५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

लागतभन्दा कम मूल्यमा उखु बेच्न बाध्य रौतहटका किसान

रौतहट– उखु उत्पादक महासंघ र चिनी उत्पादक संघबीच उखुको मूल्य तोक्ने वार्ता असफल भएपछि रौतहटका किसानले कौडीको भाउमा उखु बेच्न थालेका छन् । चिनी उद्योगले किन्ने मूल्यभन्दा आधा घटीमा किसानहरुले सख्खर उद्योगहरुलाई उखु बेच्न थालेको देखिएको छ ।

रौतहटको सुन्दरपुरमा एक दर्जनभन्दा बढी सख्खर उद्योगहरुले कात्तिकको पहिलो हप्तादेखि नै उखुको मूल्य प्रति क्वीन्टल तीन सय रुपैया तोकेर किनिरहेको छ । पन्ध्र किलोमिटर टाढादेखि किसानहरु आफ्नो खेतको उखु सख्खर उद्योगहरुलाई पु¥याइरहेको महम्मदपुरका उखु किसान मौजेलाल राय यादव बताउँछन् ।

गत दुई आर्थिक वर्षको उखुको मूल्य चिनी उद्योगबाट किसानहरुले नपाएको हुनाले गत वर्ष चिनी उद्योगले तोकेको ४ सय ४८ रुपैया प्रति क्वीन्टलभन्दा एक सय ४८ रुपैयाँ कम मूल्यमा किसानहरुले सख्खर उद्योगलाई धमाधम उखु बिक्री गरिरहेका छन् । उखु उत्पादक संघले प्रति क्वीन्टल छ सय २५ रुपैया माग गरेको र चिनी उत्पादक संघले चार सय ९३ रुपैया दिन खोज्दा चालू आर्थिक वर्षको उखुको मूल्यमा सहमति हुन सकेको छैन । उखु उत्पादक संघ र चिनी उत्पादक संघबीच उखुको मूल्यको विषयमा सहमति हुन नसक्दा सख्खर उत्पादकहरुले मनपर्दो न्युनतम मूल्य तोकेर किसानलाई ठगिरहेका छन्।

उखु किसानले तत्काल वा एक–दुई हप्तामा पैसा पाउने भएपछि सस्तोमा उखु बेचिरहेका छन् । कात्तिक र मंसिर महिनामा किसानले उखु बेचेर खेत खाली गर्न पाउंदा खेतमा नयां बाली लगाउन पाउंछन् । गत कात्तिकमा आफ्नो एक बिगाहाको उखु सख्खर उद्योगलाई बेचेर मसुरो बाली लगाइसकेको संग्रामपुर ८ का राजन ठाकुर बताउंछन् । तत्काल उखुको पैसा कम नै भए पनि हात परेको र खेती गर्न सजिलो भएको ठाकुरको भनाइ छ ।

सुन्दरपुरलगायत जिल्लाको विभिन्न भागमा करिब दुई दर्जन सख्खर उद्योगहरु संचालनमा रहेका छन् । चिनी मिलले किसानलाई पैसा दिन नै नचाहने र सख्खर उद्योगहरुले नगदमा उखु किन्ने भएकोले उखु किसानले दोहोरो फाइदा लिन सस्तोमा उखु बेचेका हुन् । उखु किसानले सस्तोमा उखु बेचिरहेको भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

सरकारले धानको न्युनतम मूल्य तोकेजस्तै उखुको न्युनतम मूल्य पनि तोक्नु पर्ने माग गरेका छन् । उखुको न्युनतम समर्थन मूल्य पाएमा किसानलाई सख्खर उद्योगहरुले ठग्ने अवस्था नै नआउने गरुडाका अगुवा उखु किसान राम कृष्ण चौधरीको भनाइ छ । सरकारले समयमै उखुको न्युनतम समर्थन मूल्य तोक्न नसके उखु किसान सधैं ठगिइरहने चौधरीको भनाइ छ ।

चिनी उद्योगकहां बांकी रहेको करिब ५८ करोड रुपैया भुक्तानीको पहल भइरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताएका छन् । रौतहटको गरुडास्थित श्री राम सुगर मिल्सले गत दुई आर्थिक वर्षको ५८ करोड रुपैयाँ तिर्न बाँकी रहेकोले केही किसान निराश भएर सख्खर उद्योगलाई उखु बेचिरहेको अध्यक्ष यादव बताउंछन् ।
 

प्रकाशित: ४ मंसिर २०७३ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App