२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थतन्त्रका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यकः अर्थमन्त्री डा. महत

फाइल तस्बिर

अर्थमन्त्री डा.प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताएका छन्।

बुधवार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन्। 

उनले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरुको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले मुलुकको अर्थतन्त्रलाई गतिदिनको लागि सत्ता पक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको बताए।

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्वतहमा छलफल भइरहेको पनि दाबी गरे। उनले सदनमा सदस्यहरुले भनेको जस्तो अर्थतन्त्र कहाली लाग्दो अवस्थामा नभएको भन्दै सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउनसक्ने अवस्थामा रहेको बताए। अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति समाधान गर्ने ठोस प्रतिवद्धता सरकारसँग रहेको बताए। अर्थतन्त्रमा समस्याहरुका चाङहरु रहेको स्वीकार गर्दै समस्या समाधान गर्न केही समय लाग्ने उनले उल्लेख गरे।

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबैले धैर्यता गर्न आवश्यकता पर्ने बताए। उनले सिथिलतामा पुगेको अवस्थालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको जिकिर गरे। उनले सरकार सम्पूर्ण रुपमा इमान्दारिताका साथ क्षमता र योग्यताले भ्याएसम्म आफू र पार्टी भन्दा माथि उठेर देश र जनतालार्इं केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए।

अर्थमन्त्री डा.महतले अर्थमन्त्री भएर आएको एक महिना भएकाले भन्दै तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए। उनले सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिवद्धता जनाए। उनले अर्थतन्त्रमा वाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कडाई गर्दा बैंकको ब्याजदर वृद्धि,मूल्यवृद्धि,आयात प्रतिबन्द लगाउँदा अर्थतन्त्रमा समस्या आएको बताए। उनले सरकारको पुँजीगत खर्च कम हुने प्रवृति यो वर्ष पनि कायम भएको र दुई वटा निर्वाचनमा सरकारको ध्यान केन्द्रित भएको कारण पनि समस्या भएको बताए।

अर्थमन्त्री डा. महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको बताए। उनले बजार संकुचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए। अब अर्थतन्त्रमा सुधार गर्नुपर्ने समय आएकाले बैंकको ब्याजदरमा बैंकहरुले पुनःविचार गर्ने र मौद्रिक नीतिका यन्त्रहरु प्रयोग गरी शेयर बजार,अर्थतन्त्रलाई चलायमान बनाउने बताए।  

प्रकाशित: १३ वैशाख २०८० ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App