काठमाडौं- भारु नोट अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु ल्याइने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त दरका भारु नोट माघको दोस्रो साताभित्र ल्याउने तयारी गरेको छ। भारतबाट सय रुपैयाँका नोट ल्याउन केन्द्रीय बैंकले एक टोली भारत पठाउने अन्तिम तयारी गरेको राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले बिहीबार नागरिकलाई बताए। 'सय रुपैयाँ दरका नोट ल्याउन टोली पठाउने अन्तिम तयारीमा छौं,' उनले भने, 'माघको दोस्रो साताभित्र १ अर्ब रुपैयाँ बराबरका भारु नोट ल्याउने छौं।'
रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले राष्ट्र बैंकलाई सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु नोट दिने भएपछि केन्द्रीय बैंकको टोली भारु नोट लिन भारत जान लागेको हो।
भारतीय प्रधानमन्त्री नरेन्› मोदीले पाँच सय र हजार दरका भारु नोट प्रतिबन्ध लगाएपछि आरबिआईले आफ्नो देशको नोट व्यवस्थापन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकलाई साना दरका भारु नोट दिन आनाकानी गर्दै आएको थियो।
भारत सरकारले पाँच सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकको थापाथलीमा अहिले भारु साट्नेको भीड लाग्ने गरेको छ। दिनहुँ भारु साट्नेको चाप बढ्दो छ। धेरै मानिसलाई सेवा उपलब्ध गराउन राष्ट्र बैंकले बढीमा २५ हजारमात्र दिने व्यवस्था गरेको छ।
अवस्था हेरी २ हजार १० हजार र बढीमा २५ हजारसम्म उपलब्ध गराउँदै आएको र्कायकारी निर्देशक अधिकारीले बताए।
'नागरिकता वा परिचयपत्र खुल्नेलाई मागेका बखत २ हजार भारु साटिदिने गरेका छौं,' उनले भने, 'घुम्न जानेलाई होटल बुक गरेको कागज, हवाई टिकट आदि ल्याउनेलाई बढीमा १० हजार भारुसम्म साटिदिने गरेका छौं।' उपचार गर्न जानेलाई डाक्टरको सिफारिसमा बढीमा २५ हजारसम्म साटिदिने गरेको पनि उनले जानकारी दिए।
सयभन्दा साना दरका भारु नोट दैनिक १ करोडभन्दा बढी साट्ने गरेको उनको भनाइ छ। अहिले तीर्थाटनको समय भएकाले तीर्थ जानेबाट धेरै रकम माग आएको छ।
राष्ट्र बैंकले उनीहरुलाई एटिएम प्रयोग गर्न सुझाव दिएको छ। 'नगद बोक्दा चोरी, हराउने र लुटिने डर हुन्छ त्यसैले मुद्राविहीन (क्यासलेस) जमाना आएको छ,' र्कायकारी निर्देशक अधिकारीले भने, 'एटिएम प्रयोगलाई बढी प्राथमिकता दिनुपर्छ।'
नेपाल राष्ट्र बैंकसँग अहिले करिब ३ अर्ब भारु नोट मौज्दात छ। वाणिज्य बैंकमार्फत पनि सर्वसाधारणलाई भारु नोट साट्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 'वाणिज्य बैंकलाई बढीमा ३ लाख भारु नोट दिने गरेका छौं,' उनले भने। नेपाल बैंकलाई सबैभन्दा बढी ३ लाखसम्म भारु नोट दिने गरेको र्कायकारी निर्देशक अधिकारीले बताए।
बैंकले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय दरका नोट साट्न कम गरेको छ। करिब दुई वर्षअघिसम्म नेपालमा ५ सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो।
भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा ५ सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो। यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ गतेे बुधबार सम्बोधन गर्दै राति १२ बजेदेखि ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए। भ्रष्टाचार र कालो धनलाई निरुत्साहित गर्न भन्दै भारत सरकारले यस्तो निर्णय गरेको थियो। ठूला दरका नोट प्रतिबन्धको असर साना दरका भारु नोट सटहीमा पनि परेको देखिएको छ।
प्रकाशित: २२ पुस २०७३ ०५:०४ शुक्रबार