७ वैशाख २०८१ शुक्रबार
अर्थ

विदेशबाट बढी शव आउनेमा नवलपरासी

नवलपरासी- मंसिर २० गते विहान १० बजे। बर्दघाट नगरपालिका–११ विजयपुरका अमृत चौधरी (१७) ले फेसबुक खोल्दा उनका बाबु यमनारायण (३५) अनलाइन थिए। ड्युटी जाने हतारमा रहेका यमनारायणले लामो समय च्याट गर्न पाएनन्। 'राम्रोसँग बस्नू, आफ्नो ख्याल राख्नू,' बाबुसँगको अन्तिम कुराकानी सुनाउने क्रममा गला अवरुद्ध पार्दै अमृतले भने, 'त्यो नै बुबासँगको अन्तिम कुराकानी भयो।'

छोरासँग कुराकानी गरेको दुई घन्टा बित्न नपाउँदै यमनारायणको मृत्यु भएको खबर आयो। दुई घन्टाअघि सन्चै भेटेका बुबाको एक्कासि मृत्यु भएको खबर सुन्दा उनलाई पत्याउन गाह्रो भयो।

यमनारायणको मृत्यु हुनासाथ कम्पनीले घरमा फोन गरेर जानकारी गराएको थियो। कम्पनीका अनुसार टाउको दुखेको केही समयपछि उनको मृत्यु भएको थियो। अमृतलाई  बुबासँगको अन्तिम कुराकानी अहिले पनि झल्झली सम्झना आउँछ।

जरनल वर्किङ भिसामा मलेसिया गएका यमनारायणको करार अवधि सकिन दुई महिना मात्र बाँकी थियो। तीन वर्षअघि मिलेनियम मेनपावरले उनलाई एक लाख ७० हजार रुपैयाँ लिएर मलेसिया पठाएको थियो। महिनामा नौ सय रिंगेट तलब पाएका उनले चारजनाको परिवार सुखसँग पालेका थिए। फर्किएपछि उनी घर बनाउने योजनामा थिए।

यमनारायणको मृत्युपछि उनकी श्रीमती सीतालाई छोराछोरी पढाउने र घरखर्चको चिन्ताले पिरोलिरहेको छ। चार महिनाअघि यमनारायण घर आएका थिए। युरेटरमा पत्थरी देखिएपछि उपचारका लागि दुई महिने बिदामा आएका उनी निको भएपछि फर्किए।

'दुई महिनापछि घर आउँछु भन्नुभएको थियो, लाश आइपुग्यो,' सीताले भनिन्। श्रीमानको मृत्युको घटना सम्भि्कँदा मन  पोल्ने गरेको उनले सुनाइन् । विदेश नगएको भए त्यस्तो घटना नघट्ने उनको अनुमान छ। सीताको जस्तै अनुमान यमनारायणका दाजु शम्भुनारायणको पनि छ।

वैदेशिक रोजगार विभागका अनुसार खाडी मुलुक र मलेसियामा जाने नेपाली युवाको संख्या ३० लाख हाराहारी छ। विभागका अनुसार नवलपरासीबाट वैदेशिक रोजगारका लागि विभिन्न देशमा जाने युवाको संख्या १० हजार ६ सय ९८ छ। अधिकांश युवा खाडी मुलुकमा गएका छन्। मलेसिया जानेको संख्या अहिले तुलनात्मक हिसाबले कम छ। रोजगारीमा जानेको संख्या बढेसँगै उतै ज्यान गुमाएर आउने शवको संख्या पनि बढेको छ।

वैदेशिक रोजगार विभागको २०५० देखि २०७३ असार मसान्तसम्मको तथ्यांक अनुसार जम्मा ४३ लाख ७८ हजार ६ सय ५६ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ। जसमा खाडी मुलुक र मलेसियामा जानेको संख्या ३० लाखको हाराहारी छ।

विभागको आर्थिक वर्ष २०७२/०७३ असार मसान्तसम्मको तथ्यांक अनुसार नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारमा जानेको संख्या १० हजार ६ सय ९८ रहेको छ। यो संस्थागत रुपमा जानेको संख्या मात्र हो ।

यो तथ्यांकलाई आधार मान्दा अधिकांश युवा खाडी मुलुकमा गएका छन्। मलेसिया जाने युवाको संख्या अहिले तुलनात्मक हिसाबले कम छ।

नवलपरासीमा मलेसिया र खाडीमुलुकबाट ३२ महिनाको अवधिमा सयवटा शव आइपुगेको सुरक्षित आप्रवासन परियोजना (सामी) सूचना तथा परामर्श केन्द्र परासीकी संयोजक उमा पौडेलले बताइन्। धेरै तापक्रममा लगातार काम गर्नु, आराम नगर्नु, खानपिनमा ध्यान नदिनु, काम गर्न नजान्नु, नसक्नु, परिवारले मानसिक तनाव दिनु, दुर्घटना हुनु र सुरक्षा अभाव जस्ता कारणले विदेशमा कामदारको मृत्यु हुने गरेको संयोजक पौडेलको भनाइ छ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये देशभरिमै शव आउने जिल्लामध्ये धनुषा पहिलो भए पनि पछिल्लो डेढ वर्षमा नवलपरासीले उछिनेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) का कार्यक्रम संयोजक संजय चौधरी बताउँछन्। 'शव आउनेमध्ये नवलपरासी पहिलो स्थानामा छ,' उनले भने।

चौधरीका अनुसार डेढ वर्षको अवधिमा नवलपरासीमा ४२ वटा शव आएको छ भने जुलाई १५ देखि डिसेम्बर ३० सम्म आएका एक सय आठ शवमध्ये १८ नवलपरासीको भएको संयोजक चौधरीले बताए।

कसरी हुन्छ मृत्यु?

खाडी मुलुक र मलेसिया जाने धेरै नेपाली कामदारको उमेर १८ देखि ४० वर्ष हुन्छ। ४५ देखि ५० डिग्री सेन्टिग्रेट तापक्रममा काम गरेर फर्किना साथ एसीमा गएर सुत्ने गर्दा शरीर र कोठाको तापक्रमको सन्तुलन नमिल्दा मृत्यु हुने गर्दछ।अर्कोतर्फ मरुभूमिमा शरीरले थेग्नै नसक्ने गरी लगातार काम गर्नु, काम गर्न नसक्नु, खानपिनमा ध्यान नदिँदा र अत्यधिक मदिरा सेवन गर्दा पनि धेरैको मृत्यु हुनेको गरेको छ। यस्तो मृत्युलाई प्राकृतिक कारणले हुने मृत्यु भनिएको छ। यी देशहरुमा ७० देखि ८५ प्रतिशत कामदार राति सुतेको अवस्थामा मृत भेटिने गरेका पिएनसिसीका कार्यक्रम संयोजक संजय चौधरी बताउँछन्। हृदयाघात,काम गर्ने सीप र सवारी दुर्घटना सम्बन्धी जानकारी नहुँदा पनि धेरै नेपालीले अकालमै ज्यान गुमाउनुपरेको उनले सुनाए।

आत्महत्या र हत्याका कारण पनि नेपाली कामदारको मृत्यु हुने गरेको छ। चौधरीका अनुसार प्राकृतिक कारणले मृत्यु हुनेको संख्या अत्यधिक छ। त्यसपछि ट्राफिक र कार्यक्षेत्र दुर्घटना आउँछ। मृत्युका घटना साउदी अरबमा सबैभन्दा धेरै रहेको, त्यसपछि मलेसिया र कतार रहेको उनको भनाइ छ। विगत डेढ वर्षमा देशभरिबाट पिएनसिसीलाई प्राप्त घटनामध्ये साउदीमा एक सय २९, मलेसिया एक सय ११ र कतार ४१ छन्। बाँकी अन्य गन्तव्य मुलुकको रहेको छ।

शव किन ढिलो आउछ?

वैदेशिक रोजगारीमा गएका युवाको विदेशमै मृत्यु हँुदा नेपालमा शव ल्याउन समस्या हुने गरेको छ। धेरै कामदार घरमा कागजपत्र छाडेर जाँदैनन्। कागजपत्र छाडेर गएका, कागजात पूरा भएको र प्रक्रिया मिलेका कामदारको शव ल्याउन समस्या नपर्ने भए पनि घरमा कागजात नछाडेको, कागजात पूरा नभएको र करार अवधि सकिएको र काम गर्ने कम्पनी छाडेर अन्यत्र गएका कामदारको मृत्यु हुँदा शव ल्याउन समय लाग्ने गरेको सामीका सूचना तथा परामर्श केन्द्र परासीका कार्यक्रम अधिकृत ज्ञानेश्वर भण्डारीले बताए। उनी भन्छन्, 'परिवारसँग सम्पर्कविहीन भएका कामदारको मृत्यु भएमा शव नआउन पनि सक्छ।'

मेलेसिया, दुबई, कतार लगायत स्थानमा कागजपत्र मिलेकोअवस्थामा तीन दिनदेखि एक हप्तामा शव आउने भए पनि कागजात नमिलेको अवस्थामा समय लाग्ने गरेको भण्डारी बताउँछन्। साउदी अरब र कुवेतबाट अन्य देशको तुलनामा शव झिकाउन तुलनात्मक रुपमा समय बढी लाग्ने गरेको छ। त्यहाँको कानुनी प्रक्रिया झन्झटिलो भएकाले समय बढी लाग्ने गरेको उनले बताए।शव ल्याउन कम्तीमा पनि तीन महिना सयम लाग्ने गरेको छ।

पाँच वर्षअघि साउदीमा ज्यान गुमाएका एक नेपाली कामदार रामबहादुर तामाङको शव गत फागुन ४ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लैजाँदै मृतकका आफन्त।

प्रकाशित: १५ फाल्गुन २०७३ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App