१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘फाइनल लोकेसन सर्वे’ प्रतिवेदन एक महिनाभित्रै

काठमाडौं रक्सौल रेलमार्ग

भारतीय कम्पनीले एक महिनाभित्रै रक्सौल–विरगन्ज–काठमाडौं रेलमार्गको विस्तृत फाइनल लोकेसन सर्वे रिपोर्ट बुझाउने भएको छ।

कोंकण रेलवे कर्पोरेसन लिमिटेडले रक्सौल–काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्वेसम्बन्धी अध्ययन गरेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भारतीय कम्पनी कोेंकण रेलवेले रक्सौल–काठमाडौ रेलमार्गको विस्तृत सर्वे लोकेसन प्रतिवेदन एक महिनाभित्रै बुझाउने बताए। ‘भारतीय कम्पनीले एक महिनाभित्रै रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत सर्भे प्रतिवेदन बुझाउने प्रतिवद्धता व्यक्त गरेका छन्,’ उनले भने ‘प्रतिवेदन आएसँगै आवश्यक प्रक्रिया अघि बढ्नेछ।’

रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले भारतीय कोंकण रेलवे कर्पाेरेसनले प्रतिवेदन तयार पारेर स्वीकृतिको लागि भारतीय रेलवे कम्पनीमा पठाएकाले छिट्टै प्रतिवेदन प्राप्त हुने बताए। ‘कोंकणका प्रतिनिधिले सो प्रतिवेदन तयार पारेर स्वीकृतिको लागि भारतीय रेल्वे बोर्ड समक्ष पेश गरेको बताएका छन्,’ उनले भने ‘सम्भवत् बोर्डले स्वीकृत गर्ने बित्तिकै सो प्रतिवेदन प्राप्त गर्न सकिएला।’

महानिर्देशक बिसुरालले प्रतिवेदन प्राप्त भएसँगै रक्सौल काठमाडौं रेलमार्ग निर्माणका लागि कुन मोडालिटी र स्रोत व्यवस्थापन गर्ने विषयको टुंगो लाग्ने बताए। ‘प्रतिवेदनले पक्कै पनि रक्सौल काठमाडौं रेलमार्गको प्राविधिक पक्षको विषयमा स्पष्ट मार्गचित्र प्रस्तुत गर्नेछ,’ उनले भने ‘सोही प्रतिवेदनको आवश्यक अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाइनेछ।’

२०७८ सालमा भारत–नेपाल संयुक्त कार्यदलको पाँचौं बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारी र भारतीय पक्षबीच बिहीबार नयाँदिल्लीमा (फाइनल लोकेसन सर्वे) समझदारीपत्रमा हस्ताक्षर भएको थियो। कोंकण रेलवे कर्पोरेसन लिमिटेडले यो रेलमार्ग ब्रोडगे्रेज प्रविधिमा आधारित सम्भाव्यता अध्ययन गरेको हो।

काठमाडौं रक्सौल रेलमार्गको औषतमा दूरी १३६ किलोमिटरको हुने प्रारम्भिक अध्ययनले देखाएको छ। प्रस्तावित यो रेलमार्ग विरगन्जको सुक्खाबन्दरगाहबाट सुरु भएर जितपुर–प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, चण्डिकापुल–सिस्नेखोला हुँदै चोभारमा आएर टुंगिनेछ। रेल विभागले यो खण्डमा पहाडै पहाड र पुल तथा नदीनाला भएकाले डिपीआर अध्ययन गर्न छिटोमा एकदेखि डेढ वर्ष लाग्ने बताउँदै आइरहेका छन्।

रेल विभागका अनुसार यो खण्डमा ४२ किलोमिटर सुरुङमार्ग र ४० देखि ४५ वटा रेलका लागि ठूला खालका पुल निर्माण गर्नुपर्ने देखाउँछ। भारतीय रेल अहिले विरगन्जसम्म आइपुगिसकेको छ। भारत सरकारले काठमाडौं रक्यौल रेलमार्गको फाइनल लोकेसन सर्वेको खर्च पनि भारतीय पक्षले बेहोर्दै आइरहेको छ।

विभागका अनुसार यो सडकखण्डमा रेलमार्गको अध्ययन गराउन करिब ७० करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृृत्वको मन्त्रिपरिषद्कोे २०७७ फागुन २५ गते बसेको बैठकले काठमाडौं रक्सौलसम्मको ब्रोडगेज रेलमार्ग निर्माणको आवश्यक कार्य अगाडि बढाउनको लागि नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरिसकेको छ।

अन्य रेलमार्गको पनि काम अघि बढ्दै

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवको हालसम्मको अवधिमा बर्दिवास निजगढ खण्डमा २ किलोमिटर लम्बाइको रेलको ट्र्याकबेड तयार भएको छ। त्यसगरी बाग्मती र जंघा नदीमा दुई वटा रेल्वे पुल समेत तयार भइसकेको छ। रौतहट जिल्लामा पर्ने वन क्षेत्रको रुख हटाउने कार्य साढे दुई वर्षपछि सुरु भएको छ।

भारतको बथनाहादेखि विराटनगरसम्म मालवाहक रेल सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको छ। कुर्था विजलपुरा खण्डको निर्माण सम्पन्न भई रेल सेवा सञ्चालनको तयारी भइरहेको मन्त्रालयले जनायो। बिजलपुरा–बर्दिबासखण्डको रेखांकनमा जग्गा अधिग्रहण कार्यको समस्या समाधान भई मुआब्जा वितरण सुरु भएको छ। यो खण्डको ७ विघा जग्गाको मुआब्जा वितरणको कार्य भइरहेको छ।  

प्रकाशित: १६ चैत्र २०७९ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App