११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

पालिकादेखि मुम्रासम्मको सडक सञ्चालनमा

पालिकादेखि मुम्रासम्म जोड्ने सडक खण्ड निर्माण कार्य सम्पन्न भएको छ। सान्नीत्रिवेणी गाउँपालिका— ६ मा पर्ने काब्डी खोलानजिकैको कडा चट्टान फोड्न नसक्दा पालिकादेखि मुम्रासम्म जोड्ने सडक अधुरै रहेको थियो। पुनः आर्थिक वर्ष २०७९-८० मा सान्नीत्रिवेणी गाउँपालिकाले पालिकादेखि मुम्रासम्म जोड्ने सडक सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो।

सान्नीत्रिवेणी गाउँपालिकाले रकुदेखि मुम्रासम्म सडक जोड्ने कामलाई पहिलो प्राथमिकता दिएको छ। गाउँपालिकाका प्रत्येक वडामा सडक पुगे पनि रकुदेखि मुम्रासम्म सडक सञ्चालन नहुँदा अन्यत्रको बाटो भएर सवारी साधनमा आवतजावत गर्न कठिन भइरहेको छ।

सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा महेश केसी निर्वाचित भएपछि गाउँपालिका अध्यक्षलगायतको सिंगो निर्वाचित टोलीले पालिकादेखि मुम्रा र रकुदेखि पालिकासम्म सडक सञ्चालन गर्ने पहिलो निर्णय गरेका थिए। उक्त निर्णयअनुसार निर्वाचित भएको पहिलो वर्षमै पालिकादेखि मुम्रासम्मको सडक सञ्चालनमा ल्याइएको छ। अघिल्लो सरकारले निर्माण सम्पन्न गर्न नसकेको अधुरो सडक वर्तमान सरकारले पूरा गरेको छ। पालिकादेखि रकु र पालिकादेखि मुम्रासम्म गरी दुईवटा योजना बनाएर सडक सञ्चालनका लागि काम भइरहेको छ।

काब्डी खोलानजिकैको कडा चट्टानका कारण सडक सञ्चालनमा ढिलाइ भए पनि कडा मेहनतका कारण काम सम्पन्न गरी सडक सञ्चालन गर्न सफलता मिलेको गाउँपालिकाले जनाएको छ। सान्नीत्रिवेणी गाउँपालिकाको ४० लाखमा उपभोक्ता समिति बनाएर चैत महिनाबाट नियमित रूपमा काम गर्न थालेपछि सडक सञ्चालनमा आएकोे प्रमुख प्रशासकीय अधिकृत नेत्रराज शाहीले बताए। कडा चट्टानले गर्दा भीर फुटाउन गाह्रो भएको र समय लागेको शाहीले बताए।

बीचमा स्काभेटरमा समस्या आएको हुँदा सडक सञ्चालन गर्न केही ढिलाइ भए पनि विभिन्न समस्याका बाबजुद पनि सडक सञ्चालनमा ल्याइएको छ। उपभोक्ता समितिका पदाधिकारी, कर्मचारी, स्थानीयलगायतले सडक सञ्चालनका लागि योगदान गरेका थिए। पालिकादेखि मुम्रासम्मको सडक सञ्चालनमा आएसँगै आवतजावतमा सहज हुनुका साथै खाद्य खुद्रा सामान ढुवानीका साथै निर्माण सामग्री ढुवानी गर्न पनि मुम्रावासीलाई सहज हुने भएको छ।

पालिका बाहिर जानुपर्दा रास्कोटको बाटो भएर जानुपर्ने बाध्यता अन्त्य भएको छ। उक्त सडकमार्फत ढुंगा, बालुवा ढुवानी गर्न पनि सहज र छिटोछरितो हुने विश्वास गरिएको छ। पालिकादेखि मुम्रासम्म सडक सञ्चालनमा ल्याइएको बताउँदै गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले रकुदेखि पालिकासम्म सडक सञ्चालनका लागि लागिपरेको बताए। रकुदेखि पालिकासम्म सडक सञ्चालनका लागि पालिकाको बजेटले नसक्ने भन्दै बजेट व्यवस्थापन गर्न प्रदेश र संघीय सरकारसँग माग गरिरहेको बताए। 

प्रकाशित: १४ वैशाख २०८० ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App