१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘आइसिपी’ सञ्चालनको तयारी सुरु

वीरगन्ज-  एकीकृत जाँच चौकी (आइसिपी) निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला त्यसलाई सञ्चालनमा ल्याउने तयारी सुरु भएको छ। आइसिपी सञ्चालन गर्न चाहिने विद्युत र दूरसञ्चारका लागि सहरी विकास तथा भवन निर्माण विभागले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जमार्फत प्रक्रियागत काम थालिसकेको छ। नेपालको ७० प्रतिशत व्यापार हुने यस नाकामा भारतसँग जोडिएको दसगजा वारि र पारि आधुनिक शैलीको भन्सार स्थापनाको बहुप्रतीक्षित योजना हो आइसिपी।

विस्तृत प्राविधिक विवरणसहित डिभिजन कार्यालयले सम्बद्ध निकायलाई पुस २२ गते नै पत्रसाथ कागजात पठाइसकेको छ । यसमध्ये विद्युत आपूर्तिका लागि ११ केभीको प्रसारणलाइन आइसिपीसम्म पु¥याउन नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रलाई जिम्मा दिइसकिएको छ । यसमा काम थाल्न सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार पत्र पठाई डिभिजन कार्यालयलाई समन्वयको आदेश दिएको छ । विभागको वैदेशिक सहयोग समन्वय शाखाका सिनियर डिभिजन इन्जिनियर हिमाल केसीले प्रेषित गरेको पत्र आइतबार आइपुगेको हो । अब डिभिजनले प्रक्रियागत काम सुरु गर्ने जनाएको छ । डिभिजन प्रमुख सरोजकुमार गोइतका अनुसार आइसिपीको नेपालतर्फको संरचनाको निर्माणमा भौतिक प्रगति करिब ९० प्रतिशत पुग्न लागेको छ ।

डिभिजन कार्यालयका अनुसार आइसिपीमा भइरहेको निर्माण कार्यमध्ये केही प्रतिशत बाँकी रहेको सडकको कालोपत्रे, नाला, विद्युत, टेलिफोन लाइन, वायर नेटवर्किङ लगायत काम अब त्यहाँस्थित निर्माण कम्पनीले गर्नुपर्ने छ । नेपालतर्फ निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी ‘के एस सफ्टनेट सोलुसन’ले बाँकी रहेको भौतिक संरचना निर्माण चाँडै पूरा गरिसक्ने गरी काम भइरहेको जनाएको छ । कम्पनीका महाप्रबन्धक सुवासचन्द्र दासले मुख्य कामहरु सम्पन्न गर्न फागुनभन्दा ढिलो नहुने गरी काम भइरहेको बताए । ‘मिरर इमेज’ अर्थात समान प्रकारको नक्सामा सीमा वारपार आधुनिक तथा सुविधासम्पन्न भन्सार प्रागंण एकसाथ निर्माण गर्ने र सञ्चालन गर्ने योजना आइसिपीमा भारततर्फको पाटो आठ महिनाअघि नै सञ्चालनमा ल्याइसकिएको छ ।

गत जेठ २० मा नै सञ्चालनमा आएको भारततर्फको आइसिपीबाट आंशिक काम पनि भइरहेको छ । दुवैतर्फको योजना अनुगमन र सुपरिवेक्षणको जिम्मा पाएको भारतको सरकारी परामर्शदाता संस्था (कन्सल्टेन्सी) राइटेसले पारिको आइसिपी सञ्चालनमा ल्याएपछि यता नेपालतर्फको काम सकाउन पनि दबाब सुरु भएको थियो । राइट्सका वरिष्ठ अधिकृत दिपक सिन्हाको संयोजनमा भारतको ‘ल्यान्ड पोर्ट अथोरिटी’ अर्थात भू–बन्दरगाह प्राधिकरणका अध्यक्ष वाइएस सेहरावतको प्रमुख आतिथ्यमा कार्यक्रम गरी भारततर्फको आइसिपी सुरु भएपछि पेट्रोलियम पदार्थको कागजात पास भारतीय कस्टमले त्यहीँबाट गर्ने गरेको छ । नेपालतर्फको संरचना तयार नभएकाले रक्सोल भन्सारले पनि आफ्नो सबै कामकारबाही आइसिपीमा ल्याउन सकेको छैन । दुई देशबीचको व्यापार सहज बनाउन मात्र होइन नेपालमा व्यापारिक र आर्थिक गतिविधि व्यवस्थित गर्न महŒवपूर्ण मानिएको योजनामध्ये आइसिपी आवश्यक रहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको भनाइ छ ।

नेपालतर्फको काम सकिएपछि आइसिपीबाट वीरगन्ज भन्सार सञ्चालन हुनुको साथै भन्सार प्रक्रियामा भूमिका रहेका प्लान्ट क्वारेन्टाइन, पशु क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका एकाइ, प्रयोगशाला, वित्तीय संस्था र सुरक्षा एकाइहरु त्यहाँ राखिने छ । यी सबै राख्न विद्युत, दूरसञ्चार लगायतको व्यवस्था आइसिपी सञ्चालनपूर्व त्यहाँ गर्नुपर्नेछ । अहिले त्यसैको लागि प्रक्रियागत काम थालिसकिएको हो । यताका आइसिपीभित्र भन्सार र अरु निकाय स्थापना भइसकेपछि भारत र नेपाल दुवैतर्फको भन्सार एकसाथ जोडिएर दसगजा वारि र पारि सञ्चालन हुन सक्नेछ । जग्गाको मुआब्जा विवादका कारण १० महिना ढिलो गरी निर्माण सुरु भएको नेपालतर्फको संरचना बनाउने कार्य पनि भारततर्फ काम सकिएको करिब १० महिनापछि सकिन लागेको हो ।

 

प्रकाशित: २४ माघ २०७३ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App