७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखराका पर्यटन व्यवसायी भन्छन्ः खर्च धान्न सक्ने अवस्था रहेन, पलायनको जोखिम बढ्यो

व्यवसायमा ‘आहा !’ भन्ने अवस्था छैन

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड। आर्थिक अवस्था कमजोर हुँदै जाँदा यहाँका पर्यटन व्यवसायी पलायनको बाटोमा छन्। तस्बिरः नागरिक

पोखराको पुरानोमध्येको ब्लुस्काई टाभल्स एण्ड टुर्सले कुनैबेला ६ वटा ठुला आकारका पर्यटक बस संचालन गर्दथ्यो। पोखरा–काठमाडौं, काठमाडौं–चितवन र पोखरा–चितवन रुटमा दोहोरो बस संचालन गर्दै आएको यो कम्पनिसँग अहिले जम्मा दुइवटा मात्र बस छन्। संचालक केदार शर्माले अरु चारवटा बस बिक्री गरिसकेका छन्।  

कोरोना संक्रमण सुरु भएपछि मात्र ब्लुस्काईका संचालक शर्माले दुइवटा बस बिक्री गरेका। कोरोना संक्रमण सुरु हुनुअघि बिक्री भएका दुइवटा बसको साटोमा नयाँ किन्ने योजना बनाउँदै गर्दा सक्रंमण फैलिएपछि शर्माले गाडी थप्न पाएका थिएनन। कोरोनाकालमा थप नोक्सान बढेपछि अरु दुइवटा बस शर्माले बेचेका थिए। बचेका दुइवटा बस पनि नियमित रुपमा संचालन गर्ने अवस्था नरहेको शर्मा बताउँछन्।  

‘व्यवसाय पटक्कै छैन। मझौला खालका हामी व्यवसायीलाई आर्थिक सकस परेको छ। यस्तै अवस्था रहिरहने हो भने मझौला आकारका व्यवसायी अझै मारमा पर्नेछौ,’ शर्माले भने, ‘ठुला व्यवसायीलाई पनि सकस त छ। तर, उनीहरु खुल्न नसकेका हुन्। अब एकैपटक हात उठाउने अवस्था आउने देखिएको छ।’ शर्माका अनुसार आर्थिक रुपमा पर्यटन क्षेत्र दिनप्रतिदिन ओरालो लाग्दै आएको छ। विदेशी पाहुना भित्रिएका छैनन भने आन्तरिक पाहुनाको यात्रा पनि कमजोर हुँदै गएको छ।

व्यवसायिक प्रतिश्पर्धा बढ्दै जानु, पहिलेकै गुणस्तर कायम गर्न नसक्नु, बजारीकरणमा कमजोर हुनु, बित्तिय संस्थाको ब्याजदर बढ्नु, पहुँचमा समस्या थपिनु, कोरोनाको मार बारम्बार बल्झिनु, पर्यटनमैत्री नीति नआउनु लगायतका कारणले साना र मझौला व्यवसायीलाई अहिले खर्च धान्न समेत मुस्किल भएको उनले सुनाए। ‘विदेशी पाहुनाको आकार गतिलो तरिकाले नबढ्ने र बित्तीय क्षेत्रमा सुधार नहुने हो भने धेरै व्यवसायीले पलायनको बाटो रोज्नेछन। पलायनको थालनी भएको छ, अबको एकवर्षमा धेरै व्यवसायीले मार खेप्नेछन,’ उनले भने।  

झन्डै अढाईदशकदेखि टुर र ट्राभलका अनुभवि शर्माका अनुसार कोरोना अघि पोखरा–काठमाडौं रुटमा मात्र दिनमा दुइदर्जन बढी पर्यटक बस गुड्ने गरेकोमा अहिले बढीमा १० वटा मात्र चल्दै आएका छन्। ती बसमा पनि पर्याप्त यात्रु छैनन। कोरोना अघि दिनहुँ संचालन हुने गाडी अहिले आलोपालो गरेर वा कहिलेकाँही यात्रु ‘मर्ज’गरेर पनि संचालन गर्ने गरिएको उनले सुनाए। ‘मझौला व्यवसायी आर्थिक रुपमा सकसमा छन। पलायनको खतरा बढ्दैछ,’ उनले भने।  

अर्का पर्यटन व्यवसायी बिजय गुरुङ पनि पर्यटकीय क्षेत्रको व्यवसाय सकसपूर्ण अवस्थामा रहेको बताउँछन्। गुरुङले पोखरा र काठमाडौंमा पिज्जा हाउस रेस्टुरेन्ट चलाएका छन्। काठमाडौंमा आन्तरिक ग्राहकको भरमा व्यवसायले राम्रो कमाई दिएपनि पोखरामा विदेशी पाहुना नहुँदा व्यवसायले गति लिन नसकेको उनी बताउँछन्।  

‘पोखराको लेकसाइडको ब्यापार थेग्न सक्ने अवस्थामा छैन। व्यवसायमा ‘आहा !’ भन्ने अवस्था छैन,’ गुरुङले भने, ‘पोखराका व्यवसाय कसरी धान्ने भन्ने मात्र चिन्ता छ। त्यो चिन्ता काठमाडौंको व्यवसायमा कम छ। किनकी काठमाडौंबासी ग्राहकको भरमा पनि व्यवसाय धानिएको छ।’ उनका अनुसार पर्यटकीय क्षेत्र भएकोले पोखरामा विदेशी पाहुना शुन्य त कहिल्लै हुँदैनन, जबकी कोरोनाको त्रासमा पनि पोखरामा धेरथोर विदेशी थिए, तर विदेशी पाहुनाको त्यो सानो संख्याको भरमा व्यवसाय धान्न सकस भएको उनले बताए।  

‘पर्याप्त विदेशी र आन्तरिक पाहुना आउने हो भने मात्र व्यवसाय टिकाउन सकिन्छ, नत्र त झनै सकसपूर्ण अवस्था आउनेछ,’ उनले भने, ‘कोरोना संक्रमण कमजोर भएपछि जुन रुपमा पाहुना हुनुपर्ने हो, त्यो हुन सकेन, पाहुनाविहीन नै भन्ने होईन, तर, यो आकार हाम्रो व्यवसायका लागि पर्याप्त होईन।’ पर्यटनको यही गति हुने हो भने धेरै व्यवसायीको उठिबास लाग्ने उनले बताए।  

व्यवसायी शर्मा र गुरुङले भने झैं पछिल्लो समय पोखराको पर्यटनको आकार पहिले भन्दा साँघुरिएको छ, जसले आर्थिक रुपमा पर्यटन व्यवसायीमाथि भार थोपरेको छ। आर्थिक भार थपिँदै जाँदा व्यावसायीले व्यवसायबाटै पलायनको बाटो रोज्ने संकेत देखिएको उनीहरु बताउँछन्। भएको घरजग्गा बेचेर भएपनि ऋण तिर्नुपर्ने अवस्था आउन थालेको व्यवसायीको भनाई छ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष हरिराम अधिकारी पछिल्लो केही समयदेखि व्यवसायी आर्थिक रुपमा कमजोर रहेको भएपनि अब भने त्यो संकटबाट पार पाउनेमा आशावादी रहेको बताउँछन्। सानातिना मात्र नभई ठुला व्यवसायी पनि आर्थिक रुपमा सकसपूर्ण अवस्थामा रहेको, तर त्यो झट्ट बाहिर नआउने हुनाले मात्र नदेखिएको उनले बताए। ‘ठुला व्यवसायीलाई ठुलै सकस छ, साना र मझौलालाई त्यही आकारको अप्ठेरो हो,’ उनले भने, ‘व्यवसायी अप्ठेरोमा परेकोमा दुइमत छैन, तर, अब भने केही हुन्छ की भन्ने आशा पलाएको छ।’

पछिल्लो समय चिनियाँ पर्यटक आउने संकेत देखिएपछि व्यवसायीलाई केही अधार पलाएको उनले बताए, ‘केही त बिस्थापित पनि भइसके, अहिलेसम्म जसोतसो थामिएका व्यवसायी अब धानिनसक्ने देखिएको छ। किनकी चिनियाँ पर्यटकका लागि बाटो खुलेको छ, अरु मुलुकका पाहुना पनि आउन थालेका छन, सिजनको बुकिङ अनुसार साच्चै पाहुना आउने हो भने व्यवसायीलाई राहत हुनेछ, नत्र भने अझै आर्थिक भार थपिनेछ,’ उनले भने।

व्यवसायीलाई सबैभन्दा बढी सकसपूर्ण अवस्था बैंक तथा वित्तीय संस्थाको ब्याजदरले थपिदिएको उनी बताउँछन्। ‘दोब्बर आकारमा ब्याजदर बढ्यो, व्यवसायीले धान्नै सकेनन,’ उनले भने, ‘सोचे अनुसार पाहुना पनि आएनन, कमाई भएन । अबको सिजनमा पाहुना आउने हो भने अहिलेको सकस कम हुनेछ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष गोपि भट्टराई व्यवसायीले पीडा दवाएर राखेको भएर मात्र बाहिर कम देखिएको, तर, भित्रभित्र जटिल अवस्था रहेको बताउँछन्। ‘जटिल अवस्था नै आएको छ। विकसित मुलुकको आर्थिक अवस्था त कमजोर भएको छ। यहाँका व्यवसायी त झनै मारमा छन,’ भट्टराई भन्छन, ‘व्यवसायी बचाउने खालको सरकारी नीति छैन। व्यवसायी बचाउनका लागि कसैले पहल गरेन। कर तिर्ने व्यवसायीलाई बचाउने खालको नीति नै भएन।’

उनका अनुसार अहिले आर्थिक रुपमा कमजोर बनेका व्यवसायी सापटीको भरमा चलेका छन्। ‘सापटी र सहकारीबाट ऋण लिएर चलेको व्यवसाय अब धान्न सकिन्न। धेरै व्यवसायीले व्यवसाय नै बन्द गर्नेगरि भित्रभित्र बिक्रीका लागि बार्गेनिङ गरिरहेका छन्,’ उनले भने, ‘जसोतसो जोडेको सम्पत्ति नै बेच्नुपर्ने अवस्था आएको छ।’ पर्यटन क्षेत्रमा यो अवस्था आउनुमा सबैभन्दा ठुलो समस्या नै पाहुनाको पहुँचमा भएको उनले बताए। पहुँचको समस्यासँगै राजनीतिक अस्थिरताले गर्दा पनि सोचेजति पाहुना आउन नसकेको उनले बताए। ‘व्यवसायमैत्री सरकार हुन सकेन। मध्यमस्तरका व्यवसायीसँग त धितो राख्ने सम्पत्ति पनि छैन,’ उनले भने, ‘कतैबाट पनि सहयोग नपाएपछि व्यवसायी निराश छन्। व्यवसायी पललायनले गति लिएको छ।’  

प्रकाशित: २ चैत्र २०७९ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App