काठमाडौं- बजारमा ग्यासको माग वृद्धि हुँदै गएपछि ग्यास उद्योगीले पनि क्षमता बढाउँदै लगेका छन्। उद्योगले पूर्वाधारसहित 'सिलिन्डर फिलिङ'को क्षमता बढाउन लागेका हुन्। इन्डियन आयल निगम (आइओसी)का विभिन्न रिफाइनरीबाट तरल ग्यास ल्याएर यहाँका प्लान्टमा भरेर बेच्दै आएका उद्योगीले लगानीसँगै बढाइरहेका छन्।
नेपाल ग्यासले करिब ५० करोड रुपैयाँको लगानीमा ८७ टनबाट १ हजार टन पुर्याउन लागेको छ। एकैपटक ९ सय १३ टन क्षमता बढाउने काम अन्तिम चरणमा पुगेको नेपाल ग्यासका प्रबन्धक राजेन्द्र दंगालले बताए। 'बजारलाई व्यवस्थित गरे सेवा क्षेत्र विस्तार गर्न क्षमता बढाउन लागेका हौं,' दंगालले भने। अहिले दैनिक ५ हजार सिलिन्डर भर्दै आएकोमा ६ गुणा बढाएर करिब ३५ हजार सिलिन्डर भर्न सक्ने बनाउन लागेको हो। 'भण्डारण क्षमतासँगै सिलिन्डर भर्ने क्षमता बढाउन लागेका हौं,' उनले भने। सिलिन्डर टेस्ट गर्ने, सिल लगाउने, प्लास्टिक क्याप लगाउने अटोमेटिक मेसिनसहित नयाँ प्रविधि अनुसरण गरेको कम्पनीले जनाएको छ।
स्वचालित फिलिङ प्रविधि ल्याएपछि अब एकै दिनमा ३६ हजार ग्यास सिलिन्डर भर्न सक्ने गरी बोटलिङ प्लान्टको क्षमता बढाएको हो। 'विगतमा दिनमा ५ हजार सिलिन्डर भर्ने क्षमता थियो,' प्रबन्धक दंगालले भने, 'स्वचालितमा गएसँगै आठ घन्टामै १२ हजार सिलिन्डर भर्न सक्ने बनाएका छौं।'
कम्पनीले नेपालमै सबैभन्दा ठूलो क्षमताको स्टोरेज बनाउन लागेको छ। करिब एक महिनालाई पुग्ने गरी क्षमता बढाउन लागेको हो। खुला ठाउँमा ट्यांकमा तरल ग्यासभण्डारण गर्दै आएकोमा अहिले पूर्ण सुरक्षा मापदण्ड अपनाएको उनले बताए। सरकारले ग्यास आपूर्ति बढाएर मागको आधारमा ग्यास दिई बजारमा अभाव हुन नदिने कम्पनीले जनाएको छ।
पछिल्लो समय कोसी, सगरमाथा, गृहलक्ष्मी, बुटवल, श्री ग्यास लगायतदर्जनौं कम्पनीले क्षमता बढाइरहेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार ग्यास उद्योगले करिब ४ हजार मेटि्रक टन क्षमता बढाउँदै छन्। करिब ६ हजार मेटि्रक टनबाट बढाएर १० हजार ५ सय टन पुर्याउन लागेको संघका अध्यक्ष शिव घिमिरले बताए। 'केही उद्योगले फिलिङ र भण्डारण क्षमता बढाइसकेका छन्,' घिमिरेले भने, 'दजनौं उद्योले लगानी बढाउँदै धमाधम पूर्वाधारसहित भण्डारण वृद्धिको काम गरिरहेका छन्।' घिमिरेका अनुसार करिब २ अर्ब रुपैयाँभन्दा बढी लगानी बढाएका छन्।
उद्योगले सुरक्षाका मापदण्ड, फायर फाइटिङसहित पूर्वाधार समेत थप गरिरहेका छन्। 'ग्यास प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गइरहेको छ,' अध्यक्ष घिमिरेले भने, 'बजारमा ग्यासको सहज आपूर्ति गर्न दर्जनौं उद्योगले क्षमता बढाइरहेका छन्।' संघका अनुसार अहिले ७८ लाख सिलिन्डर बजारमा छन्।
त्यसैगरी ५० मेटि्रक टन क्षमताको कोसी ग्यास, विराटनगरले तीन गुणा वृद्धि गरेर २ सय मेटि्रक टन पुर्याएको छ। २२ करोड रुपैयाँभन्दा बढी खर्च गरेर उद्योगको क्षमता बढाएको कोसी ग्यासका प्रबन्धक डिल्लि ढकालले बताए। 'भण्डारणसहित फिलिङ क्यापासिटी बढाएका छौं,' ढकालले भने, 'अहिले ग्यास पाए दैनिक १३ हजार सिलिन्डर भर्न सक्छौं।' कोसी ग्यासको बजारमा करिब ५ लाख ५६ हजार सिलिन्डर छन्।
अहिलेसम्म ५३ उद्योगको करिब साढे ६ हजार भण्डारण क्षमता रहेको नेपाल आयल निगमले जनाएको छ। 'ग्यास उद्योगलाई फिलिङ र भण्डारण क्षमता बढाउन अनुमति चाहिँदैन,' निगमका एलपिजी विभागका निर्देशक दीपक बरालले भने, 'क्षमता बढाएपछि मात्र जानकारी दिने भएकोले यकिन तथ्यांक छैन।'
जाडो सिजनमा करिब २७देखि ३० हजार मेटि्रक टनसम्म ग्यास खपत हुने गरेको छ।पोखरामा रहेको गृहलक्ष्मी ग्यासले पनि बजार विस्तार गर्न १ सय १० टनबाट २ सय ५० टन पुर्याउन लागेको कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाले बताए ।'दैनिक ५ हजार सिलिन्डर भर्न सक्ने बनाउँदै छु,' उनले भने, 'बजार विस्तार गर्ने योजना छ।'
नेपाल आयल निगमले पनि उद्योगीको माग अनुसार मासिक रुपमा आइरहेको करिब २८–३० हजार मेटि्रक टनको कोटा बढाउन आइओसीसँग अनुरोध गरिसकेको छ। आइओसीमा बरौनी, हल्दिया, कर्नाल, मुथरा रिफाइनरीबाट ग्यास आयात गर्दै आएकोमा पछिल्लो समय पारादीप रिफाइनरीबाट पनि ग्यास ल्याउने प्रबन्ध मिलाएको छ।
भारतको नाकाबन्दीका बेला ग्यास अभाव भएपछि क्षमता बढाउने विषय व्यापक उठेको थियो। संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पनि क्षमता बढाउन पटकपटक निर्देशन दिएको थियो।उद्योगीमात्र नभएर सरकारी पक्षबाट पनि ग्यास भण्डारण गर्ने तयारी भइरहेको छ। अहिलेसम्म मुलुकमा निजी क्षेत्रद्वारासञ्चालित ग्यास उद्योगमात्र छन्।
प्रकाशित: ५ मंसिर २०७३ ०५:२१ आइतबार