३ मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाली अलैंची उत्कृष्टः विज्ञ

झापा, विर्तामोडस्थित रहेको अलैंची गोदाममा अनुसन्धान टोली। तस्बिरः राजु अधिकारी

झापा– छिमेकी भारतले विभिन्न खोट देखाउँदै आयात नै रोकेको नेपाली अदुवा र अलैंचीलाई विदेशी अनुसन्धाताले भने ‘उत्कृष्ट’ भन्दै प्रशंसा गरेका छन् । नेपालका निर्यातजन्य प्रमुख दुई कृषि उत्पादन अदुवा र अलैंची गुणस्तरीय रहेकै कारण विभिन्न पाँच मुलुकका अनुसन्धाताले लामो समय लगाएर अध्ययन समेत गरेका छन् ।

नेपाली अदुवामा विषादी अत्यधिक रहेको, चिनियाँ अदुवा मिसाएको, अलैंचीमा पनि मिसावट भेटिएको भन्दै सन् २०१६ मा पटक–पटक भारतीयले आयात रोकेको थियो । नेपालमा उत्पादित अदुवा र अलैंचीको प्रमुख बजारले यस्तो लाञ्छना लगाउँदै आयात रोकिदिएपछि निर्यात नै चौपट बनेको थियो । यस्तो बेलामा विश्वविद्यालयमा नै अदुवा र अलैंचीबारे शोध गरेका अध्येताहरुले नेपालको उत्पादनलाई उत्कृष्ट भनेका हुन् । कृषिबालीका विज्ञहरुले नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा राम्रो ठाउँ बनाउन सक्ने सम्भावनासमेत औंल्याए ।

स्विजरल्यान्डको बेन युनिभर्सिटीका प्रोफेसर हान्स पिटर न्वयले नेपालको अलैंची निकै स्वादिलो र सुगन्धित रहेको प्रतिक्रिया दिए । ‘हामीले अन्ुसन्धानका क्रममा नेपाली उत्पादन उत्कृष्ट रहेको पायौं,’ मेची पहाडका जिल्ला घुमेर फर्कने क्रममा उनले झापामा भने, ‘यसलाई प्याकेजिङ र त्यसको गुणस्तरजस्ता कुरामा ध्यान दिन सके अलैंचीलगायत नेपालका कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा राम्रो ठाउँ पाउने निश्चित छ ।’ उनको नेतृत्वमा रहेको टोलीले मेची पहाडका इलाम, पाँचथर ताप्लेजुङ क्षेत्रको भ्रमण गरेर अध्ययन गरेको हो ।  
नेपाल, स्विजरल्यान्ड, बोलिभिया, लाओस र युगान्डाका अनुसन्धाता सहभागी टोलीका अधिकांश सदस्यले विद्यावारिधिको सिलसिलामा कृषिवस्तु अलैंची र अदुवामा शोध गरिरहेका छन् ।  उनीहरुले अलैंची तथा अदुवा खेतीको अवलोकनसँगै किसान, व्यवसायी तथा अन्य सरोकारवालासँग छलफल गरेका थिए । नेपाल अलैंची व्यवसायी महासंघले संयोजन गरेको ‘नगदे बाली उत्पादन, प्रवद्र्धन र निर्यात’सम्बन्धी कार्यशालामा समेत सहभागी भएका उनीहरुले नेपालमा उत्पादित नगदे बालीको विविध पक्षबारे जानकारी लिएका थिए । उनीहरुले अलैंची तथा अदुवा रोप्ने विधिदेखि प्रशोधन र बजारीकरणसम्मको अवस्थाबारे निकै चासो देखाएका थिए ।

अनुसन्धानको अगुवाइ गरिरहेको संस्था नेपाल सेन्टर फर कन्टेम्पोरेरी रिसर्च (एनसीसीआर)का कार्यक्रम संयोजक विष्णुराज उप्रेतीले यो अनुसन्धानले नेपालका कृषि नगदे बालीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनुका साथै तेस्रो मुलुक निर्यातमा पनि सघाउ पु¥याउने विश्वास व्यक्त गरे । उनले नेपाली उत्पादनको तेस्रो देशको बजारमा उपस्थिति अनिवार्य भइसकेको बताए । प्राध्यापक उप्रेतीले सो संस्थाले कृषि विभाग र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी प्राज्ञिक अनुसन्धान कार्यक्रमअन्तर्गत नगदेबालीमा महिलाको भूमिका तथा योगदान सम्बन्धमा अलैंची तथा अदुवाजस्ता नगदेबालीमा अनुसन्धान अघि बढाउँदै गएको जानकारी पनि दिए ।

नेपाली अदुवा, अलैंची जस्ता प्रमुख निर्यातजन्य कृषि उत्पादनका लागि तेस्रो देशको बजार खोज्न सुझाव दिने विदेशी विज्ञसहितको टोलीले झैं नेपाली विज्ञले पनि पटक–पटक आवाज उठाउँदै आएका छन् । ‘नेपाली अदुवाको एकमात्र बजार भारत भएकै कारण नेपाली पक्ष बारम्बार समस्यामा पर्दै आएको छ,’ अदुवाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सक्रिय पूर्वसचिव पुरुषोत्तम ओझा भन्छन्, ‘त्यसैले तेस्रो देशको बजार विकल्पका रुपमा ठिक पार्न जरुरी छ ।’ अहिलेसम्म भारतीय बजारमा काँचो अदुवा मात्रै निर्यात हुँदै आएको छ । तर, अदुवालाई प्रशोधन गरेर विभिन्न रुप दिने र सोझै तेस्रो देशको बजारमा पठाउन सकिने सम्भावना उच्च रहेको ओझा बताउँछन् । तर, भारत निर्भर बजारको विकल्प खोज्न नै हच्किने सरकारी शैलीले यस्तो उपायको कार्यान्वयन सम्भव भएको छैन ।

अदुवामा जस्तै अलैंचीमा पनि भारतीय अड्को प्रमुख समस्या बन्दै आएको छ । गएको सिजनमा धेरै पटक अलैंचीको निर्यात नै रोकियो । कारण थियो– मिसावटको आरोप । जानकारका अनुसार उक्त आरोप आधारहीन थियो । आयात रोकेर नेपाली उत्पादक र निर्यातकर्ता गलाउने भारतीय ध्येयले समस्या ल्याएको थियो । ‘त्यसैले सबै कृषि वस्तुको तेस्रो बजार जरुरी छ,’ नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य नरेन्द्र खड्का भन्छन्, ‘विदेशी विज्ञले पनि यो सम्भावना देखाइरहेका बेला सरकारले पहल गर्नुपर्छ ।’

 

 

प्रकाशित: १६ माघ २०७३ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App