२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखराका व्यावसायी भन्छन्ः पछिल्लो दशक खुलेका होटललाई बढी सकस

पर्यटकीय सहर पोखरा। पोखरामा पछिल्लो दशक खुलेका होटल आर्थिक रुपमा बढी सकसमा रहेको व्यावसायीले बताएका छन्। तस्बिरः सन्तोष पोखरेल/नागरिक

लेकसाइडमा वरपीपल रिसोर्ट संचालनको तरखर भईरहँदा कोरोना भाइरस संक्रमणको मारमा प¥यो। संक्रमण कमजोर भएपछि संचालनमा आएको रिसोर्ट अहिले जसोतसो धानिएको छ। कोरोना भाइरस संक्रमण र त्यसपछिको आर्थिक भारको बोझ थपिँदै गर्दा रिसोर्टले लक्ष्य अनुसार आम्दानी गर्न सकेन। निकै कठिनका साथ रिसोर्ट धानिएको संचालकको भनाई छ।

वरपीपल रिसोर्ट एउटा उदाहरण मात्र हो, वरपीपल जस्ता पोखराका थुप्रै नयाँ र पछिल्लो समय खुलेका होटललाई संचालन खर्च जुटाउन पनि हम्मेहम्मे रहेको व्यावसायीको भनाई छ। पछिल्लो दशक खुलेका मध्यम आकारका होटललाई अहिले धानिनै गाह्रो भएको उनीहरुको भनाई छ। कोरोना संक्रमण सुरु हुनुअघि र संक्रमण सुरु भएपछि संचालनमा आएका पर्यटकीय पूर्वाधारका लागि अहिलेको समय निकै नै कठिनयूक्त रहेको लगानीकर्ताको भनाई छ। नयाँ लगानीकर्ता बढी आत्तिएको व्यावसायीको भनाई छ।  

‘पहिल्यै खुलेका होटलले केही आम्दानी गरिसकेका थिए। कम्तिमा ऋण त तिरिसकेका थिए, धेरथोर कमाएका पनि थिए। तर, जब कोरोना संक्रमण सुरु भयो, कोरोना आसपासको समयमा संचालनमा आएका पूर्वाधारलाई खर्च धान्न निकै नै गाह्रो भएको छ,’ वरपीपलका संचालक जीतु गुरुङ भन्छन, ‘नाफा कमाउनु त परैको कुरा हो, मासिक खर्च धान्न पनि सकस भएको छ।’

कोरोना संक्रमण फैलिएको भन्दै मूलूकभर लकडाउन सुरु हुँदा वरपीपल संचालनको तयारीमा थियो। तर, लकडाउनका कारण लामो समय रिसोर्ट संचालनमा ल्याउन नपाएको गुरुङ बताउँछन्। ‘संक्रमण कमजोर भएर रिसोर्ट संचालनमा आउँदा निकै नै नोक्सान खेपिसकेका थियौ। कोरोना संक्रमण कमजोर भएपछि पनि पाहुना आउन सक्ने अवस्था रहेन। अहिले त झनै आर्थिक बोझले गर्दा झनै सकस भएको छ,’ उनले भने, ‘यतिबेला त पर्याप्त पाहुना पनि नआउने, अनि, वित्तीय संस्थाको आर्थिक बोझ थपिँदा पनि सकस भएको छ।’

वरपीपलका संचालक गुरुङको जस्तै गुनासो टीका रिर्सोटका संचालक टीका पौडेलको पनि रहेको छ। पौडेलको टीका रिर्साेट २०७४ देखि संचालनमा आएको थियो। ‘रिसोर्टले पिकअप लिन मात्र थालेको थियो, कोरोना भाइरस संक्रमणको मारमा परिहाल्यो, त्यसपछि त कमाउने कुरै रहेन,’ पौडेल भन्छन, ‘कोरोना भाइरसले गर्दा सबैतिर सकस पा¥यो।’ व्यावसायीका अनुसार पोखरामा पछिल्लो दशक खुलेका ठुला लगानीका पर्यटकीय पूर्वाधारलाई आर्थिक रुपमा बढी समस्या छ। किनकी ती पूर्वाधार राम्रोसँग चल्न नपाउँदै मारमा परेका थिए। कतिपयले पिकअप लिँदै गर्दा कोरोना संक्रमण र त्यसपछिको मारमा परेका थिए भने कोरोनाकालमै खुलेका पूर्वाधार त झनै मारमा परेको उनीहरुको भनाई छ।  

‘रिसोर्ट संचालनको छोटो समयमै कोरोनाको भूमरीमा प¥यौं, कोरोनाको मार सकिन नपाउँदै बैंक तथा वित्तीय संस्थाको समस्या पनि थपिन पुग्यो,’ पौडेल भन्छन, ‘वित्तीय संस्थाको मार उत्तिसारो सहन भएको छैन। कोरोना संक्रमणको त्रास त केही कम छ, तर, विदेशी पाहुना आएका छैनन। विश्वव्यापी आर्थिक मन्दीको मारमा परेकोले अहिले पाहुनाको घुमघाम पनि खुम्चिन पुगेको छ।’ व्यावसायीका अनुसार यूरोपियन पाहुना उत्तिसारो छैनन, भारतीय पाहुनाको भरमा व्यावसाय जेनतेन थेगिएको मात्र हो, चिनियाँ पाहुना बल्ल आउने संकेत देखिएको छ।  

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार कोरोना संक्रमण सुरु हुँदै गर्दा पोखरामा धेरै नै होटल निर्माणाधीन अवस्थामा थिए। संक्रमण अघि नै निर्माण थालिएका केही होटल संक्रमणकै अवधिमा तयार भएका थिए। ‘कोरोना संक्रमण सुरु हुनुुभन्दा डेढ–दुइवर्ष अघि संचालनमा आएका र कोरोना अवधिमै तयार भएका व्यावसायिक संरचनालाई यतिबेला निकै नै मुस्किल भएको छ,’ सुवेदीले भने, ‘पुराना होटलको पनि आम्दानी त घटेको हो। तर, नयाँलाई संचालनमै सकस भएको हो।’  

उनका अनुसार पछिल्लो समय पोखराको होटलमा लगानीको आकार पनि बढिरहेको थियो। अझ पोखरामा अन्तर्राष्ट्रिय विमास्थल बन्ने भएपछि व्यावसायी हौसिँदै लगानीमा तम्सिएका थिए। विमानस्थल संचालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान संचालन नहुँदा पनि त्यसको मारमा पर्यटन क्षेत्र परेको सुवेदीको भनाई छ। सुवेदीका अनुसार पछिल्लो समय पोखरामा मध्यम आकारका धेरै होटल थपिएका छन्। ती होटलमा करोडौं लगानी थपिएको थियो।

‘हुन त भूकम्प र नाकाबन्दीपछि पर्यटन क्षेत्रले कमाउन पाएको थिए। पर्यटन व्यावसायी मारमा परेका थिए। तरपनि पुराना होटलले कमाउन सकेका थिए। तर, २०१७/१८ पछि खुलेका होटलले त कमाउनै पाएनन,’ उनले भने, ‘नयाँ होटल व्यावसायी माथि उठ्नै सकेनन। भर्खर खुलेका होटल कोरोनाको मारमा परे, कोरोना सकिएपछि पनि आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाको भारमा थिचिए।’ कुनै न कुनै रुपमा मारमा परेका व्यावसायी अहिले उठ्नै नसक्ने अवस्थामा पुगेको उनले सुनाए। ‘पूर्नकर्जाले केही राहत दिएपनि नयाँ होटललाई त साह्रै न सकस भएको छ,’ उनले भने।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि भूकम्प, नाकाबन्दीदेखि मारमा परेका व्यवसायी कोरोना पछि झनै थला परेको बताउँछन्। उनका अनुसार २०७२ पछि खुलेका पूर्वाधार बढी नोक्सानमा छन्। खर्च धान्न सक्ने अवस्था नभएपछि कतिपय होटल त बिक्रीमा समेत राखिएका छन्। उनका अनुसार २०७२ पछि केही ठुला आकारमा करिब ५० वटा होटल संचालनमा आएका छन्। त्यत्तिकै संख्यामा मध्यम आकारका होटल पनि थपिएका छन्। ‘पुराना व्यावसायीले धेरथोर कमाउन सकेका हुन। तर, भूकम्पपछि संचालनमा आएका व्यावासायीले त अहिलेसम्म नै कमाउन सकेका छैनन,’ उनले भने, ‘जसोतसो खर्च धान्न सकेका छन्।’  

पराजुलीका अनुसार कोरोना संक्रमणको सेरोफेरोमा खुलेका व्यावसायलाई धानिन बढी सकस हुनुको अर्काे कारण बैंक तथा वित्तीय संस्थाको ब्याजको दवाव पनि हो। ‘यो सिजनमा पर्यटक केही आएका पनि हुन । तर, दुइवर्षदेखि मारले गर्दा पनि बढी सकस थपिएको हो,’ उनले भने। 

पराजुलीका अनुसार कोरोना संक्रमण सुरु भएपछि पनि पोखराका होटल संचालनयोग्य अवस्थामा रहिरहे। ती होटलमा पाहुना थिएनन, तर, संचालनयोग्य अवस्थामा राख्दा व्यवासायीमाथि आर्थिक दायित्व थपिएको थियो। त्यत्तिमात्र नभई सिमित कर्मचारीलाई तलब दिएरै व्यावसायीले राखिरहे। त्यो बेला कमाई शुन्य थियो, तर, खर्च भने भईरहेको थियो।

‘होटललाई यथास्थितिमा राख्दा व्यावसायी बढी घाटामा परे। त्यो बेला बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने रकम पनि तिर्न सकेनन। अहिले सबैतिरको भार थपिँदा व्यवसाय नै कमजोर देखिएको हो,’ पराजुलीले भने, ‘पछिल्लो दशक खुलेका पूर्वाधारलाई अहिले हम्मेहम्मे भएको छ।’  

प्रकाशित: २६ वैशाख २०८० १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App