८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्थतन्त्र ट्रयाकमा ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री

राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ। बजारमा पैसा अभाव छ।

व्यापार घाटा ९ खर्ब ५३ अर्ब रूपैयाँ पुगेको छ। उत्पादन र उपभोग घट्दा बजार चक्र प्रभावित छ। व्यवसायीको मनोबल खस्किएको छ। घरजग्गाको कारोबार शिथिल छ। वित्तीय संस्थाप्रतिको विश्वास घटिरहेको छ। सार्वजनिक ऋण बढिरहेको छ। मुद्रास्फिीति ७.८८ प्रतिशत पुगेको छ। सेयर बजार खस्किएको छ। आर्थिक वृद्धिको लक्ष्य निराशाजनक छ। मुलुकको अर्थतन्त्र मन्दीतर्फ उन्मुख छ।

यी चुनौतीबीच नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन्। यसअघि ऊर्जा र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका महत अर्थतन्त्रलाई ट्र्याकमा ल्याउनुपर्ने दबाबमा छन्। अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महतसँग राष्ट्रिय योजना आयोगमा बसेर काम गरेको अनुभव छ।

अर्थतन्त्रका बाह्य सूचक सन्तोषजनक रहे पनि आन्तरिक पक्ष अप्ठेरोमा रहेका बेला आम रूपमा आशा जगाएर अर्थतन्त्रका सूचकमा सुधार ल्याउन सक्छन् कि सक्दैनन् महतको अग्निपरीक्षा सुरु भएको छ। राजस्व बढाउने, निजी क्षेत्रको विश्वास जितेर आशा जगाउने, वित्तीय संस्थाप्रति विश्वास बढाउने, पुँजीगत खर्च बढाउने, ब्याजदर घटाउने, अन्तर्राष्ट्रिय दातृ निकायलाई विश्वासमा ल्याउने, मुद्रास्फिीति घटाउने, आर्थिक वृद्धिदर बढाउने जिम्मेवारी महतको काँधमा आएको छ। सार्वजनिक वित्तको सन्तुलन कायम गर्नुपर्ने छ। त्यसैगरी आन्तरिक उत्पादन बढाउने, व्यापार घाटा घटाउने, विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रको विश्वास जितेर उत्साहित पार्नुपर्ने दायित्व महतमा छ।

अर्थमन्त्री हुनासाथ महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर अर्थतन्त्रलाई कसरी ट्र्याकमा ल्याउन सकिन्छ भनेर छलफल गरेका छन्। नेकपा एमाले नेतृत्वको सरकार हुँदा नियुक्त भएका गभर्नर अधिकारीलाई विश्वासमा लिएर काम गर्नुपर्ने दबाब उनीमाथि छ। उनले निजी क्षेत्रका छाता संस्थाका अध्यक्षलाई फोन गरेर सहकार्य गर्ने सन्देश दिएका छन्। त्यतिले मात्र निजी क्षेत्रको मनोबल बढ्ने अवस्था छैन। अबको अर्थतन्त्रको स्थिति सरकारले लिने आर्थिक नीतिमा भर पर्छ। त्यसका लागि अर्थ मन्त्रालयको मात्र होइन, नेपाल राष्ट्र बैंकको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

जटिल अवस्थामा रहेको अर्थतन्त्रलाई सही ढंगले अघि बढाउने मामिला सरकारले लिने नीतिमा निर्भर रहने अर्थविज्ञ बताउँछन्। अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले सही नीति लिनुपर्ने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन्। ‘अर्थतन्त्रमा देखिएका समस्या सबै बाहिर आएका छन्,’ पाण्डेले भने, ‘प्रचारमुखीभन्दा परिणाममुखी भएर काम गर्नुपर्छ।’

सबैसँग सल्लाह लिएर काम गर्नुपर्ने उनको सुझाव छ। पुँजीगत खर्च बढाउने, चालु खर्च घटाउने, ब्याजदर बढाउने, विदेशी सहायता र अनुदानको रकम खर्च गर्नुपर्ने पाण्डेको सुझाव छ। ‘राजस्वले खर्च धान्न नसकेकाले चालु खर्चमा निर्मम भएर घटाउनुपर्छ,’ पाण्डेले भने, ‘पुँजीगत खर्च बढाउन सके बजारमा पैसाको सर्कुलेसन भएर उपभोग बढ्छ। त्यसले अर्थतन्त्रलाई चलायनमान बनाउँछ।’ सरकारले पर्यटन प्रवर्द्धन गरेर, बिजुली बिक्री गरेर, विदेशी अनुदान लिएर र ऋण बढाएर विदेशी मुद्रा बढाउनुपर्ने उनले बताए। ‘विदेशी मुद्रा बढे आयात पनि बढ्छ,’ उनले भने, ‘त्यसबाट राजस्वमा सुधार आउँछ।’

अर्थतन्त्रबारे जानकार मन्त्री आएकाले इमानदारी र नैतिकतालाई आत्मसात् गरेर काम गरे सुधार हुन सक्ने अपेक्षा मुलुकले राखेको अर्थविद् डा. अच्युत वाग्लेले बताए। ‘अर्थमन्त्री समस्या र विषयवस्तुबारे जानकार हुनुहुन्छ,’ उनले भने, ‘अबको अर्थतन्त्र कस्तो हुने भन्ने विषय उहाँको इमानदारी र नैतिकतामा भरपर्छ।’

उनले सरकारले खर्च बढाउनुपर्ने सुझाव पनि दिए। साढे आठ महिनामा सरकारको पुँजीगत खर्च २५.२ प्रतिशत मात्र छ। ‘पुँजीगत खर्च बढाउनुपर्छ,’ अर्थविद् वाग्लेले भने, ‘खर्च बढ्दा बजारमा पैसा आउँछ ।’ बजारमा पैसा आएपछि उपभोग, उत्पादन, आयात, राजस्व बढ्ने भएकाले त्यसतर्फ सरकारकोे ध्यान जानुपर्ने उनले बताए। मौद्रिक नीतिमा देखिएका समस्या समाधान गर्ने र विपन्न वर्गलाई दिने कर्जा बढीमा ८ प्रतिशतभन्दा बढी हुन नहुने उनले बताए।

मुलुकको व्यापार घाटा कम गर्न, राजस्व बढाउन नेपालमा उत्पादन भएर बजारसम्म नआएका कृषिजन्य वस्तुको आपूर्ति सञ्जाल तयार गर्नुपर्ने वाग्लेको सुझाव छ। ‘स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ,’ उनले भने, ‘औद्योगिक क्षेत्रका समस्या पनि समाधान गर्नुपर्छ।’

तरलता अभाव र कर्जा प्रवाहमा संकुचनले बजारमा पैसा अभाव देखिएकाले यो समस्या समाधानमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ।

शुक्रबार पदभार ग्रहण गरेका अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

‘व्यक्तिगत लाभ र हानिभन्दा पनि अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने गरी काम गर्नुपर्ने छ,’ महतले पद बहाल गरेपछि भने, ‘अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनुपर्छ।’

राजस्वले चालु खर्च धान्न नसकेकाले राजस्व बढाउने गरी सुधार गर्नुपर्ने धारणा उनले राखे। उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्नेमा पनि उनले जोड दिए। साधारण खर्च धान्न आन्तरिक ऋण लिनुपरेकोमा महतले चिन्ता व्यक्त गरे। सेयर बजार, वित्तीय संस्थामा देखिएको समस्या समाधान गर्न पनि पहल गर्नुपर्ने बताए।

प्रकाशित: १९ चैत्र २०७९ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App