११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिमित व्यक्ति र समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखियो: प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।

सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले उपलब्ध स्रोत, साधनहरु अनुत्पादक र कम उत्पादक क्षेत्रहरुमा केन्द्रीत हुँदापनि अर्थतन्त्रमा समस्या देखिएको बताए। बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिएको भन्दै यसतर्फ समयमै उचित कदम चाल्न ध्यानाकर्षण गराए।

उनले भने, ‘बैंकिङ क्षेत्रको विकास र विस्तारबाट देशमा वित्तिय पहुँच बढेको छ। कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पनि पुगेको छ। तर बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिन्छ। त्यसैगरी सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठुलो स्रोत, साधनको उपयोग गर्ने, उपलब्ध स्रोत, साधन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रीत हुने जस्ता समस्या पनि यस बिचमा राम्रैसँग देखिएका छन्। अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन्। यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक छ। हाम्रो अर्थतन्त्रले आन्तरिक र बाह्य कारणले सिर्जना भएका चुनौतीको उच्चतम बिन्दु पार गरिसकेको छ। आगामी परिदृश्य राम्रो रहेको छ। पर्यटन प्रवद्र्धनमा गरिएको लगानी र कोभिड महामारीपछि विश्वभर पर्यटन क्षेत्रमा बढेको चहलपहलबाट आगामी शरद ऋतुमा नेपालको पर्यटन क्षेत्र कोभिड महामारीपूर्वकै अवस्थामा फर्कने प्रष्ट संकेत देखिएको छ।’

प्रकाशित: १ जेष्ठ २०८० ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App