१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सगरमाथाको दोस्रो शिविरसम्म जाने रुट तयार

सगरमाथा आराेहीहरूका लागि रूट निर्माण गर्दै आइसफल डाक्टरहरू। तस्वीर साैजन्य : एसपिसिसी

यस वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल चढ्नेहरूका लागि दोस्रो सिविर (क्याम्प टु) सम्मको रुट निमार्ण कार्य सम्पन्न भएको छ। फागुन १९ देखि सुरु भएको सगरमाथा हिमाल चढ्ने रुट निमार्ण कार्य यही चैत २३ गते बिहीबार सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए।

दोस्रो सिविरसम्मको रुट निर्माण कार्य आङ साकी शेर्पाको नेतृत्वमा प्राविधिक आठ र तीन स्टाफसहित ११ सदस्यीय समूहले करिब एक महिनामा सम्पन्न गरेको हो। ती आठ जना प्राविधिकहरू आइसफल डाक्टर हुन् भने बाँकी तीनजना सहयोगीहरू हुन्। यस पटक हिउँदमा पर्याप्त हिउँ नपरेका कारण बाटो बनाउन कठिन भएको बताउँदै एसपिसिसीका कार्यकारी अधिकृत शेर्पाले भने ‘यसपालि हिउँ पर्ने समयमा हिउँ परेन। मार्च अन्तिमबाट मात्र हिउँ पर्यो जसले गर्दा रुट निर्माण कार्य अन्य वर्षको तुलनामा अलि गाह्रो भयो।’

उनले थपे हिउँदमा पर्नुपर्ने हिउँ रुट निमार्ण गर्ने बेलामा पर्यो। भर्खरै परेको हिउँमा बाटो बनाउँदा तुलानात्मक रूपमा कठिनाइ सामना गर्नुपरेको हो।

‘पहिले परेको हिउँ बसिसकेपछि मात्र रुट निर्माण गर्न पाएको भए भासिने सम्भावना रहँदैनथ्यो’, उनले भने, ‘भर्खरै परेको हिउँमा रुट निर्माण गर्दा हिम पहिरो आउने संभावना रहन्छ र बनेको बाटो पनि भासिन सक्छ।’

सगरमाथा आरोहण गर्ने सबै समूहका लागि नेतृत्व गरेर काम गर्नुपर्ने भएकाले रुट निमार्ण कार्य चुनैतीपूर्ण हुने उनले बताए।

बेसक्याम्पदेखि दोस्रो सिविरसम्म जाने रुटमा अन्यत्रभन्दा धेरै हिउँ खाल्डा तथा खर्पसहरू बढी भएकाले बाटो बनाउन निकै कठिन भएको पनि बताए। उनले भने ‘दोस्रो शिविरसम्मको संरचना हरेक वर्ष परिवर्तन भइरहन्छ। यस्तै मौसम अनुमान गरेभन्दा फरक भइदिँदा पनि खतरा बढ्छ। उच्च सर्तकता अपनाएर काम नगरे ज्यान जाने सम्भावना रहन्छ।’

हरेक वर्षका वसन्त र शरद ऋतुमा सगरमाथा आरोहणका लागि रुट तयार गर्ने गरिन्छ। आरोहणका लागि खोलिने बाटोमा हिउँ थुप्रिएर अवरुद्ध हुने, खाल्टाखुल्टी पर्ने भएकाले हरेक वर्ष दुवै ऋतुमा नयाँ रुट तयार गर्नुपर्ने अवस्था आएको हो। एकपटक बनाइसकेको रुट समय समयमा मर्मत गरिरहनुपर्ने हुन्छ।

हिमाल आरोहण गर्न सहज बनाउनु नै रुट निमार्ण गर्नुको प्रमुख उद्देश्य हो। यो कार्य आईसफल डाक्टर (हिउँमा बाटो बनाउने मानिस)हरूको समूहले गर्छन्। आइसफल डाक्टरका समूहले आरोहण रुट पहिल्याउने तथा आरोहणका लागि पूर्वाधार राख्ने काम समेत गर्छन्। आरोहणको लागि रुट तयार गर्न बाटोमा भर्‍याङ राख्नेदेखि, डोरी टाँग्ने लगायतका कामहरू हुन्छन्। आइसफल डाक्टरहरूले पहिल्याएको बाटो हुँदै आरोहीहरूले शिखर चुम्ने गर्छन्। यसै कारणले गर्दा आरोहणपूर्वको यो कार्य चुनैतीपूर्ण र महत्वपूर्ण मानिन्छ। यस कार्यका लागि अनुभवी र विशेषज्ञ आरोही समूह खटिएका हुन्छन्।

यस वर्षको मार्च महिनाको पहिलो हप्तासम्ममा सगरमाथा हिमाल आरोहणका लागि १८ समूहका १ सय ५० पुरुष र २८ महिला गरी कुल १ सय ७८ आरोहीले विभागबाट सरगरमाथा हिमाल आरोहण गर्ने अनुमति लिइसकेको जानकारी विभागका अधिकृत दिपेन्द्र रेग्मीले बताएका छन्।

उनका अनुसार आरोहीहरूले १७ वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् र ती मध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिनेहरू रहेका छन्। ‘हालसम्म सबैभन्दा धेरै आरोहण शुल्क सगरमाथा हिमालबाट संकलन भएको छ। यस हिमालबाट अहिलेसम्म २४ करोड २६ लाख ९९ हजार रूपैयाँ संकलन भइसकेको छ। यो अहिलेसम्म संकलन भएको रकममध्येको ८६ प्रतिशत हो’ अधिकृत रेग्मीले भने। विभागको तथ्याङ्क अनुसार सरकारले यस वर्षको वसन्त ऋतुको मार्च महिनाको पहिलो हप्तासम्म हिमाल आरोहण बापत करिब करिब २८ करोड राजस्व संकलन गरेको छ।

पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपिसिसीले सगरमाथाको दोस्रो सिविरसम्म बाटो बनाउने काम गर्दै आइरहेको छ। एसपिसिसीले सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्म जाने बाटो तयार गरिसकेपछि सोभन्दा माथिको बाटो निर्माण गर्ने कार्य भने आरोहण व्यवसायीहरूको संयोजनामा हुने गर्छ।

प्रकाशित: २९ चैत्र २०७९ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App