१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

३३ महिनापछि अर्को ठूलो चिनियाँ जहाज

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ५६ सिट क्षमतायुक्त पहिलो चिनियाँ जहाज थपेको ३३ महिनापछि अर्को यस्तै जहाज काठमाडौं ल्याएको छ। चीनको कुन्मिङबाट उडेको जहाज बंगलादेशको ढाकामा 'ट्रान्जिट' गरी बिहीबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजलाई वरिष्ठ क्याप्टेन गोपालसिंह विष्टले 'कमान्ड' गरी ल्याएका हुन्। साथमा वरिष्ठ क्याप्टेन प्रशन्न समसेर राणा र क्याप्टेन सम्राटबहादुर शाह थिए। कुन्मिङबाट चार घन्टा उडेपछि जहाज काठमाडौं आइपुगेको हो। यसको उडान नम्बर 'आरए ११३१' थियो।

जहाज लिन गएका निगमको अपरेसन (उडान सञ्चालन) विभाग प्रमुख वरिष्ठ क्याप्टेन रविन्द्रकुमार (आरके) शेरचन, इन्जिनियरिङ डाइरेक्टर पोषक ज्ञवालीसहित अन्य अधिकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी पनि यही जहाजमा फर्किएका छन्।

'५६ सिटे मोडर्न आर्क (एमए–६०) सिरिजको अर्को एकथान जहाज ल्यायौं,' निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बिहीबार नागरिकसँग भने, 'यस्तै खालको पहिलो जहाज ३३ महिनाअघि ल्याएका थियौं। ठूलो आकारको यो जहाजबाट हामी सरल भाडा दरमा विभिन्न आन्तरिक गन्तव्यमा उडान गर्ने छौं।'

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको यो नयाँ जहाजलाई '९एन–एकेआर' कलसाइन दिएको छ। यो जहाज निगमले चीनबाट पाएको सहुलियत ऋणमा खरिद गरेको हो। नयाँ जहाज थपिएपछि निगम व्यवस्थापनले प्रत्येक साता थप १४ उडान गर्ने तालिका बनाएको छ।

'नयाँ एमए–६० आइपुग्यो, अब यसबाट एक सातामा थप १४ उडान गर्ने छौं,' निगमका कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीले भने, 'दुईथान एमए–६० बाट प्रत्येक साता ३२ उडान गर्ने तालिका बनाएका छौं। यसमा यात्रुवर्गबाट पनि उल्लेख्य सहयोग पुग्ने विश्वास छ।'

उनका अनुसार हाल एकथान एमए–६० ले प्रत्येक साता काठमाडौंबाट भद्रपुरका लागि चार तथा विराटनगर र धनगढीका लागि सात/सात उडान गरिरहेको छ। नयाँ जहाज थपिएपछि भद्रपुरका लागि सातामा चार, विराटनगर १४ तथा धनगढी र नेपालगन्जका लागि सात/सात उडान गर्ने तालिका बनाइएको छ।

त्यसैगरी सहुलियत ऋणबाट खरिद गरिएको अर्को एकथान सानो आकारको चिनियाँ जहाज आगामी मंगलबार (माघ १८) मा काठमाडौं अवतरण गर्ने निगमले जनाएको छ। अब आउने जहाज भने १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको हो। यस्तै खालको एउटा जहाज निगमले उडाइरहेको छ।

कमर्सियल डाइरेक्टर कालाखेतीका अनुसार चारथान चिनियाँ जहाज भएपछि प्रत्येक साता ७० (दैनिक १०) उडान सञ्चालन गरिनेछन्। दुईवटा एमए–६० बाट सातामा ३२ तथा दुई वाई१२–ईबाट सातामा ३८ उडान गर्ने तालिका बनाइएको छ।

वाई१२–ई जहाजले काठमाडौंबाट पोखरा र भैरहवाका लागि सातामा १४/१४, सिमराका लागि सातामा ७ तथा मेघौलीका लागि सातामा तीन उडान गर्ने उनले जानकारी दिए। हाल एकथान वाई१२–ईले पोखरा र भैरहवाका लागि प्रत्येक साता ७/७ उडान गरिरहेको छ।   

नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ थान चिनियाँ जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ।

चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध भएको छ। यी जहाज अर्थ मन्त्रालयले डेढ प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ। अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने 'ग्रेस पिरियड' दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ। सहुलियत ऋणको ६० प्रतिशत चीनलाई भुक्तानी भइसकेको छ। यो भनेको २ अर्ब २३ करोड ६८ लाख रुपैयाँ हो।

जसअनुसार २०७१ वैशाख १४ मा एकथान एमए–६० र कात्तिक १७ मा एकथान वाई१२–ई ल्याएको थियो। एमए–६० ले असार ११ बाट र वाई१२–ईले पुस पहिलो साताबाट नियमित उडान सुरु गरेको थियो। १८ सिटे भने पनि वाई१२–ई मा १७ सिटमात्र छन्। यी दुइटै जहाज अनुदान सहयोगमा प्राप्त भएका हुन्।

गत पुस ११ मा निगमले 'चिनियाँ जहाज निर्माता कम्पनीका अधिकारीसँग भएका छलफल एवं बैठकका माइन्युटलाई दृष्टिगत गर्दा एमए–६० र वाई१२–ईको सञ्चालन सम्बन्धमा देखा परेका मर्मत–सम्भार, पुर्जा तथा तालिमको मूल्य, बिमालगायत समस्या समाधान गर्न चिनियाँ पक्षले सक्दो सहयोग गर्ने प्रत्याभूति दिएपछि बाँकी जहाज ल्याउन लागिएको' पुनः घोषणा गरेको थियो।

निगमसँग हाल सञ्चालनमा रहेका दुईथान चिनियाँ जहाजले जति आम्दानी गर्छन् तिनलाई उडाउन भने आम्दानीको तीन गुणा बढी खर्च हुने गरेको छ। २०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै वाई१२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो। तर, उक्त एक वर्ष एमए–६० उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ तथा वाई१२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो।

चिनियाँ जहाज आएपछि प्रशस्त आम्दानी गर्ने र बजार हिस्सा वृद्धि गर्ने व्यापारिक योजना बनाएको निगमले एक वर्षसम्म एमए–६० उडाएर नाफाको सट्टा उल्टै २६ करोड ४० लाख ६६ हजार ४ सय ८२ रुपैयाँ नोक्सानी बेहोरेको थियो। वाई१२–ईको नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो।

प्रकाशित: १४ माघ २०७३ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App