काठमाडौं– अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणामले एक्कासी बढेको सुनको भाउ यो साता निरन्तर ओरालो लागेको छ । नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार ५५ हजार ६ सय रुपैयाँ तोलामा किनबेच भएको सुन शुक्रबार ५५ हजार रुपैयाँमा झरेकोे छ । त्यसैगरी चाँदीमा पनि प्रति तोला १० रुपैयाँ मूल्य घटेको छ । ७ सय ९५ रुपैयाँ तोलाबाट ७ सय ८५ रुपैयाँ तोलामा झरेको हो ।
गत कात्तिक २४ गते अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टिका डोनाल्ड ट्रम्प विजयी हुँदा सुनको भाउ एकै दिन तोलामा १ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो । सो दिन ५६ हजार ९ सय रुपैयाँबाट बढेर ५८ हजार २ सय रुपैयाँ पुगेको थियो ।
त्यसपछि घट्न थालेको सुन निरन्तर ओरालो लाग्दै ५५ हजारमा आइपुगेको छ । गत आइतबारबाट घट्न शुरु गरेको सुन बजार एक सातामै प्रतितोला १ हजार ४ सय रुपैयाँ घटेको छ । ट्रम विजयी भए पछि डलर बलियो हुँदै गएपछि अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेपछि त्यसको असर नेपाली बजारमा देखिएको हो । भारतमा ५ सय र हजार दरका भारु नोटको प्रतिबन्धले पनि त्यसको असर सुन बजारमा परेको छ ।
प्रकाशित: ३ मंसिर २०७३ १४:१९ शुक्रबार