२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

भैरहवा भन्सारको व्यापार घाटा ९ महिनामै डेढ खर्ब नाघ्यो

नेपाल भारत सीमा नाका बेलहिया–सुनौलीमा भारतबाट मालसामान बोकेर आएका भारतीय ट्रकहरू नेपाल पस्ने पालो कुर्दै। तस्बिर:रेखा भुसाल/नागरिक

चालु वर्षका ९ महिनामा भैरहवा भन्सारको व्यापार घाटा करिब डेढ खर्ब नाघेको छ। देशकै दोस्रो ठुलो नाका भैरहवा भन्सारको चैत मसान्त सम्मको व्यापार घाटा १ खर्ब ६८ अर्ब ८३ करोड ९९ लाख छ।

पोहोरको तुलनामा यसपालि मालसामानको आयात घटे पनि निर्यात बढ्न नसक्दा व्यापार घाटामा खासै सुधार हुन सकेको छैन। आयातको तुलनामा निर्यात नगन्य छ। भैरहवा स्थित बेलहिया नाकाबाट औद्योगिक कच्चा पदार्थ, सवारी साधन, इन्धन र खाद्यान्न तथा तरकारी, फलफूलको आयात उच्च छ।

चुलिँदो व्यापार घाटाको मुख्य कारण आयातमुखी अर्थतन्त्र भएको बताउँछन् भन्सारका अधिकारीहरु। 

आर्थिक वर्ष २०७९/२०८० को चैत मसान्त सम्ममा भैरहवा भन्सारबाट १ खर्ब ७६ अर्ब ७१ करोड ८८ लाख बढी मुल्यका मालसामान आयात भएको छ। यो अवधिमा जम्मा ७ अर्ब ८७ करोड ८९ लाख मूल्यका सीमित बस्तु निर्यात भएको छ।

भैरहवा भन्सारका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले यो नाकाबाट आयातको तुलनामा निर्यात नगन्य रहेको बताए। गत वर्षको तुलनामा यो वर्ष निर्यात ३० प्रतिशतले बढे पनि आयातको तुलनामा निर्यात नगन्य हुँदा व्यापार घाटा उल्लेख्य रहेको पौडेले बताए। गत वर्ष सोही अवधिमा ६ अर्ब ५ करोड ३८ लाखको निर्यात भएको थियो।

भैरहवा भन्सारले चैत मसान्त सम्म जम्मा ५४ अर्ब ९४ करोड ९५ लाख राजश्व संकलन गरेको छ। यो राजश्व लक्ष्यको जम्मा ४८.१५ प्रतिशत  हो। भन्सार विभागले भैरहवालाई चैत मसान्त सम्मकालागि १ खर्ब १४ अर्ब ११ करोड २३ लाख राजश्व संकलनको लक्ष्य दिएको थियो। गत आर्थिक वर्ष २०७८/२०८९ को चैत मसान्त सम्ममा ९० अर्ब ८३ करोड ७१ लाख राजश्व संकलन भएको थियो। पोहोरको तुलनामा यसपालि ३९ प्रतिशतले राजश्व घटेको छ।

यसअघि सरकारले विलासिताका बस्तुमा अनिवार्य एलसी खोल्नु पर्ने र केहीमा मार्जिन बढाउँदा आयात उल्लेख्य घटेको पौडेलले बताए।

‘जिप, कार भ्यानको आयात ६० प्रतिशत र मोटरसाइकल ६६ प्रतिशतले घटेको छ, इन्धन आयात पनि उल्लेख्य घट्दा त्यसको असर राजश्वमा परेको हो’ भन्सार प्रमुख पौडेलले भने।

यो नाकाबाट सबैभन्दा धेरै आयात हुने बस्तुमा सवारी साधन र इन्धन, खाद्यान्न छ। मूल्यका आधारमा धेरै आयात हुने मुख्य बस्तुमा क्रमशः एम.एस. विलेट, एल पि ग्यास, मोटरसाइल, इलेक्ट्रिक कार जिप भ्यान, पेट्रोल, डिजेल, ग्लेज टाइल, मार्बल स्ल्याव, खाद्यान्न छन्। राजश्व संकलनको योगदानलाई हेर्ने हो भने एक नम्बरमा मोटरसाइकल, त्यसपछि जिपकार भ्यान, पेट्रोल र ग्लेज टाइल, इलेक्ट्रिक कार, जिप भ्यान, डिजेल छ। त्यस्तै मार्बल स्ल्याव, एमएस विलेट, एल पि ग्यास, र पिक अप तथा डेलिभरी भ्यान पनि छन्। कुल सङ्कलित राजश्वमा यी दश मुख्य बस्तुको हिस्सा ४० प्रतिशत छ।

चैत मसान्त सम्मका ९ महिनामा ६ अर्ब ७४ करोड ४२ लाखको एम एस विलेट अर्थात् फलामका पाता आयात भएको छ। ६ अर्ब ३० करोड १३ लाखको एल पि ग्यास आयात भएको छ। ५ अर्ब ५१ करोड ३७ लाख मुख्यका ५१ हजार ७७७ वटा मोटरसाइकल आयात भएको छ। ४ अर्ब ७२ करोड १५ लाखका १ हजार ७५५ वटा इलेक्ट्रिक कार, जिप, भ्यान आयात भएको छ। ४ अर्ब ७० करोड ७८ लाखको पेट्रोल र ४ अर्ब १७ करोड ६४ लाखको डिजेल आयात भएको छ। ३ अर्ब ५२ करोड १६ लाख बढीको ग्लेज टाइल र २ अर्ब ३६ करोड ५ लाखको मार्बल आयात भएको छ।

यो वर्ष सवारी साधन, पेट्रोलियम पदार्थ तथा विलासीताका केही सामानको आयात घटेको छ । तर खाद्यान्न लगायतका स्वदेशमै उत्पादनको सम्भावना बोकेका कृषिजन्य बस्तुको आयात घटेको छैन।

यो नाकाबाट ९ महिनामा १५ अर्ब बढीको खाद्यान्न तरकारी तथा फलफूल आयात भएको छ। २ अर्बको आलु र २ अर्ब ३६ करोड बढीको प्याज आयात भएको छ। ४ अर्ब ५९ करोडको चामल आयात भएको छ। मकैकालागि उर्वर मानिने पहाडका गाउँ बस्ती रित्तिँदै जाँदा मकैको परनिर्भरता बढ्दो छ। भैरहवा भन्सार हुँदै १ अर्ब २८ करोडको मकै आयात भएको छ। ५८ करोडको काजु र बदाम भित्रिएको छ।

व्यावसायिक खेतीकालागि सजिलो मानिएको फलफूल मध्ये केराको आयात पनि बर्सेनि बढ्दो छ। ९ महिनामा यो नाकाबाट ३५ करोड ६८ लाखको केरा आयात भएको छ। २५ करोडको त खुर्सानी र मरिच आयात भएको छ।

भन्सारबाट राजश्व उठाएर देश चलाउने सरकारको नीतिले अर्थतन्त्रलाई धराशायी बनाइरहेको बताउँछन् सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ।

अर्थतन्त्रलाई सुधार गर्न उत्पादनमुखी नीति लिनु पर्ने र कृषि उत्पादन बढाउन विशेष ध्यान दिनु पर्नेमा उनले जोड दिए।

‘कुनै बेला भैरहवाबाट चामल, तोरी निर्यात हुन्थ्यो तर अहिले अर्बौको आयात हुन्छ त्यसको मुख्य कारण सरकारको कृषि नीति, अनुदान सहुलियतका कार्यक्रम प्रभावकारी भएनन्’ श्रेष्ठले भने। 

अहिले पनि नेपालको कृषि निर्वाह मुखी रहेको भन्दै उनले कृषिमा ठुला लगानी र परियोजना भित्र्याउनु पर्ने खाँचो औँल्याए।

भैरहवा भन्सारबाट निर्यात हुने मुख्य बस्तुमा सेन्थेटिक यार्न छ। साउन देखि फागुन सम्ममा २ अर्ब ३ करोडको सेन्थेटिक यार्न निकासी भएको छ। खजुरको प्रशोधित तेल, खोटो रोजीन, पिना, चोकर, भुस, अदुवा, सुठो, सिमेन्ट क्लिङ्कर, रद्दी काँच, चाउचाउ, नुडल्स जस्ता सीमित बस्तु भैरहवाको बेलहिया नाकाबाट निर्यात हुने गर्छ।

प्रकाशित: १६ वैशाख २०८० १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App