिनायताकै उच्च पुगेको जनाएको छ।
वैशाख अन्त्यसम्म भुक्तानी सन्तुलन दुई खर्ब १४ अर्ब रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। विगतमा सरकारले केही वस्तुको आयातमा पूर्ण प्रतिबन्ध र आयातका क्रममा अनिवार्य नगद मार्जिनको व्यवस्था गरेपछि क्रमशः सुधार हुँदै आएको हो। तर अहिले आयात प्रतिबन्ध खुला भइसकेको छ।
यसैगरी विदेशी समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार भुक्तानी सन्तुलनमा निकै सुधार आएको छ। मुलुकबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम २३ महिनायताकै उच्च पुगेको जनाएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ लख २ सय ७९ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९ सय ७६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ सय ८५.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो।
यसैगरी, १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ। वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता ५४ अर्ब ६७ करोड रूपैयाँले घाटामा छ। गत आवको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा थियो। शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रूपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रूपैयाँले घाटामा थियो।
यसैगरी, १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ।
समीक्षा अवधिमा सरकारको पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई ६ अर्ब ३६ करोड रूपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रूपैयाँमात्र आएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रूपैयाँ थियो। गत वैशाख महिनामा नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट ‘एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी’ (इसिएफ) अन्तर्गत दोस्रो किस्तावापतको ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) सहुलियतपूर्ण ऋण लिएको थियो।
१० महिनामा कुल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई १ खर्ब ३० अर्ब ९० करोड रूपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३.६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १ सय ६ प्रतिशत र ८.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिस्टर धागो लगायतका वस्तु निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन, चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ।
प्रकाशित: २७ जेष्ठ २०८० ०३:२२ शनिबार