८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

युएसएआइडीको वित्तीय व्यवस्थापन कार्यक्रम सुरु

अमेरिकी दूतावासले युएसएआइडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ गरेको छ। नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन, युएसएआइडी–नेपालकी प्रमुख सेपिडे केभान्साडले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।  

कार्यक्रममा स्थानीय सरकारका मेयर र उपमेयरसहित मधेस प्रदेश सरकारका मन्त्री तथा सचिवको उपस्थिति थियो। दुई करोड अमेरिकी डलर (करिब २ अर्ब ६२ करोड रूपैयाँ) बजेट सहितको उक्त पाँच–वर्षे कार्यक्रमले मधेस र लुम्बिनी प्रदेशहरूमा संघीय, प्रादेशिक र स्थानीय तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउन सघाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कार्यक्रममा युएसएआइडी र सरकारले राष्ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापनसँग सम्बन्धित संस्था र प्रणालीलाई सुदृढ र उन्नत बनाउन साझेदारी गर्नेछन्। पारदर्शिता र समुदायको पैसाको संकलन, लगानी र खर्च कसरी हुन्छ भन्ने बुझाइ लोकतान्त्रिक समाज सञ्चालनमा महत्वपूर्ण हुने अमेरिकी राजदूत डिन थम्पसनले बताए। ‘लोकतन्त्र तब फस्टाउँछ जब नेताहरू नागरिकप्रति उत्तरदायी हुन्छन्,’ उनले भने।

पालिकाहरूले आफ्ना बजेटमा महिलाका आवश्यकतालाई प्राथमिकतामा राखून् भन्ने चाहेको युएसएआइडी–नेपालकी प्रमुख सेपिडे केभान्साडले बताइन्। महिलाको सिपमूलक तालिम, व्यवसायका अवसर र किशोरी तथा आमाका निम्ति शिक्षा र स्वास्थ्य कार्यक्रम पर्ने उनले जानकारी दिइन्।

अमेरिका र नेपालका सरकारबीचको यो कार्यक्रम दुई देशबिचको ७५ वर्षभन्दा बढीको मित्रतामा आधारित रहेको दूतावासले जनाएको छ। यसले महिला र अन्य सीमान्तकृत समुदायहरूको समावेशीकरणमा केन्द्रित हुँदै वित्तीय संघीयतालाई जनताको पक्षमा काम गर्न सघाउन पुर्‍याउने बताइएको छ। यो कार्यान्वयनको कार्यक्रम निजी क्षेत्रका कम्पनीहरू डेलोइट र डब्लुएसपीले जर्जिया स्टेट युनिभर्सिटी र नीति फाउन्डेसनसँग मिलेर गर्नेछन्।

प्रकाशित: १९ चैत्र २०७९ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App