२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

पदयात्रा रुटमा बढ्दैछ विदेशी पदयात्रीको चहलपहल

उकासिँदै पदयात्रा क्षेत्र

अन्नपूर्ण आधारशिविर (एबिसी) मा पुगेका पदयात्री। तस्बिर सौजन्यः दिलीप गुरुङ

लामो समयदेखि सुस्ताएको पदयात्रा क्षेत्रले बिस्तारै गति लिन थालेको व्यवसायीले बताएका छन्। अन्नपूर्ण पदयात्रा क्षेत्रका रुटमा अहिले विदेशी पाहुना बढ्न थालेका छन्। विदेशी पदयात्री पुगेसँगै पदयात्रा क्षेत्रमा चहलपहल बढेको छ। लामो समयसम्म सुस्ताएको पर्यटन क्षेत्र पदयात्री बढेसँगै व्यवसायी उत्साही बनेका छन्।  

अन्नपूर्ण फेरोको पदयात्रा रुटमा पर्ने मनाङमा अहिले दिनमा कम्तिमा पनि ५० जना विदेशी पदयात्री पुगेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का मनाङस्थित संरक्षण अधिकृत लेखनाथ गौतमले अहिले दिनमा ५० देखि ६५ जनासम्म विदेशी पदयात्री मनाङ प्रवेश गरेको बताए।

‘दिनमा कम्तिमा ५० जना विदेशी पदयात्री आइरहेका छन्। यो आकार सिजनको सुरुवाती चरणको हो,’ गौतमले भने, ‘पदयात्राको सिजन सुरु भएकोले पनि आकार सानो देखिएको हो। यो आकार आगामि महिनासम्म बढिरहन्छ।’ अन्नपूर्ण फेरोको यो पदयात्रा रुटमा फेबु्रअरी मध्यदेखि मात्र विदेशी पदयात्री बढ्न थालेका थिए। त्यसअघि पदयात्रा क्षेत्रमा निकै नै कम आकारमा पाहुना थिए। पदयात्रामा गएका अधिकांश पदयात्री थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ निस्किने गरेको उनले बताए। कतिपय पदयात्री भने मनाङबाटै फर्किन्छन।

पर्यटकीय सिजन सुरु भएकोले पनि अहिले सानो देखिएको आकार आगामि दिनमा बढ्दै जाने अपेक्षा रहेको गौतमले बताए। पर्यटन व्यवसायीका अनुसार पदयात्रा क्षेत्रमा मार्च–अप्रिललाई पदयात्राको मुख्य सिजन मानिन्छ। यो बेला पदयात्रा रुटमा पर्यटकको भीडभाड हुने गर्छ। 

उनका अनुसार कोरोना भाइरस संक्रमण सुरु भएपछि अघिल्लो सेप्टेम्बर–अक्टोवरमा दिनमा ३ सय जनाजति पदयात्री मनाङ पुगेका थिए। त्यो आकार अहिलेको सिजनमा पुग्नसक्ने अनुमान रहेको उनले बताए। ‘बल्ल सिजन सुरु भएको छ। पदयात्री आउनेमा विश्वस्त छौ,’ उनले भने, ‘पदयात्राको खास समय अझै बाँकी छ। त्यसैले आकार बढ्नेछ।’

अन्नपूर्ण क्षेत्रको अन्नपूर्ण आधारशिविर (एबिसी) पदयात्रामा पनि पछिल्लो समय विदेशी र केही आन्तरिक पाहुना पुग्न थालेका छन्। अन्नपूर्ण आधारशिविर पदयामा पर्ने माछापुच्छ«े आधारशिविर (एमबिसी)का व्यवसायी दिलीप गुरुङका अनुसार अहिले दिनमा कम्तिमा एकसय जना विदेशी पदयात्री एबिसी उक्लेका छन्। त्यस्तै ४०–५० जनाजति आन्तरिक पाहुना पनि आधारशिविरसम्म उक्लेका छन्। ‘दिनमा कम्तिमा १ सय ५० जना पाहुना अहिले आधारशिविर आइरहेका छन्,’ गुरुङ भन्छन, ‘पछिल्लो दुईसातादेखि पदयात्रा रुटमा पदयात्री बढेका छन्। यो आगमन अब बिस्तारै उकालो लाग्ने अपेक्षामा छौ।’  

यो वर्ष समयमा हिउँ नपरेपनि पदयात्री भने उक्लिन थालेको उनले बताए। ‘मे सम्म पदयात्री बढ्ने सिजन हो। अहिलेसम्मको आगमन कमजोर रहेकोमा अब भने बिस्तारै उकालो लाग्ने संकेत देखिएको छ,’ उनले भने, ‘सेप्टेम्बर–अक्टोबर पनि तुलनात्मक रुपमा कमजोर रहेको सिजन थियो। त्यसपछि पनि आगमन उकासिन सकेको थिएन। तर, अहिले पाहुना बढेको देख्दा आगमन बढ्नेमा हामी आशावादी छौ।’

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी च्याप्टरका अध्यक्ष धर्मराज पन्थीले पनि पदयात्रा क्षेत्रमा केही चहलपहल बढ्न थालेको बताए। पोखरामा विदेशी पाहुनाको उत्तिसारो भीडभाड नदेखिएपनि पदयात्रा क्षेत्रमा भने चहलपहल थपिँदै गएको उनले बताए। ‘पदयात्राको सिजन मार्च–अप्रिल हो। अब पदयात्रा क्षेत्रमा विदेशीको चहलपहल बढ्ने अपेक्षा छ। पदयात्राका लागि उपयुक्त सिजन सुरु भएकोले पनि पाहुना आउनेमा आशावादी छौ,’ उनले भने।  

उनका अनुसार पछिल्लो समय पदयात्रीको कतिपय समूह काठमाडौंबाट सिधै पदयात्रा क्षेत्रमा जान थालेकोले पनि पोखरामा उत्तिसारो भीडभाड नदेखिएको हो। ‘कतिपय कम्पनिले राजधानीबाट सिधै पदयात्रा क्षेत्रमा पाहुना पठाउँछन्। स्थल र हवाईमार्गको पहुँचका कारण अहिले सबै पाहुना पोखरा बस्दैनन। बरु पदयात्राबाट फर्केपछि पोखरामा एकरातको बसाई हुने गरेको छ,’ उनले भने, ‘पहुँचमा सहजता भएकोले पनि पदयात्रा सुरु हुने गन्तव्यसम्म पुग्न सहज भएको छ।’ यो बेलाको मौसम राम्रो हुने भएकोले पनि पदयात्रामा विदेशी पाहुनाको आकर्षण बढ्ने उनले बताए।  

प्रकाशित: ३० फाल्गुन २०७९ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App