१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उदयपुर सिमेन्ट उद्योगमा नक्कली कोइला भित्रिएको ‘टिकटक’ भाइरल

उदयपुरमा रहेको एक मात्र सरकारी स्वामित्वको कारखाना उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेमा गुणस्तरहीन कोइला भित्र्याएको भन्दै बुधबार बिहानदेखि एउटा ‘टिकटक’ सामाजिक सञ्जालमा भाइरल भयो।

सदरमुकाम त्रियुगा नगरपालिका १० का स्थायी बासिन्दा तथा उद्योग बचाउ खबरदारी समितिका सदस्य राजकुमार घिमिरेले पोष्ट गरेको टिकटक भिडियोमा ‘उद्योगले रिजेक्ट (अस्वीकार) गरेको कोइला एक रात बाहिर राखेर भोलिपल्ट बिहान फेरि ल्याउँदा पास भएको’ सुनिन्छ।

ना ७ ख ८०२१ नं. को ट्रक उद्योग परिसरमा पसेर निस्केको भिडियो देखाउँदै टिकटकमा घिमिरेले मंगलबार बेलुका ल्याएको कोइला गुणस्तरहीन पाइएपछि रिजेक्ट भएर फर्केको गाडी दिनभर त्रियुगा नगरपालिका ७ चुहाडेमा (उद्योग परिसरदेखि ६/७ सय मिटर टाढा) राखेकोमा आज बिहान फेरि ल्याउँदा पास भएको आवाज छ।

देश यसरी नै बिग्रको हो भन्दै घिमिरेले यस्ता कार्यविरुद्ध आवाज उठाउन सबैलाई आग्रह पनि गरेका छन्। ‘हेर्नुस् त चोरहरूले यसरी नै देश बिगारेका रहेछन्, रामराम, तपाईँहरू पनि आवाज उठाउनुस् है...’ घिमिरेको टिकटक भिडियोमा मिश्रित आवाज छ।

बुधबार बिहानदेखि ‘ट्रोल’ भइरहेको टिकटक भिडियोबारे उद्योगसँग बुझ्न खोज्दा यथार्थ त्यो भन्दा फरक रहेको जिकिर अधिकारीहरूले गरे। उद्योगमा आएको कोइला केही गाडी कम गुणस्तरको पाइएकाले फिर्ता पठाइएको र सुराकी गरिरहेका स्थानीय केही युवाले सो गाडी चुहाडे गएर बसेको र बिहान उद्योगतर्फ आएको ट्रक पछ्याउँदै जाँदा उद्योगमै कोइला खसाउन आइपुगेपछि होहल्ला गरी गाडी फिर्ता पठाएको भिडियो  खिचेर घिमिरेले टिकटकमा हालेको उद्योग स्रोतले जनाएको छ।

उद्योगको गुण नियन्त्रण विभाग प्रमुख असल राईले भिडियोमा भनिएजस्तो कुरा नभई  तोकिए बमोजिमको कोइला मात्र उद्योगले राख्ने, मापदण्ड नपुगेको कोइला फिर्ता जाने बताए। राईका अनुसार उद्योगलाई चाहिने कोईलाको ‘जिसिभी (ग्रस क्यालरी फिक्स भ्यालु)’ अंक ५४७० मापदण्ड रहेको छ। त्यो भन्दा कम जिसिभीको कोइलाले उत्पादन राम्रो नहुने भएकाले पहिल्यै स्पेसिफिकेसन तोके अनुसार आएको कोइला मात्र उद्योगले स्विकार्ने बताए।

राईले आफू ल्याबतर्फको मात्र जानकारी राख्ने भएकाले कोइला कति आयो, आएन भन्नेबारे कुनै जानकारी नभएको बताए। जति आयो त्यत्ति कोईलाको परीक्षण पनि नहुने भन्दै राईले कम्तीमा लटमा २ सय ५० टन भए मात्र परीक्षण हुने र नतिजा आउन साता दिन लाग्ने बताए।

उद्योग खरिद विभाग प्रमुख रविचन्द्र पौडेलले अघिल्लो दिन आएको कोइला बेसलाईन होल्डिङ कम्पनी काठमाडौँले ल्याएको बताए। तर, कोइला नक्कली सक्कली के हो भन्ने बारे आफू जानकार नभएको भन्दै यसबारे ल्याबलाई थाहा हुने बताए। पौडेलका अनुसार उद्योगलाई चालु वर्ष आवश्यक पर्ने कोइलाका लागि आर्थिक वर्ष सुरुमै उद्योगले टेण्डर आव्हान गरिसकेको छ। जस अनुसार ४ हजार टन कोइला आपूर्ति गर्ने ठेक्का पाएको बेसलाईनले कोइला खसाएको हो।

बेसलाई बाहेक अरिहन्त र नम्रतालगायत आधा दर्जन सप्लायर्स कम्पनीहरूले चालु आर्थिक वर्षको हालसम्म झण्डै साढे १५ हजार टन कोइला उद्योग भित्रिइसकेको पौडेलले बताएका छन्। उनका अनुसार १ हजार टन क्लिंकर उत्पादन गर्न साढे ३ टन कोइला खपत हुन्छ।

उद्योगका विक्री विभाग प्रमुख तथा पूर्व प्रवक्ता रामबहादुर जिसीले अघिल्लो दिन ४ सय ८६ मेट्रिक टन कोइला आएको भन्ने सुनेको तर, यथार्थ कुरा खरिद विभागलाई थाहा हुने बताए। राम्रो काम गर्ने, नराम्रो गर्ने सबैलाई एउटै धोक्रोमा राखेर मुछ्दा दुःख लागेको उनको गुनासो थियो। आफू लगायत कैयौँ कर्मचारी युवावय उमेरदेखि २०÷२५ वर्ष यही उद्योगको सेवामा लाग्दै आएको सुनाउँदै जिसीले केही व्यक्तिले गल्ती गरे पनि दोष सबैलाई दिँदा पीडा महसुस हुने बताए।

पछिल्लो समय उसिउलि टाट पल्टँदै गएपछि स्थानीय सरोकारवालाहरुले उद्योग बचाउ खबरदारी समिति गठन गरेर आन्दोलन गर्दै आएका छन्। वैशाख ३१ गते उद्योग परिसरमा भेला भएका उद्योग प्रदूषण क्षेत्रका स्थानीयहरूको भेलाले गठन गरेको त्रियुगा ५ श्रीपुरका राधारमण खतिवडा संयोजकत्वको २७ सदस्यीय समितिले साता दिनसम्म उद्योगको प्रवेशद्वारबाहिर धर्ना दिँदै आन्दोलन गरेकोमा केही दिन यता आन्दोलनको स्वरूप बदल्दै धर्ना छाडेर माग पुरा गराउन लागी परेको छ। 

संयोजक खतिवडाका अनुसार समितिले राखेका विभिन्न ११ बुँदे माग पुरा गराउन धर्ना मात्र पर्याप्त नभएकाले स्वरूप परिवर्तन गरी आन्दोलन जारी राख्ने निर्णय गरेको हो। जस अनुसार काटिएको उद्योगको विद्युत् लाइन पुनर्जडान भएको र उद्योग सुचारु हुने सुरसारमा आएको तथा बाँकी माग पुरा गराउन भारत भ्रमणपछि प्रधानमन्त्रीलाई भेटेर उद्योगलाई पुनर्स्थापित गर्ने अभियानमा लागेको खतिवडाले बताए।

समितिले उद्योगको पूर्व तथा वर्तमान सञ्चालक समिति, महाप्रबन्धक र अन्य तहका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, उद्योग व्यवस्थापन समिति आफै कमिसनको चक्करमा लागेकाले तत्काल हटाउन, उद्योग धराशायी बनाउने खेलमा लागेको निकम्मा सञ्चालक समिति सदस्य र विज्ञ सदस्यहरू हटाउनुपर्ने माग समितिले अघि सारेको छ।

सङ्घर्ष समिति गठन हुनुअघि नै उद्योग टाट पल्टनुमा महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपाने र सञ्चालक समिति अध्यक्ष केशव बस्नेत मुख्य दोषी रहेको भन्दै मजदुर कर्मचारीहरुले भने लगभग २ महिनाअघि राजीनामा माग्दै उद्योग मन्त्रीलाई ज्ञापन पत्र बुझाईसकेका छन्। उनीहरुले ज्ञापन पत्र बुझाएको केही दिनपछि नै स्थानीयहरूले सङ्घर्ष समिति गठन गरेर आन्दोलन जारी राखेको बेला गुणस्तरहीन कोइला भित्र्याएको आरोप लागेको हो।

कोइलाको घट्नाबारे सबै जानकारी नआइसकेकाले समितिका सचिव खड्काले बुझ्ने काम गरिरहेको र केही दिनभित्र विस्तृत जानकारी आउने खतिवडाले बताएका छन्।

मंगलबार आएको कोइला के कस्तो गुणस्तरको हो त्यो परीक्षणपछि मात्र प्रयोगमा ल्याउन उद्योगसमक्ष माग गरेको उनले बताए। घट्नाबारे विस्तृत जानकारी लिन जिएम न्यौपाने र अध्यक्ष बस्नेतसँग सम्पर्क गर्दा हुन सकेन। जिएम न्यौपानेले मोबाइल सन्देशमार्फत आफू बिमारी भएर बिदामा रहेको छोटो जानकारी दिए भने अध्यक्ष बस्नेतको मोबाइल अफ थियो।

प्रकाशित: १७ जेष्ठ २०८० १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App