१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महासंघको निर्वाचन सम्पन्न

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ। बुधबार बिहान १० बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको हो। मतपरिणाम बिहीवार बिहानसम्म आउने निर्वाचन समितिले जनाएको छ।

महासंघको निर्वाचन समितिका अनुसार वस्तुगत र जिल्लानगरतर्फ सतप्रतिशत मत खसेको छ। वस्तुगततर्फ १ सय २३ वटा मतदाता रहेकोमा सबैले मतदान गरेका छन् भने जिल्ला र नगरतर्फ १ सय १७ मतदाताले नै मतदान गरेका छन्। एशोसिएटतर्फ भने कम मत खसेको छ।

एशोसिएटतर्फ १ हजार ७ सय ४८ मतदाता रहेकोमा ११ सय ३२ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ। महासंघको विधान अनुसार वरिष्ठ स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ। महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षमा ५१ प्रतिशत मत नआए दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने प्रावधान छ।

महासंघको जिल्ला नगर उपाध्यक्षका लागि दिनेश श्रेष्ठ, सुरकृष्ण उपाध्याय, अरूणराज सुमार्गी र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, सुकुन्तलाल हिराचन, मनिषलाल प्रधान र एशोसिएट उपाध्यक्षका लागि भरतराज आचार्य र जोत्यसना श्रेष्ठ प्रतिस्पर्धामा छन्।

कुल ६४ पदका लागि १ सय १६ जनाले उम्मेदवारी दिएका थिए। जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी दिएको महासंघको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी प्रदेशतर्फ कतिपय प्रदेशमा निर्विरोध निर्वाचित भएका छन् भने कतिपयमा प्रतिस्पर्धा भएको छ।  

प्रकाशित: ३० चैत्र २०७९ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App