७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

जोखिम कम गर्न नगदको पनि बिमा

काठमाडौं- विदेशमा छापिएका नेपाली नोट ल्याउन होस वा विदेशी मुद्रा सटही गरेर नेपाल ल्याउँदा नगद चोरी, डकैती हुनेजस्ता सम्भावित दुर्घटनाको जोखिम कम गर्न नगदको पनि बिमा गर्न थालिएको छ। नगद कारोबार गर्ने कुनै पनि संस्थाले जोखिम कम गर्न नगदको बिमा गर्न थालेका हुन।

नेपाल राष्ट्र बैंकले विदेशमा छापेर ल्याउने नेपाली नोटको पनि बिमा गर्ने गरेको राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरबिक्रम रायमाझीले शनिबार नागरिकलाई बताए। 'जोखिम कम गर्न बिमा गर्ने गरिएको हो,' नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर समेत रहेका उनले भने, 'राष्ट्र बैंकले नगद ल्याउँदा बढी जोखिम हुने भएपछि बिमा गर्न थालिएको हो।'

केन्द्रीय बैंकले त्यसरी नगद ल्याउन बजेट नै छुट्ट्याउने गरेको पनि उनले जानकारी दिए। 'विदेशमा छापेर नेपाल ल्याउने नेपाली नोट राष्ट्र बैंकले लालमोहर नलागाएसम्म कागजको खोष्टो मात्र हुने गर्छन्,' उनले भने, 'तर, नेपाल ल्याउनुभन्दा पहिला पनि त्यस्ता नोटको जोखिम कम गर्न बिमा गर्ने गर्छ।'

केन्द्रीय बैंकले नेपालको एक ठाउँबाट अर्को ठाउँमा ल्याउन तथा लैजान वा विदेशी मुद्रा सटही गरेर नेपाल ल्याउँदा पनि बिमा गर्ने गर्छ। भारतबाट भारु नोट ल्याउँदा पनि बिमा गर्ने गरेको राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायमाझीले बताए।

राष्ट्र बैंकले भरखरैमात्र एक अर्ब २० करोड रुपैयाँ बराबर भारु नोट नेपाल ल्याएको थियो। भारु ल्याउँदा जोखिम हुने देखेपछि केन्द्रीय बैंकले उक्त नोटको बिमा गरेको थियो।

द्वन्द्वकालमा जहाज चार्टर गरेर भारु नोट ल्याइने गरिन्थो। तर, त्यसभन्दा पछि स्थलमार्गबाटै भारु नोट ल्याइँदै आएको जानकारी पनि उनले दिए। 'हवाई मार्गबाट भारु नोट ल्याउँदा महँगो पर्ने भएकाले पनि स्थलमार्गबाट ल्याउन लागिएको हो,' प्रमुख कार्यकारी अधिकृत रायमाझीले भने, 'क्यास इन ट्रान्जिट बिमा गर्ने गरिन्छ।' तर अहिलेसम्म चोरी तथा डकैती भयो भनेर दाबी नपरेको जानकारी पनि उनले दिए।

राष्ट्रिय बिमा कम्पनीले यस्तो बिमा गर्ने गर्छ। उसले पनि विदेशमा रहेका पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्ने गरेको छ। 'वार्षिक रुपमा एकपटकमा कति नोट ल्याउने हो, रकमका आधारमा बिमा शुल्क तिर्ने गरिन्छ,' उनले भने, 'दुई पक्षबीच सम्झौता भएभन्दा बढी रकम एकपटकमा ल्याउने हो भने त्यही अनुसार बढी बिमा शुल्क तिर्नुपर्छ।'

बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय सर्वसाधारणले रकम जम्मा गर्ने निक्षेप खाताको पनि बिमा गर्ने गरेका छन्। जोखिम बहन बिमा कम्पनीले गर्ने भएकाले त्यसको फाइदा बुझेर बैंक तथा वित्तीय संंस्थाको संख्या बढेको हो। नगदको जोखिम बिमा कम्पनीले लिने भएकाले बैंक तथा वित्तीय संस्था बिमा गर्न पहल थालेका हुन्।

बिमा समितिले 'नगद बिमा' गर्न बिमालेख जारी गरेको छ। उक्त बिमालेखले बैंक नोट, ट्रेजरी नोट, सुनको लाप्सा, गरगहना, एटिएमको रकम, सिक्का, बैंक ड्राफ्ट, चेक, हुलाक आदेश, धनादेश, प्रमिसरी नोट, बिल अफ एक्सचेन्ज, हुलाक टिकट तथा परिवर्त्य विदेशी मुद्राको बिमा गर्न सकिने व्यवस्था गरेको छ।

उक्त योजना अनुसार बिमितले आफ्नो कामदार, कर्मचारी र आधिकारिक प्रतिनिधिको साथमा अन्यत्र पठाएको नगद चोरी, डकैती वा अन्य कुनै कारणबाट क्षति वा हानि नोक्सानी भएमा बिमकबाट क्षतिपूर्ति भुक्तान पाउने छ।

त्यस्तै, बिमितको परिसरभित्र रहेको सेफ वा आलमारीमा राखेको नगद, कार्यालय समयभित्र भएको नगद वा कार्यालयको कर्मचारीले बेइमानीपूर्वक नगद चोरी गर्ने अवस्थाको समेत यस योजनाले जोखिम बहन गर्नेछ। साथै बिमितको कार्यालय परिसरमा नगद चोरी भएको अवस्थामा कार्यालयकै कुनै पनि कर्मचारीको व्यक्तिगत नगद समेत हानि–नोक्सानी भएमा प्रतिबिमा अवधिमा बढीमा १० हजार रुपैयाँसम्म भुक्तान गर्ने व्यवस्था गरिएको छ।

तर, भूकम्प ज्वालामुखी, आगलागी वा अरु कुनै प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई भने उक्त बिमा योजनाले नसमेटने विज्ञ बताउँछन्। त्यस्तै, वातावरणीय उथलपुथल, युद्ध, आक्रमण, विदेशी शत्रुको कारबाही, सैन्य वि›ोह, क्रान्ति, जंगी कानुन, घेराबन्दीको स्थिति, भूलचुक, लेखा स्रेस्ताको गल्ती, बिमितले आधिकारिक व्यक्तिबाहेक अन्यलाई सुम्पेको लगायत कारणले नगद हिनामिना भए उक्त योजनाले क्षतिपूर्ति भुक्तानी गर्दैन।

बिमितकोे एकभन्दा बढी व्यावसायिक एकाइ वा एकै व्यवसायका विभिन्न शाखा रहेको खण्डमा उक्त बिमालेख एक व्यावसायिक एकाइका लागि मात्रै जारी गर्न सकिने व्यवस्था छ। त्यस्तै, बिमकले उक्त बिमालेखले बहन गर्ने जोखिमबाहेक अन्य जोखिम पनि बिमा गर्न चाहेमा बिमा शुल्क थप गरी जोखिम पनि थप गर्न सक्ने छ। तर, बिमालेख जारी भइसकेपछि भने जोखिम थप गर्न पाइने छैन। साथै बिमा गर्दा बिमितले आफ्नो कार्यालय खुल्ने समय पनि बिमा सम्झौतामा उल्लेख गर्नुपर्नेछ। बिमितले आफूले बिमा नगरेको नगदको दैनिक अभिलेख राख्नुपर्नेछ।

प्रकाशित: २९ फाल्गुन २०७३ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App