६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले निजी क्षेत्रलाई समस्या भयोः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।

बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिएपनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताए। उनले लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन नसकेको बताए। साना कुरामा पनि झन्झट व्यहोर्नुपरेको भन्दै क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले समस्या भोगिरहेको उनको भनाइ छ।

लगानीको वातावरण नहुँदा लगानीकर्तामा निराशा उत्पन्न भएको उनले बताए। उनले निजी क्षेत्रका फाइलहरु सरकारी कार्यालयबाट अघि बढ्न नसक्दा निजी क्षेत्रलाई थप लगानीका कुरामा समस्या भएको बताए।

उनले भने, ‘हामीलाई प्राप्त प्रकृतिले नै दिएका अथाह सम्भावनाहरुमा लगानीका लागि सरकारले लगानीकर्ताहरुलाई आग्रह गर्दछ। तर हामी लगानीकर्तासँग भने कतिपय तीता अनुभवहरु पनि छन्। निजी क्षेत्रसँग सहकार्य गर्ने तथा लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन सकेको छैन। हामीलाई कागजी प्रक्रिया र कुनै कारण नभएपनि सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले त्यत्ति नै सताइरहेको छ। मौलाकाली केबलकारको कागजी प्रक्रिया मिलाउन धेरै समय लाग्यो। साना कुरामा पनि क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन सकेको छैन। यस्तो भएपछि लगानीकर्तामा निराश उत्पन्न हुन्छ। यो समग्र निजी क्षेत्रको समस्या हो। लगानीमैत्री वातावरणका लागि पहल गर्नुपर्छ।’

प्रकाशित: २५ जेष्ठ २०८० १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App