३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मेलम्ची खानेपानी समिति फेरि बिउँतियो

मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युताउँने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको बैंठकले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा खारेज गर्ने भनिएको मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युँताउने निर्णय गरेको हो।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युँताउने निर्णय गरेको जानकारी दिए। ‘मन्त्रिपरिषद्को सोमबारको बैंठकले यसअघि खारेजी गर्ने भन्ने निर्णयलाई बदर गरेर फेरि मेलम्ची खानेपानी विकास समिति राख्ने निर्णय गरेको छ,’ उनले भने, ‘यो निर्णयसँगै समितिले आवश्यक निर्णय गर्ने बाटो खुलेको छ। सरकारले चालु आवको बजेटको बुँदा नम्बर १७७ मा मेलम्ची खानेपानी विकास समितिलाई खारेज गर्ने निर्णय गरेको थियो। सो समितिबाट सम्पादन हुँदै आएका कार्य खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। मन्त्रिपरिषद् बैंठकले समितिको बोर्ड सदस्य संख्यामा भने केही फेरबदल गरेको छ। यसअघि समितिको बोर्डमा पाँच सदस्यीय रहने प्रावधान रहेको थियो। तर, अहिले भने ७ सदस्यीय रहने व्यवस्था गरेको छ।

कार्यकारी निर्देशक श्रेष्ठले मेलम्चीको समिति फेरि ब्युँतिएसँगै अब वर्षायाममा पनि मेलम्चीको पानी ल्याउन आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाइने बताए। ‘समिति खारेजीमा परेकाले बोर्ड बैठकले बाह्रैमास मेलम्चीको पानी उपत्यका ल्याउने निर्णय गर्न सकिरहेको थिएन,’ उनले भने, ‘अब बस्ने बोर्ड बैठकले मेलम्चीको पानी वर्षायाममा पनि ल्याउने गरी आवश्यक संरचना निर्माणको काममा जुट्नेछौं।’

कार्यकारी निर्देशक श्रेष्ठले सो संरचना निर्माणका लागि करिब तीन महिना लाग्ने भए पनि अबको दुई महिनाभित्रै सो संरचना निर्माण गर्ने योजना रहेको बताए। ‘मेलम्ची नदीमा आएको बाढीपहिरोको कारणले मेलम्चीको पानी वर्षा याममा ल्याउन समस्या भइरहेको थियो,’ उनले भने, ‘अबको ८/१० दिनभित्रै मेलम्चीको पानी वर्षा याममा पनि ल्याउने संरचना निर्माण गर्ने विषयमा निर्णय गर्नेछौं।’

 कार्यकारी निर्देशक श्रेष्ठले मेलम्चीको नदीसँगै इन्टेकको संरचना बनाएर बाह्रैमास मेलम्चीको पानी ल्याउने तयारीमा रहेको बताए। ‘मेलम्ची नदीमा दुई वर्षअघिको जस्तो बाढीपहिरो नआएको खण्डमा इन्टेकमार्फत वर्षायाममा पनि पानी ल्याउन सकिन्छ,’ उनले भने, ‘त्यसैले करिब १० करोड रूपैयाँ खर्चेर सो संरचना निर्माण गर्न लागिएको हो।’

समितिले यो वर्षको मनसुन ढिला सुरु भएको खण्डमा आवश्यक संरचना निर्माण गर्न सकिने बताएको छ।

समिति चिनियाँ कम्पनी सिनो हाइड्रोपावरमार्फत भेरिएसनमार्फत इन्टेकलगायत संरचना निर्माण गर्ने तयारीमा जुटेको छ। मेलम्ची नदीमा आएको बाढीपहिरोको कारणले दुई वर्ष वर्षा यामको सिजनमा मेलम्चीको पानी उपत्यका ल्याउन सकिएन। गत मंसिरको तेस्रो सातादेखि मेलम्चीको पानी उपत्यकामा वितरण गरिएको थियो।

कार्यकारी निर्देशक श्रेष्ठले एसियाली विकास बैंकका विज्ञ समूहले पनि बाढीपहिरोपछि क्षतिग्रस्त मेलम्चीको विषयमा गरेको पूर्ण प्रतिवेदन नआउँदा समेत वर्षा याममा गर्ने योजनाको विषयमा केही अन्योल भएको बताए। सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा यो आयोजनामा हालसम्म ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ। मेलम्चीको सुरुङमार्ग, हेडवर्क्स लगायत पूर्वाधारमा अहिलेसम्म ३० अर्ब रूपैयाँ खर्च भइसकेको छ। सुन्दरीजलबाट उपत्यकामा खानेपानी वितरण प्रणालीलगायत संरचना निर्माणका लागि २१ अर्ब खर्च भइसकेको छ।

प्रकाशित: २२ चैत्र २०७९ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App